अदुवाले आकर्षक मूल्य पाउँदा डोटीका किसान दङ्ग

0
152

अदुवाले आकर्षक मूल्य पाउँदा डोटीका किसान दङ्ग

अदुवाको आकर्षक बजारमूल्य पाउँदा किसान यो वर्ष खुशी भएका छन् । गत वर्ष मूल्य झर्दा अदुवा सुकाएर बेच्न बाध्य भएका किसानले राहत महसुस गरेका छन् ।

सुदूरपश्चिमको कैलाली र डोटीको चुरे क्षेत्र अदुवा खेतीका लागि उर्वर क्षेत्र हो । बडीकेदार गाउँपालिकाका किसान खडक मौनीले राम्रो मूल्य पाएकाले अदुवा विक्री गरी सकिएको बताए ।

गत वर्ष किसानले मुस्किलले अधिकतम २० रुपैयाँसम्म प्रतिकिलो अदुवाको मूल्य पाएका थिए । यो वर्ष भने अदुवाको न्यूनतम मूल्य किसानले रू. ३५ पाएको किसान बलबहादुर बुढामगरले बताए । गत वर्ष अदुवाबाट ३० हजार मात्र कमाएका उनले यो वर्ष रू. एक लाख २० हजार आम्दानी गरेका छन् ।

मूल्य नपाउँदा गत वर्ष अधिकांश किसानले अदुवा सुठो बनाएर विक्री गरेका थिए । डोटीमा भारतका व्यापारी स्थानीय व्यापारीसँग सहकार्य गरी अदुवा सङ्कलनका लागि गाउँ छिर्ने गर्छन् । डोटीको बिपीनगर, निरौली, बर्छैन, मान्नाकापडी, घाङ्ल, लाना, चवराचौतारा, केदारअखडा, सिमचौरलगायतका गाउँमा अदुवा अत्यधिक उत्पादन हुने गर्छ । डोटीमा मात्रै वार्षिक १० हजार मेट्रिकटन अदुवा उत्पादन हुने गरेको सुदूरपश्चिम प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि प्रवर्द्धन महाशाखा प्रमुख यज्ञराज जोशीले जानकारी दिए ।

पहाडको अदुवामा तेल बढी हुने, सुगन्धित र स्वास्थ्यका लागि हितकारी हुने भएकाले पनि बजारमा यसको माग बढ्दै गएको जोशीले बताए । पछिल्लो समय नेपालको अदुवालाई स्तरीकरण गरेर बाहिरी मुलुक निर्यात गर्ने गरेका कारण किसानले राम्रो मूल्य पाउने गरेको उनको दाबी छ ।

‘अहिले नेपालमै अदुवा प्रशोधन गरेर पनि बाहिर निर्यात हुने गरेको छ’, उनले भने, ‘यसअघि किसानले खेतबाट खनेर बोरामा हाली बाहिर पठाउँदा मूल्य दिन अन्तरराष्ट्रिय व्यापारीले मानेका थिएनन् ।’

डोटी र कैलालीका किसानले उत्पादन गर्ने अदुवालाई लक्षित गरी कैलालीको चुरे क्षेत्र सहजपुरमा अदुवा प्रशोधन गर्ने ‘ओएमसी’ नामक कम्पनी स्थापना गरिएको छ । ग्रामीण पहुँच विकास केन्द्र तेस्रो चरणको सहयोग र समन्वयमा स्थापना गरिएको सो कम्पनीले डोटीको अदुवा प्रशोधन गरेर जर्मनलगायतका अन्तरराष्ट्रिय बजारमा निर्यात गर्ने गरेको ग्रामीण पहुँच विकास केन्द्र तेस्रो चरणका जिल्ला प्रबन्धक राजेन्द्र गिरीले बताए ।

उनले किसान तथा अदुवाको बीमा गर्ने, अदुवा खेतीका लागि ऋण उपलब्ध गराउने जस्ता प्रोत्साहनमूलक कार्यक्रम संचालन गरेका कारण पनि किसानले कम जोखिममा राम्रो मूल्य पाउने गरेको दाबी उनको छ ।

एक उत्तर छोड्न