संकटग्रस्त ११ बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको ७ अर्ब १५ करोड डुब्यो

168
Loading...

काठमाडौं । सञ्चालक र व्यवस्थापनको अनियमितता र संस्थागत सुशासनको कमीले गर्दा वित्तीय संस्थामा रहेको सर्वसाधारणको अर्बौं रुपैयाँ डुबेको छ । संस्थागत सुशासनविपरीत काम भएपछि नेपाल राष्ट्र बैंकले ११ वटा वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गर्यो, जसका कारण सर्वसाधारणको निक्षेप र सेयर लगानीसमेत गरी ७ अर्ब १४ करोड ९० लाख रुपैयाँ डुबेको हो । यसमध्ये ६ अर्ब ४२ करोड रुपैयाँ सर्वसाधारणको निक्षेप र ७२ करोड ९० लाख रुपैयाँ सेयर हो । ११ वित्तीय संस्थामा सर्वसाधारणको ३० प्रतिशत सेयर लगानी छ ।   सञ्चालक र व्यवस्थापनले जथाभावी ऋण लगानी गर्दा खराब कर्जा बढेपछि नेपाल राष्ट्र बैंकले विभिन्न समयमा ११ वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरी निक्षेप परिचालन र कर्जा लगानीलगायत सबै वित्तीय कारोबार बन्द गरेको छ ।  राष्ट्र बैंकले नेपाल सेयर मार्केट फाइनान्स लिमिटेड, क्रिष्टल फाइनान्स लिमिटेड, कुबेर मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड, क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड, वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड, जनरल फाइनान्स लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक, अरुण फाइनान्स लिमिटेड र ललितपुर फाइनान्स लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको छ । यी वित्तीय संस्थाका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरुद्ध मुद्दा दायरा दायर हुनुका साथै केही बैंकिङ कसुरमा थुनामा छन् । बैंकिङ कसुरमा कारबाही हुने डरले कतिपय विदेश भागेका छन् ।   यी वित्तीय संस्थामा कुल ११ अर्ब १९ करोड रुपैयाँ निक्षेप भएकोमा पछि समस्याग्रस्त भएपछि घटेर ६ अर्ब ४२ करोडमा सीमित भएको छ । संस्थाले १४ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । निक्षेपभन्दा कर्जा लगानी बढी छ ।   ११ वित्तीय संस्थामा ९३.३ प्रतिशत लगानी खराब कर्जामा रुपान्तरण भएको छ । बैंक तथा वित्तीय संस्थामा ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएमा जोखिम मानिन्छ । यीमध्ये क्यापिटल मर्चेन्टको शतप्रतिशत नै खराब कर्जा छ । यस्तै चुक्ता पुँजी २ अर्ब ४३ करोड रुपैयाँ छ । यसको ३० प्रतिशत सर्वसाधारणको सेयर लगानी छ । यी संस्थाको लगानी लगभग डुबेको अवस्थामा छ । यीमध्ये अधिकांश खारेजीमा जाने अवस्थामा पुगेका छन् ।  अनुभवी र दक्ष व्यवस्थापन र सञ्चालक समिति नहुँदा अझै ११ वित्तीय संस्थामा रहेको सर्वसाधारणको अर्बौं रुपैयाँ जोखिममा परेको भन्दै योग्यता आवश्यक पर्ने राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बताएका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धित प्रस्तावित ऐनको  विषयमा सोमबार व्यवस्थापिका संसद्को अर्थ समितिमा भएको छलफलमा गभर्नर नेपालले यस्तो बताएका  हुन् । बैंक तथा वित्तीय संस्थामा ९० प्रतिशत सर्वसाधारणको बचत हुने जानकारी दिँदै उनले भने, “१० प्रतिशतमात्र सञ्चालकको लगानी भएकाले उनीहरुको अनुभव र शैक्षिक योग्यता आवश्यक भएको जिकिर गरेका थिए ।”  त्यस्तै, समस्याग्रस्त भएपछि ४ वित्तीय संस्था खारेजी भएका छन् । यसरी खारेजीमा पर्नेमा नेपाल विकास बैंक, युनाइटेड विकास बैंक, सम्झना फाइनान्स लिमिटेड र हिमालयन फाइनान्स लिमिटेड छन् । यी संस्थामा रहेको केही निक्षेप रकम फिर्ता पाए पनि सेयर लगानी भने डुबेको छ ।

LEAVE A REPLY