रियो ओलम्पिक:”फर्केर हेर्दा यस्तो देखियो”

1033

bm

अनेकौँ आशा र विवादबीच सुरु भएको रियो ओलम्पिक समापन भएको छ। आयोजक राष्ट्र ब्राजिलकी राष्ट्रपति डिल्मा रुसेफ आफैँ यसबेला भ्रष्टाचारको आरोपमा निलम्बित छिन् र उनीमाथिको महाअभियोगमा सुनुवाई हुदैँछ। ब्राजिलभित्रैको राजनीतिक र सामाजिक मुद्धाका साथसाथै जिका भाइरस र ओलम्पिकबाट रुसको डोपिङ प्रकरण र खेलाडीहरुको सुरक्षा तथा स्वास्थ्यजस्ता विषयले समेत रियो ओलम्पिकलाई प्रभावित बनायो। यद्यपि विश्लेषकहरुको भनाइ मान्ने हो भने खेलको दृष्टिले रियो ओलम्पिक सफल भएको छ।

यस पटकको ओलम्पिकमा २०७ देशका ११ हजार खेलाडीले भाग लिएका थिए। जसमध्ये दक्षिण सुडान र कोसोभोले पहिलोपल्ट ओलम्पिकमा आफ्नो उपस्थिति जनाएका थिए। २८ प्रकारका खेलमध्ये सात खेलाडीको रग्बी र गल्फलाई पहिलो पटक ओलम्पिकमा सहभागी गराइएको थियो। जम्मा ३०६ सेट पदक वितरण गरियो।

पदकमा अमेरिकी वर्चस्व

यसपटकको पदक तालिकामा पनि अघिल्लो ओलम्पिकमा झैँ अमेरिकाले आफ्नो वर्चस्व कायम राख्न सफल भएको छ। अमेरिकाले ४६ स्वर्णसहित १२१, बेलायतले २७ स्वर्णसहित ६७, चीन २६ स्वर्णसहित ७० र रुस १९ स्वर्णसहित ५६ पदक जित्न सफल भए। ५४ देशले स्वर्ण जित्दा ७८ देशले कुनै न कुनै पदक जिते।

अमेरिकी वर्चस्व कायम राख्न माइकल फेल्प्स, केटी लेडेके, सिमोन बाइल्सजस्ता बहुपदक बिजेता खेलाडीहरुको प्रमुख योगदान रह्यो। फेल्प्सले यस पटक ५ स्वर्ण र एक रजतसहित ६, लेडेकेले ४ स्वर्ण र एक रजतसहित ५ तथा बाइल्सले ४ स्वर्ण र एक कास्यसहित ५ पदक अमेरिकाका लागि जिते।

२००८ को बेइजिङ ओलम्पिकमा आयोजक राष्ट्र चीन ५१ स्वर्णसहित प्रथम, अमेरिका ३६ स्वर्णसहित दोस्रो, २२ स्वर्णसहित रुस तेस्रो र १९ स्वर्णसहित बेलायत चौथो स्थानमा थिए। २०१२ को लण्डन ओलम्पिकमा ४६ स्वर्णसहित अमेरिका प्रथम, ३८ स्वर्णसहित चीन दोस्रो, २९ स्वर्णसहित बेलायत तेस्रो र २२ स्वर्णसहित रुस चौथो स्थानमा रहेका थिए। आफूले आयोजना गरेको ओलम्पिकमा सुधारिएको प्रदर्शन गरेपनि बेलायतले ठूलो सफलता हात पार्न सकेको थिएन। तर यसपटकको ओलम्पिकमा बेलायतको स्तर उकासिएको छ। त्यसैगरी चीनको प्रदर्शन खस्किएको छ भने रुस कैयौँ खेलाडी प्रतिबन्धमा परे पनि १९ स्वर्ण जित्न सफल भएको छ।

फेल्प्स र बोल्टः पर्फेक्ट एथ्लेट्स

२३ स्वर्णसहित २८ पदक जितेका अमेरिकी पौडीबाज फेल्प्सको नाममा ३९ ओटा विश्व रेकर्ड कायम छन्। चार ओटा ओलम्पिकमा भाग लिइसकेका ३१ वर्षीय फेल्प्स ओलम्पिक इतिहासकै सबैभन्दा सफल खेलाडी हुन्। उनले बेइजिङ ओलम्पिकमा ८ स्वर्ण जितेर एकै ओलम्पिकमा सबैभन्दा बढी पदक जित्ने रेकर्ड पनि कायम गरेका थिए।

उता जमैकन धावक उसेन बोल्टले यस पटक तीन ओटा स्वर्ण जित्दा लगातार तीन ओलम्पिकमा तीनतीन स्वर्ण जित्दै ह्याट्रिकको ह्याट्रिक गरे। १०० मिटर, २०० मिटर र ४०० मिटर रिलेमा उनले लगातार स्वर्ण जितेका हुन्। त्यस्तै फाइनलमा भाग लिएजति सबै प्रतियोगिता जित्ने रेकर्ड पनि उनकै नाममा रहेको छ।

LEAVE A REPLY