म देश चलाउने खलासी : प्रधानमन्त्री दाहाल

505
Loading...

पुल्चोकस्थित साझा यातायातको प्राङ्गणमा कलाकार हरिवंश आचार्यले आइतबार आफ्नो दुई दशक पुरानो गीत ‘साझा बसमा जो पनि चढछ’ गाए । उपत्यकामा थपिएका साझाका ३० नयाँ बस संचालनको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई लक्षित गर्दै उनले साझालाई देशको बिम्ब बनाएर बोले । उनले भने, ‘जसरी बसको खलासीले सबैखाले यात्रीलाई मिलाएर यात्रा गराउँछ त्यसैगरि सबैलाई मिलाएर देश अघि बढाउन सक्ने खलासी हामीलाई चाहिएको छ ।’

आफ्नो उद्घाटन भाषणमा प्रधानमन्त्री दाहालले हरिवंशको प्रश्नको जवाफ दिए, ‘हरिवंशजीले भनेजस्तो खलासीको काम अहिले मैले गरिरहेको छु भन्ने मैले ठानेको छु, सबैलाई मिलाएर लैजान बल गरिररहेको छु ।’ उद्घाटन पछि प्रधानमन्त्री दाहाल आफ्ना दुई मन्त्री रमेश लेखक र हितराज पाण्डेलाई समेत राखेर साझा बसमै सिंहदरबार पुगेका थिए ।

कलाकार आचार्यले उद्घाटनमा नेताहरुमाथि व्यंग्य गर्ने मौकाको भरपुर उपयोग गरे । उनले भने, ‘साझा बसले पञ्चायत, बहुदल र गणतन्त्र सबै व्यवस्थालाई बोक्यो । साझा बसमा ढुंगा हानेर धेरैजना नेता भए, अब कसैले ढुंगा नहानोस् र यसले नयाँ कुनै व्यवस्था बोक्नुपर्ने अवस्था पनि नआओस् ।’ हालै जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी माइक्रोबसबाट लडेको प्रसंग निकाल्दै उनले भने, ‘नेताहरु माइक्रोबसबाट लडदा जनता खुशी हुँदा रहेछन्, पजेरोबाट लडा होइन ।’

उद्घाटनमा प्रधानमन्त्री दाहालले मुलुकमा सार्वजनिक यातायात सञ्चालन सरकारले नै गर्नुपर्ने बताए । ‘विकसित मुलुकमा यातायात राज्य आफैंले सञ्चालन गरेको पाइन्छ,’ उनले भने, ‘यसको प्रयास साझाले गरेको छ ।’ उनले एक सय वटा बस सञ्चालन गर्ने सरकारले निर्णय गरिसकेको बताए ।

‘लागु पर्ने तयारी भइरहेको छ,’ उनले भने, ‘अपांगमैत्री बस सञ्चालनका लागि सरकारका तर्फबाट सुधारका लागि कठोर प्रयास भइरहेका छन् ।’ प्रधानमन्त्री दाहालले उपत्यकाको ट्राफिक व्यवस्थापन र लाइसेन्स लिने प्रक्रिया सहज बनाउन प्रयास गरिएको पनि बताए ।

साझाले अपाङ्गमैत्री बस सञ्चालनमा ल्याएको छ । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले बससँगै फुटपाथ पनि अपांगमैत्री हुनुपर्ने बताए । उनले मोटरसाइकल, कार चढ्नेहरुलाई ठूला बस चढ्ने बनाउने लक्ष्य रहेको बताए । ‘यसले उपत्यकाको ट्राफिक जाम पनि घटाउनेछ,’ उनले भने । भारतबाट ल्याइएका नयाँ बस उपत्यकाका चार रुटमा संचालन गरिने साझा यातायातले जनाएको छ ।

यी बस ११ मिटर लामा र ४० सिट क्षमताका छन् । ३० वटा नयाँ बस थपिएपछि अब उपत्यकामा गुड्ने साझा बसको संख्या ३८ पुगेको छ । साझाका ८ वटा बस काठमाडौंबाट गोरखा, बाग्लुङ, भैरहवा र वीरगञ्जसम्म पुग्छन् ।

नयाँ बसको रुट

रुट नम्बर १ : लगनखेलबाट जाउलाखेल, कुपन्डोल, त्रिपुरेश्वर, नेपाल वायुसेवा निगम, जमल, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, बसुन्धरा,  सामाखुसी, नयाँबसपार्कसम्म चल्नेछ । पुन: सोही रुटबाट फर्किनेछ । यो रुटमा १० बस चल्नेछन् ।

रुट नम्बर २ : त्रिभुवन विमानस्थलबाट तिलगंगा, गौशाला, रातोपुल, डिल्लीबजार, बागबजार, पुरानो बसपार्क, सहिद गेट, न्युरोड गेट, लैनचौर, ठमेल, नयाँबजार, वनस्थली, बालाजुचोक, नयाँबसपार्कसम्म चल्नेछ । यो रुटमा पनि १० बस चल्नेछन्  ।

रुट नम्बर ३ : कोटेश्वरबाट तीनकुने, मीनभवन, नयाँ बानेश्वर, माइतीघर, सहिद गेट, त्रिपुरेश्वर, टेकु, कलंकी, सीतापाइला, स्वयम्भूसम्म चल्ने रुटमा पनि १० बस सञ्चालन हुनेछन् ।

रुट नम्बर ४ : ग्वार्को, बीएन्डबी अस्पताल, सातदोबाटो, पाटन औद्योगिक क्षेत्र, लगनखेल, जाउलाखेल, कुपन्डोल, त्रिपुरेश्वर, नेपाल वायुसेवा निगम, जमल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, शिक्षण अस्पताल, नारायणगोपालचोक, गंगालाल अस्पताल, न्युरो अस्पताल, गल्फुटार, हात्तीगौंडा, बूढानीलकण्ठसम्म चल्ने रुटमा ८ बस सञ्चालन हुनेछन् ।

 

LEAVE A REPLY