श्रीलंकामा मृत्युदण्ड पाएका नेपालीबारे सरकार अनभिज्ञ

1029
Loading...

f

काठमाडौं, १२ भदौ – लागूपदार्थ कारोबार गरेको अभियोगमा बर्सौंदेखि श्रीलंकामा जेल सजाय भोगिरहेका दुई नेपालीको अवस्थाबारे सरकार अनभिज्ञ देखिएको छ,आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ । पाटन ललितपुरका चेतबहादुर थापा र धादिङ सत्यदेवी गाविसका सुकबहादुर तामाङ श्रीलंकामा अहिले जेल जीवन व्यतित गरिरहेका छन् । श्रीलंकाली लागूऔषध ब्युरोले ७९.८४ ग्राम शुद्ध हेरोइन बोकिरहेको अवस्थामा ६३ वर्षीय थापालाई सन् २००९ सेप्टेम्बरमा पक्रेको थियो । त्यसलगत्तै उनीविरुद्ध त्यहाँको प्रहरीले केन्डीस्थित उच्च न्यायालयमा मुद्दा चलाएको थियो । थापालाई उक्त अदालतले सन् २०१५ मार्च महिनामा मृत्युदण्डको फैसला सुनाएको थियो । मृत्युदण्डको फैसलापछि थापाले कोलम्बोस्थित पुनरावेदन अदालतमा फैसला पुनरावलोकनका लागि निवेदन दिएका छन् । उनले सजाय पुनरावलोकनका लागि गरेको अनुरोधबारे अदालतले अन्तिम धारणा सार्वजनिक भने गरेको छैन । अर्का नेपाली तामाङलाई लागूपदार्थ बोकेको अभियोगमा श्रीलंकाको प्रहरीले सन् २००९ डिसेम्बरमा राजधानी कोलम्बोमा पक्रेको थियो । त्यहाँको प्रोभिन्सियल हाई कोर्टले तामाङलाई सन् २०१२ डिसेम्बर २८ मा आजीवन काराबासको फैसला सुनाएको थियो । उनले आफ्नो गल्ती स्वीकार गरेका कारण अदालतले उनलाई मृत्युदण्डको फैसलाको सट्टा आजीवन काराबासको सजाय सुनाएको कोलम्बोस्थित नेपाली दूतावासले जनाएको छ । तामाङ यतिबेला कोलम्बोस्थित वेलिकाडा बन्दीगृहमा समय व्यतित गरिरहेका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले श्रीलंकामा केही वर्षयता राजदूत पद रिक्त रहेको र अब नयाँ राजदूत नियुक्त भएलगत्तै थापा र तामाङको जीवनरक्षाका लागि ठोस कूटनीतिक पहल हुनसक्ने प्रतिक्रिया दिए । नेपाल सरकारले उच्च तहबाट कूटनीतिक पहल गरेको खण्डमा थापा र तामाङको जीवनरक्षा हुनसक्ने देखिएको छ । – See more at: http://www.lokaantar.com/chhapama/25523#sthash.7Ozr1gjc.dpuf

LEAVE A REPLY