संविधान संशोधन प्रस्ताव फिर्ता गर्न माग गर्दै एमालेद्वारा संसद अवरोध

1348

काठमाडौं, १६ मंसिर — प्रदेशको सीमाङ्कन हेरफेरसहित सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता गर्न माग गर्दै नेकपा एमाले लगायत विपक्षी दलहरूले संसद बैठक अवरुद्ध गरेका छन् । विपक्षी दलको अवरोधपछि सभामुख ओनसरी घर्तीले शुक्रवार दिउँसो तीन बजेसम्मका लागि बैठक स्थगित गरेकी छिन् ।

 

व्यवस्थापिका संसदको बिहीवार बसेको बैठकको शुरूमै सभामुखसँग समय लिएर एमाले उपाध्यक्ष वामदेव गौतमले सरकारले हिमाल, पहाड र तराईलाई अलग्याउने गरी संशोधन प्रस्ताव ल्याएर देश र राष्ट्रलाई बर्बादीको दिशामा लाने काम गरेको आरोप लगाए । उनले सरकारले कसलाई रिझाउन संशोधन प्रस्ताव दर्ता गरेको भन्दै प्रश्न गरेका थिए ।

‘जबसम्म नेपाली जनता संशोधनको विपक्षमा रहनेछन्, एमाले, राजमो, नेमकिपा लगायतका दलहरू संसदको बैठक अवरुद्ध गर्छौं र अगाडि बढाउन दिँदैनौं,’ गौतमले भने ।

एमाले लगायत विपक्षी दलका सांसदहरू उभिएर विरोध गरेपछि सभामुख घर्तीले बिहीवारको बैठकमा संशोधन विधेयकको कार्यसूची नभएको भन्दै बैठक सुचारु गर्न आग्रह गरेकी थिइन् ।

‘यहाँहररूले उठाउनुभएको विषयतर्फ ध्यानाकर्षण भएको छ । संविधान संशोधन विधेयक सदनको कार्यसूचीमा छैन । अरू प्रक्रिया अगाडि बढाउन बसेर सहयोग गरिदिनुहोस्,’ सभामुख घर्तीले भनिन् ।

विपक्षी सांसदहरूले विरोध जारी राखेपछि सभामुख घर्तीले संसद बैठक शुक्रवार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिन् ।

उपाध्यक्ष गौतमले यो संसदलाई प्रदेशको सीमाङ्कन हेरफेरको अधिकार नभएको जिकीर गरे । ‘पाँच नम्बर प्रदेशको सम्बन्धमा जुन संशोधन प्रस्तुत गरिएको छ यो सार्वभौम अधिकारसम्पन्न संविधान र भविष्यमा बन्ने प्रदेशको ठाडै उल्लंघन गरेर आएको छ,’ गौतमले संसदमा भने, ‘प्रदेशको सीमा हेरफेर गर्ने अधिकार रूपान्तरित संसदसँग छैन, यो नेपालको संविधानको ठाडो उल्लंघन हो । संविधान संशोधनको दुरुपयोग गर्ने काम भएको छ ।’

गौतम बोलिरहँदा संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा हिजो बिरामी परेका नेकपा एमालेका अध्यक्ष केपी ओली पनि उपस्थित थिए । संसद बैठक अवरुद्ध भएपछि प्रधानमन्त्री प्रचण्ड र एमाले नेताहरू हात मिलाउँदै संसदको लबीतर्फ लागेका थिए ।

LEAVE A REPLY