यस्ता छन् लामखुट्टे भगाउने घरेलु उपाय

800

lamkute

गर्मी बढेसँगै लामखुट्टेको प्रकोप पनि बढेको छ। लामखुट्टेको टोकाईले निरन्तर चिलाउने सामान्य समस्या मात्र नभएर मलेरिया, इन्सेफलाइटिस र डेंगु जस्ता महामारी रोगहरु फैलाउँछ। रातमा लामखुट्टेको देख्ने क्षमतामा अत्याधिक वृद्धि हुन्छ। उपत्यकामा बढ्दो गर्मी, फोहोरका कारण पछिल्लो समय लामखुट्टेको प्रकोप पनि धेरै बढेको छ। लामखुट्टेको टोकाइबाट सकेसम्म बच्नुपर्ने चिकित्सकहरु बताउँछन्।

पाल्पा मेडिकल कलेजमा कार्यरत डाक्टर सुवास नेपालका अनुसार लामखुट्टेको टोकाइबाट बच्ने सबैभन्दा राम्रो उपाय झुल लगाउनु नै हो। ‘सुत्ने बेला सकेसम्म झुल नै लगाउने, लामखुट्टे भएको ठाउँमा बस्दा हलुका रंगका पूरा बाहुला भएका कपडाहरु लगाउने। साँझमा झ्याल ढोका लगाउने गरेमा बच्न सकिन्छ,’ डाक्टर नेपाल भन्छन्, ‘यो सबै गर्दा पनि नभए मात्र औषधी प्रयोग गर्नुपर्छ।’

बजारमा लामखुट्टे भगाउने धेरै किसिमका रासायनिक औषधि पाइन्छन्। तीमध्ये धुप तथा लिक्विड प्रचलित छन्। यस्तै शरीरमा लगाउने क्रिम र लामखुट्टे मार्ने विद्युतीय ब्याट पनि आजभोलि बढी प्रयोगमा छन्।

धुपः
मोर्टिन, गुडनाइट, अलआउट लगायत ब्राण्डका धुपहरु ८ घण्टासम्म बल्ने कम्पनीले दाबी गरेका हुन्छन्। यिनीहरुको प्रकार हेरी ३५ देखि ४० रुपैयाँसम्म पर्छ।

c

लिक्वीडः
मोर्टिन, गुडनाइट, अलआउट, म्याक्सो लगायतका ब्राण्डका लिक्वीडहरु ८ घण्टाका दरले ४५, ६० र ९० रातसम्म चल्ने पाइन्छन्। यिनीहरुको मूल्य ९० देखि १६० रुपैयाँसम्म पर्छ।

गत वर्षको तुलनामा धुप तथा लीक्वीडको मूल्य बढेको छ। ‘पोहोरको तुलनामा धुपमा ५ रुपैयाँ र लिक्वीडमा २० रुपैयाँसम्म बढेको छ, एक सय पर्ने लीक्वीड अहिले १ सय १५ पुगेको छ’ किर्तीपुरकी व्यापारी सुमन क्षेत्रीले बताए।

धेरै जसो यस्ता लिक्वीड नक्कली पर्ने हुनाले यसले प्रभावकारीरुपमा काम नगरेको पनि उपभोक्ताको गुनासो छ।

म्याटः गुडनाइट तथा मोर्टिन म्याट भने ८० रुपैयाँमै बजारमा उपलब्ध छ।

विद्युतीय ब्याट

b

झ्याल ढोका लगाइसकेपछि भित्र भएका लामखुट्टे मार्न विद्युतीय ब्याट निकै उपयोगी मानिन्छ। बजारमा सस्ता चिनियाँ ब्याटदेखि डीआरएन कम्पनीले समेत यस्ता ब्याट ल्याइसकेको छ। रिचार्ज गर्न मिल्ने यो ब्याट सस्तोमा १ सय ५० रुपैयाँदेखि महँगोमा ६ सय रुपैयाँसम्म पर्ने कुपन्डोलका व्यापारी रामहरी महर्जन बताउँछन्।

‘कम्पनी हेरेर मूल्य फरक पर्छ। सस्ता बिना नामका चिनियाँ ब्याटहरु डेढ दुई सयमा आउँछन्, तर ब्राण्ड नेम भएका भने अलि महँगा पर्छन्। यस्ता अलि टिकाउ पनि हुन्छन्,’ महर्जनले भने।
लामखुट्टे विश्वव्यापी समस्या भइसके पनि यसबाट मुक्ति पाउन भने मुस्किल नै भएको छ। तर केही यस्ता सामान्य उपाय अपनाएर पनि लामखुट्टे भगाउन र असर कम गर्न सकिन्छ।

–पानी जम्ने ठाउँ नराख्नेः लामखुट्टे पानी जम्ने ठाउँमा बढी मात्रामा फैलिन्छ। लामखुट्टेले अण्डा पार्ने र बच्चा हुर्काउने भएकाले यस्ता ठाउँ राख्नुहुँदैन। खाल्डाखुल्डी, फालिएका भाँडाकुँडा वा पानी जम्नसक्ने अन्य कुनै पनि ठाउँ पुर्ने वा व्यवस्थापन गर्ने। लामखुट्टे कम गर्न यसको प्रजनन् हुने स्थानमै नस्ट गर्नु उत्तम उपाय हो।

–कीटनाशक औषधी छर्नेः लामखुट्टे अति नै बढेको भए कीटनाशक झ्याल ढोका थुनेर कीटनाशक औषधी छर्न सकिन्छ। तर औषधी छर्दा नाक मुख थुन्नुपर्छ र उक्त स्थानमा कम्तीमा ४८ घण्टासम्म बस्न हुँदैन।

लामखुट्टे भगाउने बिरुवा रोप्नेः

photo no 3

बागबानी विज्ञ मदन थापाका अनुसार ल्याभेन्डर, नीम, रोजमेरी, तुलसी, पुदिना, लेमन ग्रास, सयपत्री, ब्रम्हबुटी जस्ता बिरुवाले प्राकृतिकरुपमै लामखुट्टे कम गर्न मद्दत पुर्याउँछ।

‘आफ्नो घर, आँगन वा गमलामै भएपनि बढी मात्रामा लामखुट्टे आउने ठाउँमा यी बिरूवा रोप्नु उपयुक्त हुन्छ,’ थापाले भने, ‘यी बिरुवाको बासना र यीनमा भएको तत्वले लामखुट्टे भगाउन मद्दत गर्छ।’

– त्यस्तै लामखुट्टे फोहोरमा बढी फैलने हुँदा सकेसम्म आफ्नो घरआँगन सफा राख्ने। त्यस्तै कुनाकाप्चा तथा र अँध्यारो ठाउँमा लामखुट्टे बस्ने हुनाले यस्तो ठाउँ सफा र खुला राख्नुपर्छ।
यो बाहेक शरीरमा भटमास, लेमन ग्रास, ल्याभेण्डर, नीम आदिको तेल लगाउनाले पनि लामखुट्टेको टोकाईबाट बच्न सहयोग पुर्याउँछ।

LEAVE A REPLY