शिविरमै पानी पसेपछि भूकम्पपीडितको विचल्ली

233

sibir

भक्तपुर । भक्तपुरको व्यासीस्थित भूकम्पपीडितको शिविरमा बस्दै आएका अम्मर नापितको परिवारलाई पानी पर्ने बित्तिकै ओछ्यान सम्हाल्नै मुस्किल पर्छ ।
भूकम्पले घर भत्काएपछि विगत १४ महिनादेखि यहाँको शिविरको त्रिपालमा आश्रय लिँदै आएको नापितको पाँच जना परिवारलाई मात्रै नभई यो शिविरमा बस्ने ५५ परिवारको चिन्ता एउटै छ ।
जाडो, घाम, गर्मी छिचोल्दै आएका यहाँका बासिन्दालाई गत वर्षको वर्षा काट्नभन्दा यस वर्षको वर्षा काट्न निकै सकस परेको छ । गत वर्ष नयाँ त्रिपालले वर्षा धाने पनि यस वर्ष भने पुरानो र मक्किएको त्रिपालले पानी थेग्न नसकेपछि उनी विचल्लीमा परेका छन् ।

सँगैको कल्पना नापितको गुनासो पनि उस्तै छ । उहाँ भन्नुहुन्छ– “आकासबाट पानी पर्न थालेपछि त्रिपालभित्र भान्छा र ओछ्यान जोगाउनै गाह्रो हुन्छ, कहिलेकाहीँ त माथिबाट आउने वर्षाको भेल समेत त्रिपालभित्र पसेपछि बस्ने ठाउँ समेत हँुदैन, कस्तो विचल्लीमा प¥यौँ हामी ।”

रहर र केही पाइएला कि भन्ने आशाले होइन, जाने ठाउँ, बस्ने कोठा र घर बनाउने औकात नभएपछि यही शिविरमा गुजारा चलाउँदै आउनु परेको शिविरका बासिन्दा बताउँछन् । बूढाबूढी, बालबालिका र अपाङ्गलाई शिविरभित्रको बसाइँ अझ कष्टकर बनेको छ । बाहिर कोठा नपाउने, महँगो भाडा तिर्न नसक्ने भूकम्पपीडित निकै समस्यामा परेका छन् । यहाँका बासिन्दालाई सरकारले अनुदान देला र घर बनाउला भन्ने आशा समेत अब छैन ।

शिविरभित्र सर्पको त्रास उत्तिकै छ भने खानेपानीको चरम अभावले पर टोलटोल पानीको खोजीमा भौतारिन पर्छ । कि त एक ग्रागी पानीको रु पाँच तिरेर किन्नु पर्छ ।सोही शिविरकी मङ्गललक्ष्मी शाही घर बनाउन सक्ने अवस्था नभएकाले शिविरमा बस्न बाध्य भएको बताउनुहन्छ । डेढ आना जग्गामा बनेको घरमा तीन जनाको परिवार छुट्टिएर बस्दै आए पनि भूकम्पले घर भत्काए पछि भने उनीहरुको विचल्ली भएको बताउनुहुन्छ ।

शिविरको कठिन सहेरै भए पनि बस्नुपरेको बताउँदै उहाँ बताउनुहुन्छ– “शिविरभित्र भेल पसेर खोला बाढी आएजस्तो हुन्छ, बस्नै सकिन्न, कसरी वर्षा टार्नु खै ?” भक्तपुर–५ याछेंका घर भूकम्पले भत्काएपछि देकोचास्थित भूकम्पपीडितको शिविरमा बस्दै आएका पञ्चनारायण सितिखुको परिवार पनि कठिनसँग शिविरमा बस्नुपरेको बताउनुहुन्छ ।”

सितिखुको परिवारजस्तै भक्तपुर नगरपालिका– ४ थालाछे, वडा नं ५ याछे, भोलाछे र वडा नं ७ गोल्मढीका ५४ परिवारका ३०० जना बस्दै आएका देकोचा शिविरका सबैको अवस्था उस्तै नै छ । भूकम्पले भत्काएको भक्तपुर नगरपालिकाको गल्लीमा रहेका बस्तीका सयाँै घरको भग्नावशेष अझै हटाउन नसक्दा कतिपय घर बनाउने ठाउँ भए पनि शिविर छाडेर घर बनाएर बस्न पाएका छैनन् ।

भूकम्पले घर भत्काएको एक वर्ष बितिसक्दा पनि भत्किएका घरको भग्नावशेष हटाउन नसकेपछि शिविरमा बस्नेको वर्षा अगाडि नै पुरानै ठाउँमा फर्किएर छाप्रो हालेर बस्ने चाहना पूरा हुन सकेन । ठूला सवारीसाधन जान नसक्ने भक्तपुरका गल्लीभित्रका सयौँ घरको भग्नावशेष हटाउन भूकम्पपीडित आफैँले नसक्ने र त्यस्ता ठाउँमा नगरपालिकाले सहयोग नगर्दा सयौँ घरको भग्नावशेष अझै शिविरका बासिन्दाको गुनासो छ ।

देकोचा शिविरमै बस्दै आउनुभएकी भोलाछे–५ कि सीता कुसाथा भन्नुहुन्छ–“एउटा घरमा छ दाजुभाइको परिवार एक÷एक वटा कोठा बारेर बसेका थियौँ, भूकम्पले त्यो पनि भत्काएपछि सबैको उठिबास लाग्यो, यो शिविर छाडेर जाने ठाउँ छैन, वर्षा काट्न निकै सकस भयो ।”

भक्तपुर नगरपालिका क्षेत्रभित्र अझै पनि व्यासी, देकोचा, कमलविनायक, गरुड कुण्ड, जगाते, भेलुखेल, हनुमानघाट, बाराहीलगायतका क्षेत्रमा १० हजारभन्दा बढी मानिस यस्तै शिविरमा वर्षामा कष्टकरसँग गुजारा चलाउँदै आएका छन्

LEAVE A REPLY