युनिटीका अध्यक्ष गुरुङ अब कसरी थाल्दैछन् व्यवसाय ?

419

timthumb (3)

‘राज्यले मेरो कम्पनी खारेज गरेको छैन, त्यस्तै मलाई आधिकारिक रुपमा व्यवसाय नगर भनेर पनि पत्र पठाएको छैन’ उनले भने ‘अदालतको दण्ड सजाय भोगिसकेँ अब मैले किन ब्यवसाय नथाल्ने?’

साढे दुई लाख सर्वसाधारणको ३ अर्ब ५० करोड रुपैयाँ तिर्न बाँकि रहेका युनिटी लाइफ इन्टरनेसनलका अध्यक्ष काशीराम गुरुङले पुनः नयाँ व्यवसाय सञ्चालन गर्ने भएका छन्।

ललितपुर जिल्ला अदालतले २०७० फागुन १७ गते नेटवर्किङ व्यवसाय गरी सर्वसाधारणलाई ठगेको भन्दै उनलाई ३ वर्ष कैद र जरिवानाबापत ३ करोड ३० लाख रुपैयाँ तिर्नुपर्ने फैसला सुनाएको थियो। गुरुङले ३ वर्ष कैदी जीवन बिताइसकेका छन्।

जरिवानाबापत ३ करोड ३० लाख रुपैयाँ तिर्नुपर्नेमा उनले अहिले जरीवाना बापतको रकममा १५ प्रतिशतले बृद्धि गर्दै ३ करोड ५० लाख रुपैयाँ बराबरको धरौटी राखी जेलबाहिर आएका छन्।

जेल बाहिर आएसँगै उनले आफ्नो व्यवसाय सुचारु गर्न खोेजेका छन्। जनताको पैसा ३ अर्ब ५० करोड रुपैयाँ तिर्न बाँकि रहँदा रहँदै उनले व्यवसाय थाल्न लागेका छन्।
‘राज्यले मेरो कम्पनी खारेज गरेको छैन, त्यस्तै मलाई आधिकारिक रुपमा व्यवसाय नगर भनेर पनि पत्र पठाएको छैन’ उनले भने ‘अदालतको दण्ड सजाय भोगिसकेँ अब मैले किन ब्यवसाय नथाल्ने ?’

उनी आइतबार कम्पनी रजिष्टारको कार्यालयमा आफ्नो कम्पनी दर्ता प्रमाणपत्र खोज्न गए। तर कम्पनी रजिष्टारका कर्मचारीहरुले फाइल महान्याधिबक्ताको कार्यालयमा गएको भन्दै उनलाई फर्काइदिएका छन्।

उनले भने ‘हामी जेल परेपछि हाम्रो कार्यालयमा प्रहरी प्रशासनले ताला लगाएर सम्पूर्ण कागजात गोदाबरीमा लगेर जलाइदिएको थियो, त्यसैले हामी अहिले कम्पनी दर्ताको प्रमाणपत्र खोजिरहेका छौँ। ’

उनले आफ्ना सदस्यहरुलाई ३ अर्ब ५० करोड रुपैयाँ तिर्न बाँकि छ। उनीसँगै ३० जना युनिटीका सञ्चालक तथा सदस्यहरु जेल परेका थिए। साथै १ सय १० जना संचालक सदस्यको बैंक खाता तथा जग्गा रोक्का रहेको अध्यक्ष गुरुङ बताउँछन्।

१ सय १० जनाको रोक्का रहेको जग्गा जमिन बेचेर जनताको पैसा फिर्ता गर्ने भनिए पनि राज्यले यसमा कुनै कदम अघि बढाएको छैन। यी जग्गा बेचबिखन तथा बैंक खाताबाट रकम निकाली सदस्यलाई पैसा फिर्ता गर्ने ललितपुर जिल्ला अदालतले पैmसला सुनाएको थियो।

उनीसँगै जेलमा परेका अधिकांश सञ्चालक भने जरीवानाबापतको रकम फछर्याैट गर्न थप ४ वर्ष जेल जीवन बिताउँदै छन्। अदालतमा युनिटीका सञ्चालक बिरुद्ध १२ करोड बराबरको मात्रै दाबी परेको छ। अदालतले ठगी गरेको प्रमाण पाएपछि उनीहरुको सम्पुर्ण जग्गा जमीन र बैंक खाता रोक्का राखेको छ।

‘सम्पत्ति र बैंक खाता रोक्का रहेको छ, मैले कैद पनि भुक्तान गरँे जरिवाना पनि तिरँे अब मैले जनताको ३ अर्ब ५० करोड तिर्दिनँ भन्दा पनि पाउँछु’ उनले भने ‘तर म त्यो भन्दिनँ कानुनले निर्देशन नदिएको भएपनि जनताको पैसा तिर्नु मेरो दायीत्व हो।’

जेठ १२ गते तीन वर्षको कैद सजाय भुक्तान गरी जेलमुक्त भएका युनिटी लाइफ इन्टरनेशनलका अध्यक्ष गुरुङले सोमबार एक पत्रकार सम्मेलन गर्दै आफुहरुले पुनः व्यवसाय सञ्चालन गर्न लागेको बताएका थिए।

उनले सञ्चालन गरेको डिपार्टमेन्ट स्टोर तथा अस्पतालहरु अहिले बन्द अवस्थामा रहेका छन्। तर उनी भने अब नयाँ खालको व्यवसाय गर्ने सुरमा छन्। उनले कृषि तथा पुननिर्माण सम्बन्धी व्यवसाय गर्ने बताएका छन्। अब केही रकम जोरजाम गरी व्यवसाय गर्ने योजना रहेको गुरुङले जानकारी दिए।

अब नेटवर्किङ व्यवसाय भने नगर्ने उनले स्पष्ट पारे। नेटवर्किङ व्यवसाय गनरी कैयन जनताको पैसा ठगेको भन्दै ललितपुर जिल्ला अदालतले उनीसहित ३० जनालाई जेल सजाय सुनाएको थियो।

राज्यले आफ्नो रोक्का राखेको जग्गा फुकुवा वा बेचबिखन गरी जनतालाई पैसा दिनुपर्ने उनको भनाई छ। ‘हाम्रा सबै सदस्यको रकम फिर्ता गर्न म बाहिर आएको हुँ’ गुरुङले भने ‘राज्यले रोक्का राखेको हाम्रो सम्पत्ति फुकुवा तथा बिक्री गरेर एक सरकारी संयन्त्रमार्फत सबै जनताको रकम फिर्ता गरियोस्।’

उनका अनुसार युनिटी लाइफ इन्टरनेशनलको रोक्का रहेको सम्पत्ति बेचबिखन गर्दा झन्डै ३ अर्ब ५० करोड रुपैयाँ रकम प्राप्त हुन्छ। उनले तिर्न बाँकि रकम पनि ३ अर्ब ५० करोड रुपैयाँ नै छ। जसका कारण नयाँ व्यवसाय गर्नको लागि भने थप रकम जुटाएर गर्ने उनको सोच रहेको छ।

युनिटीका साढे ती लाख सदस्य छन् भने साढे दुई लाख सदस्यलाई कम्पनीले रकम फिर्ता गर्न बाँकी छ। १ लाख सदस्य निशुल्क आफ्ना सदस्य बनेका कारण उनीहरुलाई रकम तिर्नु नपर्ने उनको भनाई छ।

LEAVE A REPLY