विदेशी राष्ट्रप्रमुख आउँदा सडकमा स्वागत कि ‘कर्फ्यु’?

895
Loading...

-समाचार टिप्पणी/ १८ वर्षपछि छिमेकीराष्ट्र भारतका राष्ट्रपति नेपाल भ्रमणमा आउँदा बुधवार काठमाडौका सडकमा एकप्रकारको निषेधाज्ञा (कर्फ्यु)को जस्तो सन्नाटा छाएको देखियो । छिमेकी देशका विशिष्ट पाहुँना आउँदा उहाँहरूको भरपर्दो सुरक्षा गर्नु जुनसुकै सरकारको पनि दायित्व हो । तर बुधवार काठमाडौका सडकमा छाएको सन्नाटा सुरक्षाको चिन्ताले भन्दा जनसाधारणको विरोधको प्रतिवादमा गरेजस्तो देखियो । दुई देशबीच सम्बन्ध विस्तारका लागि कुनैपनि देशका राष्ट्रप्रमुखले अर्को देशको भ्रमण गर्दा सडकमा फूल–माला र झण्डा हातमा लिएर जतिसक्यो ठूलो संख्यामा सर्वसाधारण उपस्थित हुनुपर्ने हो । सडकको दायाँ वायाँ झण्डा र स्वागतद्वारा राखिएपनि हातमा झण्डा लिएर बसेका सर्वसाधारणको दृश्य दुर्लभ बन्न पुग्यो । त्यस विपरीत भारतीय राष्ट्रपति मुखर्जी नेपाल आउँदा बुधवार काठमाडौका कतिपय सडकमा शहरबासीले अघोषित कर्फ्यु लगाएको महसुस गरे । वामपन्थी विश्लेषक खगेन्द्र संग्रौलाको शब्दमा काठमाडौवासीले गृह नजरबन्दको सामना गरे । सडकमा पैदल यात्रीलाई समेत हिंडन निषेध गरियो । सामाजिक सञ्जालहरुमा भइरहेको तीव्र विरोध सडकमा समेत पोखिएला भन्ने त्रासले सरकारले विशिष्ठ पाहुनाको सवारी चलाइने सडकमा पैदल यात्रीलाई समेत हिंडन बन्देज लगाएको थियो । सडकमा सर्वसाधारणलाई निषेध गरेर भएको भ्रमणले जनस्तरको सम्बन्धलाई मजबुत बनाउँछ कि बनाउदैन समीक्षाको विषय बनेको छ । भारतका सरकार प्रमुख (प्रधानमन्त्री नरेन्द्र मोदी) आउँदा पनि व्यापक सुरक्षा व्यवस्था मिलाइएको थियो, किन्तु सडकमा पैदल यात्रीलाई यसरी निषेध गरिएको थिएन । बरु मोदीले संसद् भवनमा संम्बोधन गर्न जाने क्रममा नयाँ वानेश्वरमा सडकमा उभिएका सर्वसाधारणसंग मोटर रोकेर भलाकुसारी गरेका थिए । सुरक्षा चुनौती मोदीको लागि पनि कम थिएन, तर उनले सडकका सर्बसाधारणसंग हात मिलाएको प्रसंङ्ग ताजै छ । मोदी किन सडकमा ओर्ले  ? मुखर्जी आउँदा किन त्यही सडकमा निषेधाज्ञा लगाएको जस्तो महसुस गरियो ? यो प्रस्ट छ, नेपाल भारत सम्बन्धको चिसोपना । नेपालका प्रधामनन्त्रीहरुले भारतमा गएर दुइदेशबीचको सम्बन्ध पुरानै अवस्थामा आयो, सुध्रियो भनेर जतिसुकै दाबी गरेपनि नतिजा त्यसको विपरीत देखियो । यदि नेपालका प्रधामनन्त्रीहरुले दाबी गरेजस्तो नेपाल भारत सम्बन्ध सुध्रिएको भए सामाजिक सञ्जाल ट्वीटरमा भारतीय राष्ट्रपतिको विरोध एक नम्बर ‘ट्रेन्डिङ’ हुने थिएन । हुनत परराष्ट्रमन्त्री प्रकाश शरण महतले रासससंगको अन्र्तवार्तामा सामाजिक सञ्जालमा भारतीय राष्ट्रपतिको भ्रमणवारेका नकारात्मक टिप्पणी हुनु गलत भयो भनेर टिप्पणी गरेका छन् । तरपनि सर्वसाधारणको आक्रोश थामिएको छैन । खासगरी भारतीय राष्ट्रपतिको नेपाल भ्रमणको दिन सरकारले दिएको सार्वजनिक बिदालाई ‘लम्पसारवाद’को संज्ञा दिँदै सामाजिक सञ्जालमा चर्को विरोध भएको देखिन्छ । त्यसमाथि भारतले गतबर्ष नेपालमाथि लगाएको अमानवीय नाकाबन्दीको गहिरो पीडालाई सर्वसाधारणले बिर्सन सकेका छैनन् । विदेशी पाहुनाको नेपाल भ्रमणको क्रममा सडकमा सर्वसाधारणलाई निषेध गरेर सरकारले मुलुकको शान्ति सुरक्षाप्रति आफै अविश्वास प्रकट गरेको कतिपय विश्लेषकहरुले टिप्पणी गरेका छन् । सर्वसाधारण जनताले त्यो परपीडक नाकाबन्दी लगाउनु पर्नाको चित्तबुझ्दो जवाफ अझै फेला पारेका छैनन् । कम्तीमा अहिलेको पुस्ताले नाकाबन्दीका पीडादायक दिन जीवन भर भुल्ने छैनन् । कुटनीतिकका जानकारहरु पारस्परिकता (रेसिप्रोसिटी)को चर्चा गरेर थाक्दैनन् । अर्थात् भारतका राष्ट्रप्रमुख नेपाल आउँदा सार्वजनिक बिदा दिने, स्वागतका लागि राष्ट्रपति नै विमानस्थल पुग्ने र सडक आवागमन एउटा लस्करको लागि मात्र खुला राख्ने चाँजो मिलाए जस्तै नेपालका राष्ट्रपति भारत जाँदा त्यस्तै सम्मान र सुविधा उपयोग गर्न पाउनु पर्ने हुन्छ । निकट भविष्यमा हुने भनिएको नेपालका राष्ट्रपतिको भ्रमणको वेला उतावाट के त्यसो व्यवस्था होला त ? राष्ट्रपति मुखर्जीको भ्रमण दुइदेशबीचको सम्बन्ध सुधारमा ‘कोशेढुङ्गो साबित’ भयो भनेर सरकारी वक्तव्य र भाषण आउने नै छन् । तर ‘रोटी–बेटी’को सम्बन्ध रहेको छिमेकी देशका राष्ट्रप्रमुख नेपाल आउँदा सडकमा सन्नाटा र सामाजिक सञ्जालमा विरोधीको बाहुल्य नरहने दिन आयो भने मात्र सर्वसाधारणले जनताले दुइदेशबीचको सम्बन्धमा सुधार आएको मान्ने छन्

LEAVE A REPLY