वर्षा प्रकृतिमा मात्र निर्भर रहेन अब, कृत्रिम वर्षा यसरी गराइन्छ

508

काठमाडौं । आकाशमा विभिन्न थरीका बादल देखिन्छन् । बादलबाट वर्षा हुन्छ । बादल बन्नमा पनि पानीकै प्रमुख भूमिका हुन्छ । नदी, तलाउ, या समुद्रको पानी बाफ बनेर हावामा मिल्छ । बाफ हावासँगै आकाशमा पुग्छ । उचाइ बढ्दै जाँदा हावाको सतह चिसो हुन्छ । बाफमा धुलो र लवण पनि मिसिन्छन् । अनि बाफ, धुलो र लवणका लाखौं बुँदहरु मिसिएर बादल बन्छ ।

बादललाई प्राचीनकालदेखि नै मौसमको भविष्यबाणी गर्ने आधार पनि मानिन्छ । रहने ठाउँ र कामका आधारमा माथिल्लो, मध्यवर्ती र तल्लो गरी बादललाई तीन समूहमा वर्गीकरण गरिन्छ । पृथ्वीबाट दुई किलोमिटरसम्मको उचाइमा रहेकोलाई तल्लो बादल भनिन्छ । दुईदेखि सात किलोमिटर उचाइसम्मको बादल मध्यवर्ती र सो भन्दा माथि १३ किलोमिटरसम्म उचाइमा भएकोलाई माथिल्लो बादल भन्ने गरिन्छ ।

माथिल्लो भन्दा मध्यवर्ती र तल्लो बादल वर्षा गराउन बढी प्रभावकारी हुन्छन् । त्यसैले यसलाई मनसुनी बादल पनि भन्ने गरिन्छ । ग्रीष्म र वर्षा ऋृतुभरि यस्ता बादल प्रशस्त मात्रामा आकाशमा देखिन्छन् । आजकल वैज्ञानिकहरुले नक्कली बादल बनाउने र वर्षा गराउने काममा पनि सफलता प्राप्त गरिसकेका छन् । कृत्रिम वर्षाका लागि पनि बादलकै भूमिका रहन्छ । बादलविना पानी पार्ने काम गरे पनि यो विधि महँगो छ । कृत्रिम वर्षाका लागि दुई विधि छन् ।

(क) अत्यन्त चिसो पानीका थोपाहरु बाक्लो बादल भएको क्षेत्रमा छोडेर पानीका थोपालाई बरफमा बदल्नु र बादललाई पानी पार्न आवश्यक तापमानसम्म घटाएर पानी पार्न सक्नु पहिलो विधि हो ।

(ख) सिल्भर आयोडाइड तथा मिथायल डिहाइड जस्ता रासायनिक पदार्थको उपयोगबाट पनि पानी पार्न सकिन्छ । यस्ता यौगिकलाई विमानद्वारा बादलभन्दा माथि लगिन्छ र छर्ने काम गरिन्छ ।

यी यौगिकका कारण बादलको तापमान पानी पार्ने अवस्थासम्म पुग्दछ र कृत्रिम वर्षा हुन्छ । जब बादलको तापक्रम प्राकृतिक रुपमा १४ डिग्री फरेनहाइट वा १० डिग्री सेन्टिगे्रडसम्म घट्छ अनि पानीका मणिभ बन्छन् । मणिभ बनेका कारण वर्षा हुनुको सट्टा असिना पर्दछ । त्यसैले अत्यन्त चिसा पानीका थोपाहरु वा सिल्भर आयोडाइड तथा मिथायल डिहाइड जस्ता रासायनिक पदार्थ बादलभन्दा माथि छर्नुअगाडि यस कुरामा ध्यान दिनैपर्छ कि बादलको तापमान पानी पार्न चाहिनेभन्दा कम नहोस् ।

कृत्रिम वर्षाका कारण लागि अत्यन्त बाक्लो बादल जरुरी हुन्छ । यस खालको वर्षा विमानस्थलमाथिबाट बादल हटाउन प्रयोग गरिन्छ । यी दुबै विधि पूरा गर्न निकै सावधानी अपनाउनु जरुरी छ । कहिलेकाहीँ बादलमाथि रसायन वा अत्यन्त चिसा पानीका कणहरु छिटिंदा वायुमण्डलको गति र चापमा एक्कासी भिन्नता आउँछ । फलस्वरुप पानी पार्न खोजेका ठाउँमा असिना पारिदिन्छ र अन्यत्रै कतै वर्षा भईदिन्छ । (एजेन्सीहरुको सहयोगमा)

 

LEAVE A REPLY