बिमलेन्द्र मार्फत देउवालाई भारतसामु निरिह बनाइएको कांग्रेस नेताको खुलासा

824
Loading...

असोज–उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले सभापति शेरबहादुर देउवालाई निरिह बनाएर सिंगो नेपाली कांग्रेसलाई दुर्घटनातिर लैजान खोजेको भन्दै कांग्रेसमा असन्तुष्टि तिब्र भएको छ । भारतीय आदेशको हवाला दिएर निधिले देशका महत्वपूर्ण मुद्दामा देउवालाई चुप लाग्न वाध्य बनाएको र यसले कांग्रेसलाई ०५८ सालको जस्तो खतरनाक अवस्थामा पुर्याएको उनीहरुको धारणा छ ।
कांग्रेस नेतृत्वको सरकार हुँदा संविधान बने पनि संविधानको स्वामित्वबाट पार्टीलाई कटाएर निधिले संविधान विरोधी पक्षसामु पार्टीलाई झुकाउन खोजेको आरोप लगाएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलको अनामनगरस्थित सम्पर्क कार्यालयमा पौडेल सहितका नेताहरुको बैठकले भारतलाई प्रयोग गरेर निधिले पार्टी कब्जामा लिन खोजेको र देउवा निजी लालचका कारण निधिसामु चुप लागेर बस्ने गरेको पनि निश्कर्ष निकालेका छन् ।
प्रमुख प्रतिपक्षसँग र आफ्नो पार्टी भित्र पनि आन्तरिक छलफलै नगरी संविधान संशोधनका विषयलाई अघि बढाइएको र यसले संविधान सहित देशलाई धरापमा पार्ने उनीहरुले औंल्याएका छन् । संविधान संशोधनका विषयमा पार्टी भित्र छलफल नगरी अघि बढाइए संशोधनमा सहमत हुन नसकिनेसम्मका विषयमा भेलामा छलफल भएको एक नेताले वताए ।
०५८ सालमा प्रधानमन्त्री हुँदा शेरबहादुर देउवाले राजासँग लागेर संकटकाल अनुमोदन गरेको र अन्ततः त्यसैमा टेकेर राजाले प्रजातन्त्र खोजेको स्मरण गर्दै कांग्रेस नेताहरुले अहिले देउवाको ब्यवहारले देशको सार्वभौमिकता खोसिने सम्भावना रहेको औंल्याएका छन् । ‘संविधान संशोधनजस्तो विषयमा पार्टी सभापति किन चुप लागिरहनु भएको छ ? किन पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाउनु भएको छैन ? बिमलेन्द्र निधिले आफूलाई भारतीय समर्थन रहेको देखाएर पार्टी सभापतिलाई पनि निरिह बनाएका छन्’ भेलामा सहभागि कांग्रेस नेताले भने, ‘यस्तै अवस्था हुँदा ०५८ सालमा राजाले प्रजातन्त्र खोसे र शेरबहादुरजीलाई असक्षम भनी हटाए, अहिलेको भूमिकाले संविधानलाई संकटमा पारेर सार्वभौमसत्ता खोसिन सक्छ ।’
आइतबारको भेलामा पौडेल पक्षका नेताहरुले यस्तो निश्कर्ष निकाल्दै केन्द्रीय कार्यसमितिको बैठक तत्काल बोलाउन माग गरेका छन् । यसको भोलिपल्टै कांग्रेस नेतृ सुजाता कोइरालाले विराटनगर पुगेर ‘संविधान संशोधन प्रस्ताव आए आफू सहित कांग्रेसका धेरै सांसदले विपक्षमा मतदान गर्ने’ उद्घोष गरिन्  ।
कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल मात्रै होइन देउवा पक्षका नेताहरु पनि निधिको प्रभुत्व बढेको भन्दै असन्तुष्ट हुन पुगेका छन् । निधिले भारतलाई नै प्रयोग गरेर उपप्रधानमन्त्री र गृहमन्त्री हात लगाएको र अव पार्टी उपसभापति लिन सभापति देउवासामु भारतीय दवाव पुर्याइरहेको उनीहरुको विश्लेषण छ । नत्र पुष्पकमल दाहालपछि प्रधानमन्त्री बनाउन भारतीय समर्थन नरहने चेतावनी भारतीय पक्षबाट दिंदै संविधान संशोधनजस्ता मुद्दामा निधिले देउवालाई चुप लाग्न वाध्य पारेर पार्टीको भूमिका कमजोर बनाएको उनीहरुको विश्लेषण छ ।
‘पहिले बरु उपसभापति चाहिंदैन सरकारमा पार्टीको नेतृत्व म गर्छु भने, अहिले मलाई उपसभापति नबनाए भारतले तपाईंलाई प्रचण्डपछि प्रधानमन्त्री बनाउन सहयोग गर्दैन भनेर संविधान संशोधनको मुद्दामा शेरबहादुर दाइलाई चुप लाग्न वाध्य पारेका छन्’ भेलामा सहभागि केन्द्रीय सदस्यले भने, ‘राष्ट्रिय मुद्दामा न पार्टीको औपचारिक धारणा सार्वजनिक हुन्छ, न सभापतिजी बोल्नुहुन्छ । विमलेन्द्र निधिजी भारतले यसो भनेको छ उसो भनेको छ भनेर सभापतिलाई प्रयोग गरी कांग्रेस सिध्याउने अनौठो वातावरण बनाउँदै हुनुहुन्छ ।’
भारतको नाम लिएर निधिले देउवालाई थर्काउन थालेपछि राष्ट्रिय राजनीतिमा विवादास्पद कुरा आउँदा पनि सभापति देउवा कुनै प्रतिक्रिया नदिइ बसेको उनीहरुले वताए । देउवा केही नबोल्ने र पार्टीको बैठक समेत नबसी संविधान संशोधन प्रस्ताव सरकारले ल्याए कांग्रेस ठूलो संकटमा फस्ने उनीहरुको विश्लेषण छ ।

LEAVE A REPLY