अण्डा सङ्घले तोकेको मूल्य सप्लार्यसले टेरेनन्

0
79

भरतपुर,१५ कात्तिक। नेपाल अण्डा उत्पादक सङ्घले तोकेको अण्डाको मूल्य सप्लायर्सले तिर्न अटेर गरेपछि कुखुरापालक कृषक मारमा परेका छन् । व्यवसायीहरुबीचमा देखिएको विवादले सङ्घले गरेको निर्णय सप्लार्यसले अटेर गरेका हुन् । जसको प्रत्यक्ष असर कुखुरापालक किसानलाई परेको छ । किसानले अहिले लागतअनुसारको अण्डाको मूल्यसमेत पाउन सकेका छैन ।

पश्चिम चितवनका किसान रामशरण न्यौपाने सप्लार्यसले सङ्घले तोकेको मूल्य नदिएको गुनासो गर्नुभयो । वर्षौदेखि सङ्घले तोकेको मूल्यअनुसार नै अण्डाको मूल्य कायम भएपनि विगत केही समययता यो मूल्य कार्यान्वन हुन नसकेको हो ।
“सङ्घले तोकेको मूल्य भनेको ठूलो अण्डाको प्रतिक्रेट ९तीसवटा अण्डा० २७५ रुपियाँ हो तर अहिले २२० रुपियाँ पनि सप्लार्यसले तिर्दैनन्”, उहाँले भन्नुभयो, “सप्लार्यसलाई सङ्घले तोकेको मूल्य भन्यो भने सङ्घलाई नै अण्डा बेच्नुस् भनेर ठाडो जवाफ फर्काउँछन् ।”
नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसी पनि सङ्घले तोकेको मूल्य कार्यान्वयन नभएको स्विकार्नु हुन्छ ।

“हामीले किसानको लागतलाई ध्यानमा दिएर मूल्य निर्धारण गरेका हौं तर सप्लार्यसले अहिले सो मूल्यअनुसार अण्डा खरिद गरेका छैनन्”, उहाँले भन्नुभयो, “सङ्घ भनेको अण्डा उत्पादक गर्ने किसानहरुको छाता संस्था हो । सप्लार्यसले सङ्घलाई नटेर्नु भनेको समग्र किसानलाइ नटेर्नु हो ।”
सङ्घले ठूलो अण्डाको प्रतिक्रेट २७५ रुपियाँ तोके पनि मिडियम अण्डा भने २४५ रुपियाँ तोकेको छ । सप्लायर्सहरुले मिडियम अण्डाको तोकेअनुसारको मूल्य तिरेका छैनन् ।
दाउन्ने सप्लार्यसका सञ्चालक विनोद पोख्रेल सङ्घले बजारको माग बुझेर मूल्य निर्धारण नगर्दा समस्या भएको बताउनुहुन्छ ।

“अहिले अण्डाको उत्पादन बढी हुने सिजनमा यसको मूल्य बढाएर हुन्छ”, उहाँले प्रश्न गर्दै गोरखापत्रसँग भन्नुभयो, “सङ्घले तोकेको मूल्यमा बजारमा अण्डा बिक्री गर्न नै सकिंदैन । कसरी अण्डा विक्री गर्ने रु”
अहिले अण्डाको खपतका तुलनामा बढी उत्पादन भएकाले पनि बजारमा अण्डाको मूल्य घट्दो रहेको उहाँको भनाई छ ।

व्यवसायीहरुको आ–आफ्नो तर्क भए पनि वास्तविकता चाहिँ व्यवसायीहरुबीचको अनमेल नै प्रमुख कारण भएको बताइन्छ । त्रिलोचन कँडेलको नेतृत्वको सङ्घलाई विस्थापित गर्न एक्कासी विशेष साधारणसभा बोलाई शिवराम केसीको नेतृत्वमा सङ्घ बनेपछि व्यवसायीहरुबीचमा मनमुटाव बढेको बताइन्छ । अझै सङ्घले गर्ने काम नै नेपाल दाना व्यवसायी सङ्घले आफ्नो नाममा अण्डा उत्पादक सङ्घ समेत जोडेपछि विवाद थप उत्कर्षमा पुगेको बताइन्छ ।

“अहिले सप्लार्यसहरु बढी दाना तथा अण्डा उत्पादक सङ्घप्रति जवाफदेही छन् अण्डा सङ्घको निर्णय असफल गराउन हात धोएर लागेका छन्”, एक किसान अगुवाले भन्नुभयो ।
अण्डा सङ्घका अध्यक्ष शिवराम केसी भने किसानहरुको भेला नै बोलाएर समस्याका बारेमा छलफल गर्ने तयारी भइरहेको बताउनुहुन्छ ।

उहाँले छिट्टै अहिले अण्डा विक्रीमा देखिएको समस्या समाधान गर्न किसान भेला आयोजना गरिने जानकरी दिनुभयो ।
“एउटा अण्डा उत्पादन गर्न किसानले कम्तीमा ११ रुपियाँ खर्च गर्छ तर अहिले बजारमा साँढे सात रुपियाँ गोटा पनि अण्डा विक्री गर्न गाह्रो छ”, केसीले गुनासो गर्नुभयो ।
यहि समस्याका कारण अहिले कतिपय साना किसानका खोर खाली भए पनि थप कुखुरा नराखेका उहाँले जनाउनुभयो ।

नेपालमा अहिले दैनिक २९ लाख गोटा अण्डा उत्पादन भइरहेको छ । यो बजार मागअनुसार बढी भएको व्यवसायीहरु बताउँछन् । पोल्ट्री व्यवसायीसमेत रहनुभएका उद्योग वाणिज्य सङ्घ चितवनका पूर्व अध्यक्ष डा। तिलचन्द्र भट्टराई व्यवसायीहरुकै कारण धरासायी भएको कुखुरा व्यवसायको उत्थानका लागि फेरि व्यवसायीहरु नै एक हुनुको विकल्प नभएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “व्यवसायीहरुबीच एकआपसमा लडाईं गर्दा व्यवसाय नै धरापमा पर्ने देखियो अब मिलेर जानुको विकल्प छैन ।”यो समाचार गोरखापत्रबाट साभार गरिएको हो ।

एक उत्तर छोड्न