सिलिन्डर विस्फोटनमा मुछिएको उद्योगलाई बचाउन ग्यास व्यवसायी आन्दोलनमा

241

timthumb

ललितपुर, मंगलबजारमा तीन जनाको ज्यान जाने गरी भएको ग्यास सिलिन्डर विस्फोटनमा मुछिएको एचपी ग्यास उद्योगलाई कारबाहीबाट बचाउन ग्यास उद्योग संघले मंगलबारबाट आपूर्ति ठप्प पार्दै उपभोक्तालाई भारतीय नाकाबन्दीपछिको अर्को अभावमा झोस्न खोजेका छन्।
ग्यास व्यवसायीहरूको सिन्डिकेटका रूपमा सञ्चालित यो संघले विगतमा पनि आफ्ना जायज/नाजायज माग पूरा गराउन सरकारलाई दबाब दिँदै आएको छ। उनीहरू सधैं आपूर्ति अवरोधलाई नै आफ्नो हतियार बनाउने गर्छन्। यसपालि पनि संघमा आबद्ध ग्यास उद्योगहरुले मंगलबारबाट आयल निगमसँग खरिद इजाजतपत्र (पिडिओ) नलिने भएका छन्। उद्योगहरूले भारतबाट ग्यास आयात गर्ने यही पिडिओका आधारमा हो।

संघका अध्यक्ष शिवप्रसाद घिमिरेले मंगलबारबाटै लागू हुने गरी कुनै पनि ग्यास उद्योगले निगमबाट पिडिओ नउठाउने बताए।
सरकारले एचपी ग्यासलाई कारबाही गर्नासाथ आफू पनि कारबाहीमा पर्ने डरले घिमिरे आफैं यो आन्दोलनको नेतृत्व गरिरहेका छन्। उनको सुगम ग्यास नै गुणस्तरका मामलामा सबभन्दा ‘विवादित’ छ। सिलिन्डर विस्फोटनको घटनामा समेत मुछिएको उद्योग हो यो। सुगमको ग्यास सिलिन्डर पड्केर हालै कालिमाटीमा एक जनाको ज्यान गएको थियो। एक जनाको अझै कीर्तिपुर मोडल अस्पतालमा उपचार भइरहेकै छ।

मंगलबजारको घटनामा मुछिएको एचपी उद्योगलाई आयल निगमले प्रारम्भिक कारबाहीस्वरुप पिडिओ दिन बन्द गरेपछि नै संघले आन्दोलनको चेतावनीसहित पाँचदिने अल्टिमेटम दिएको थियो। कालिमाटीको उस्तै घटनामा मुछिएको सुगमलाई भने आयल निगमले कुनै कारबाही गरेन।
एचपी ग्यासमाथिको सरकारी कारबाहीमा अंकुश लगाउन नसके सुगम लगायत धेरै उद्योग तानिने डरले पनि संघ अत्तालिएको हो।
यति मात्र होइन, भारतीय नाकाबन्दीले उत्पन्न अभावको मौका छोपेर धेरै ग्यास उद्योगले मोटाइ पातलो भएका कमसल सिलिन्डर बिक्री गरिरहेका छन्। बजारमा निगमबाट स्वीकृत नभएका ६ लाख सिलिन्डर बिक्री भइरहेको अनुमान छ। निगमले प्रत्येक छ महिनामा सिलिन्डरको गुणस्तर परीक्षण गर्नुपर्ने भए पनि लामो समयदेखि नहुँदा ग्यास उद्योगीले मनलाग्दी गर्ने छुट पाएका छन्। यसले ‘ग्यास बम’ भनिने जोखिमपूर्ण अवस्थाका सिलिन्डर बजारमा छ्यापछ्याप्ती छन्।
एचपी र सुगम ग्यास विस्फोट त्यसैको परिणाम हो।
यी घटनामा सिलिन्डरको मोटाइ २.१ एमएम हुनुपर्नेमा आधा कम पाइएको गुणस्तर तथा नापतौल विभागको प्रारम्भिक छानबिनले देखाएको थियो। जबकि, अन्तिम प्रतिवेदनमा छानबिन टोलीले घटनामा मारिएका उपभोक्तामाथि नै दोष थोपर्दै ग्यास उद्योगलाई बचाउ गर्न र कारबाहीबाट उन्मुक्ति दिन खोजेका छन्।
जेठ ७ को मंगलबजार घटनामा एचपी ग्यासको सिलिन्डर पड्कँदा ध्रुव, सुरेश र राजेश ताम्राकार गरी तीन जनाको ज्यान गएको थियो। सुरेश ताम्राकारले ग्यास किन बलेन भनेर आफैं परीक्षण गर्ने क्रममा जबर्जस्ती गर्दा विस्फोट भएको प्रतिवेदनमा उल्लेख छ।
आपूर्तिमन्त्री गणेशमान पुन अध्यक्ष रहेको उपभोक्ता हित संरक्षण परिषदको बैठकले असार १ गते उपभोक्ता हित संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठको नेतृत्वमा घटनाको सत्यतथ्यसहित प्रतिवेदन पेस गर्न छानबिन समिति गठन गरेको हो। समितिमा नेपाल गुणस्तर तथा नापतौल विभागका केमिस्ट रामसुन्दर साह, नेपाल आयल निगमका प्रबन्धक प्रयलंकर आचार्य र आपूर्ति मन्त्रालयका शाखा अधिकृत कपिलप्रसाद रेग्मी सदस्य थिए।
प्रारम्भिक छानबिन र अन्तिम प्रतिवेदनको निष्कर्षमा कसरी आनका तान फरक पर्यो भन्नेबारे गुणस्तर तथा नापतौल विभाग मौन छ। छानबिन टोलीमा संलग्न केही अधिकारी भने ग्यास उद्योग संघको हड्तालको धम्की र दबाबका कारण विस्फोटमा मारिने उपभोक्तामाथि नै दोष थोपरेर ग्यास उद्योगलाई उन्मुक्ति दिँदै घटना सामसुम पार्न खोजिएको बताउँछन्।
आपूर्ति मन्त्रालय स्रोतले पनि उद्योगीहरूको मिलेमतोमै छानबिन समितिले उपभोक्तालाई दोषी देखाउँदै प्रतिवेदन दिएको बताएका छन्। ‘ग्यास उद्योगीलाई दाहिना पार्न मरिसकेका उपभोक्तामाथि दोष थोपरेर सजिलो बाटो अपनाउन खोजिएको छ,’ स्रोतले भन्यो, ‘यो छानबिन प्रतिवेदनमाथि नै छानबिन हुनुपर्छ।’
निगमका प्रवक्ता मुकुन्द घिमिरेले भारतीय नाकाबन्दीपछि बल्लतल्ल सहज हुन खोजेको ग्यास आपूर्ति उद्योगीहरूको दादागिरीका कारण फेरि खल्बलिने अवस्था आएको बताए। उनका अनुसार मासिक औसत ३३ हजार टन ग्यास खपत हुन्छ। अहिले भारतबाट महिनाको २७ हजार टन हाराहारी आयात भइरहेको छ। बढ्दो माग हेरेर निगमले ३७ हजार टन ल्याउने तयारी सुरु गरेको उनले बताए।
हाल सञ्चालित ५३ वटा ग्यास उद्योगमध्ये नेपाल ग्यासले सबभन्दा बढी मासिक २१ सय टन खरिद गर्छ। थोरैमा नमस्ते ग्यास उद्योगले महिनाको ३ सय टन खरिद गर्ने घिमिरेले बताए।
नक्कली सिलिन्डर बिक्रीबारे यसअघि २०६८ सालमै खुलासा भएको थियो। त्यतिबेला सुगम ग्यासका सञ्चालक तथा ग्यास उद्योग संघका अध्यक्ष घिमिरे नै कारबाहीमा परेका थिए। पेट्रोलियम डिलर्स एसोसिएसनका पूर्व अध्यक्षसमेत रहेका घिमिरेले अर्काको सिलिन्डर चोरेर पिँध काटी सुगम ग्यासको लेबल टाँसेर बेच्ने गरेको फेला परेको थियो।
छानबिन क्रममा सुनसरी, खनार–६ स्थित नेपा पेट्रोलियम ट्रेड लिंक्समा छापा मार्दा १५ हजार ३ सय ३४ थान विभिन्न कम्पनीका सिलिन्डर पिँध काटेको अवस्थामा बरामद भएका थिए।
पिँध काटिएका सिलिन्डर प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ। ग्यास बाल्दाबाल्दै तापक्रम बढ्दा चुहिएर विस्फोट हुनसक्छ। यस्तो सिलिन्डरलाई ‘ग्यास बम’ नै भनिन्छ। ग्यास उद्योगले भने नयाँ सिलिन्डरको पैसा जोगाउन अर्काको चोरेर त्यसमा आफ्नो पिँध र घाँटी जोड्ने गर्छन्।
नेपालमा त्यति ठूलो संख्यामा ग्यास सिलिन्डरको अवैध कारोबार भेटिएको त्यो सम्भवतः पहिलो घटना थियो।

LEAVE A REPLY