व्यापार घाटा कम गर्न भारतसमक्ष प्रस्ताव

491
Loading...

212

नयाँ दिल्लीमा जारी अन्तर-सरकारी समितिको बैठकमा भारतसँगको बढ्दो व्यापार घाटालाई कम गर्न भारतीय पक्षसमक्ष प्रस्ताव गरेको नेपाली अधिकारीहरुले बताएका छन्।
अधिकारीहरुका अनुसार भारतीय पक्षले चाहिँ नेपालमा भारतीय लगानी र लगानीकर्ताको सुरक्षाबारे चासो राखेको छ।
प्रत्येक ६ महिनामा बस्ने प्रावधान रहेपनि झण्डै तीन वर्षको अन्तरालपछि बसेको सचिवस्तरीय उक्त बैठकमा मुख्यतः नेपालले बेहोर्दै आएको व्यापार घाटा न्यून गर्ने र निर्यात बढाउने विषयमा छलफल भएको सहभागी अधिकारीहरुले बताएका छन्।
बैठकमा सहभागी नेपाली दूतावासका काउन्सलर हरि ओडारीले भने, “भन्सार विन्दुहरुलाई कसरी सजिलो बनाउने, ट्रान्जिट ट्राफिकको गतिविधिलाई कसरी थप सहजीकरण गर्ने, व्यापार घाटा बेहोरिरहेको परिस्थितिमा निर्यात बढाउने तरिकाहरु के के हुन सक्छन्, विशाखापटनम बन्दरगाह प्रयोग गर्नका लागि थप गर्नुपर्ने कामहरु के के हुन्? यी विषयहरु मुख्य रुपमा उठे।”

लगानी

१४ सदस्यीय नेपाली टोलीको नेतृत्व वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले गरेका छन् भने भारतबाट वाणिज्य सचिव रिता टोटियाको टोली छलफलमा सहभागी छ।
उनीहरुले नेपालमा भारतीय व्यापारीको लगानी र सुरक्षामा बढी चासो दिएको काउन्सलर ओदारीले बताए।
उनले भने, “भारतले चाहिँ लगानीकर्ताको सुरक्षा, लगानीको सुरक्षा, लगानीको वातावरण, बौद्धिक सम्पति र श्रम कानुन लगायतको विषय उठायो।”
पछिल्लो समय नेपालको भारतसँगको व्यापार घाटा निकै बढेको तथ्यांक छ।
नवीकरण

भारतबाट वार्षिक ५०० अर्बको आयात हुने भएपनि नेपालबाट निर्यात ५० अर्बको हाराहारीमा मात्र रहेको ओडारीले बताए।
नेपाल-भारतबीचको व्यापार सन्धि नवीकरण हुनु पाँच महिनाअघि भएको यो बैठकलाई महत्वका साथ हेरिएको छ।
आगामी अक्टोबरमा नेपाल-भारत व्यापार सन्धिको नवीकरण हुँदैछ।
अन्तर-सरकारी समितिको बैठक बुधबार सकिंदैछ।

LEAVE A REPLY