आयतित औलोका बिरामी बढ्दै

0
91

काठमाडौं – निवारणमा चुनौती मानिएको औलो रोग (मलेरिया) स्थानीय भन्दा आयतित बढी भएको तथ्यांक पाइएको छ। नेपाल सरकार राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत आर्थिक वर्षमा पत्ता लागेका ११ सय ८७ जना मध्ये ६ सय ३० जना विदेशबाट आउने छन्। अघिल्लो आर्थिक वर्षमा ११ सय २८ जना मध्येमा ६ सय ३६ जना आयतित छन्। तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षदेखि यता आयतित औलो रोग बढी देखिन थालेको हो। चालू आर्थिक वर्षको ९ महिनाभित्र ८ सय २० जना औलोका बिरामी पाइएको तथ्यांक छ। यसको विस्तारित तथ्यांक नआइपुगेको महाशाखाले जनाएको छ।

चिकित्सकका अनुसार एनोफोलिज जातको पोथी लामखुट्टेको टोकाइबाट हुने सरुवा रोग हो। औलो रोग लागेको व्यक्तिलाई लामखुट्टेले टोक्दा परजीवि पनि चुस्छ र लामखुट्टे संक्रमित हुन्छ। त्यही संक्रमित लामखुट्टेले अन्य व्यक्तिलाई टोकेमा औलो (मलेरिया) सर्छ। स्थानीय रुपमा औलो रोग सार्ने लामखुट्टे नभए पनि समुदायमा बिरामीमा औलो रोग भएमा वा त्यो बिरामी आफ्नो घर छोडी टाढा जाँदाको अवस्थामा संक्रमण भएर आएको अवस्थालाई आयतित औलो भनिन्छ। यो लामखुट्टेले टोकेको एक साताभित्र रोगको लक्षण देखिन थाल्छ। औलो रोग लागेमा कलेजो, मिर्गौला तथा मस्तिष्क जस्ता अंगमा असर गर्ने र कतिपय अवस्थामा बिरामीको ज्यान समेत जान सक्छ। गर्भवती महिलालाई औलो लागेर समयमा उपचार नभएमा गर्भपतन हुने र आमाको मृत्यु समेत हुन सक्छ।

औलोको संक्रमण भएपछि काम ज्वरो आउने, पसिना आउने तथा बेहोस हुने जस्ता मुख्य लक्षण देखिन्छन्। यी लक्षण देखिने बित्तिकै स्वास्थ्य संस्थामा पुग्न स्वास्थ्य सेवा विभागका प्रमुख गुणराज लोहनीले सुझाए। ‘मुख्य कुरा रोगको शंका लाग्ने बित्तिकै उपचार भएमा अरुलाई सर्न पाउँदैन,’ उनले भने। आयतित औलोको कारण औलो निवारणमा चुनौती बनेको महाशाखा प्रमुख डा. विवेक कुमार लालले बताए। ‘मानिस एक ठाउँबाट अर्को ठाउँमा जाने चलन बढेको छ। उनीहरुबाट पनि औलो भित्रिने गरेको छ,’ डा.कर्णले भने। बिरामीहरुमा गरिएको खोजअध्ययन अनुसार उनीहरु धेरैजसो अफ्रिकन मुलुक तथा भारतबाट फर्केकाहरु छन्। आवातजावात रहेसम्म आयतित औलो जारी रहने उनले औंल्याए।

त्यसैगरी भारतदेखि नेपाल आउने, पहाडदेखि तराई झर्ने र तराइदेखि पहाडको आवातजावात चलिहरको कारण यी रोग सजिलै हिमाली जिल्लामा समेत फैलिएको हुनसक्ने उनीहरुले जनाएका छन्। त्यसै गरी जलवायु परिवर्तनको कारण तराई, पहाड र हिमाली जिल्लामा समेत यो रोगको प्रकोप कायम रहेको जनाइएको छ। आयतित लामखुट्टेको प्रकोपलाई रोक्न सरकारले यो वर्ष पनि समुदायमा खोज पड्ताल कार्यक्रम जारी राखेको जनाएको छ। यो कार्यक्रमले समुदायमा कुनै बिरामी फेला परेमा त्यसको पूर्ण विवरण अध्ययन गरिन्छ। आयतित औलो समुदायमा फेला परेमा या कुनै पनि औलोको बिरामी समुदायमा देखा परेमा उनीहरुको तुरुन्त उपचार गरी फैलिन नदिने कार्यक्रम रहेकोमा स्वास्थ्यमा संघीयता कार्यान्वयनले अर्को चुनौती बनेको प्रमुख लाले बताए। ‘६ सय २५ जना स्वास्थ्यकर्मीहरुलाई तालिम दिएका थियौं। संघीयता पछि उनीहरु यतै अलमलमा छन्। नयाँलाई तालिम दिन समय लाग्छ,’ उनले भने। आयतित औलोलाई रोक्नको लागि सरकारले सीमा क्षेत्रमा बिरामी परिक्षण, अन्तरदेशीय सहकार्य गर्ने नीति तथा कार्यक्रम लिएको छ।

सरकारले तीन वर्षभित्र नेपालबाट औलोलाई शून्यमा पु¥याउने र सन् २०२५ मा औलो निवारण घोषणा गर्ने लक्ष्य लिएको छ। त्यो लक्ष्य पूरा गर्न सरकारले ग्लोवल कोषको अनुदानमा औलो खोजपड्ताल कार्यक्रम, प्रकोप जिल्लाहरुमा झुल, लामखुट्टे मार्ने औषधि, बिरामी पत्ता जाँचको लागि २ लाख ९८ हजार निःशुल्क किट तथा औषधि वितरण गरेको छ। यो रोगलाई थप प्रभावकारी बनाउन निजी स्वास्थ्य संस्थासँग साझेदारी कार्यक्रम समेत ल्याएको महाशाखाले जनाएको छ।
निजी स्वास्थ्य संस्थाले गत वर्ष ५८ जना औलो बिरामीको उपचार गरेको तथ्यांक छ।

तथ्यांकअनुसार विश्वका ७० प्रतिशत जनसंख्या औलो प्रभावित क्षेत्रमा बस्छन् र पाँच वर्ष मुनिका बालबालिकालाई औलोको कारण बढी मृत्यु हुने गरेको पाइएको छ। आर्थिक वर्ष २०७४÷०७५ का अनुसार नेपालभर १० जिल्लाहरुमा औलो बिरामी बढी देखिएका छन्। जसमा कैलाली, मुगु, कञ्चनपुर, बाँके, बाजुरा, सुर्खेत, कपिलबस्तु, बर्दिया, बैतडी र अछाम छन्।

बिहीबार नेपाल तथा विश्वभर विश्व औलो दिवस मनाइयो। यो वर्ष विश्व स्वास्थ्य संगठनले ‘आफैंबाट सुरु गरौं, औलोलाई शून्यमा पु-यायौं’ भन्ने मूल नारा अघि सारेको छ। यो नाराको अर्थ हरेक व्यक्तिको प्रयासले मात्र औलो निवारण सम्भव छ भन्ने हो।
विश्व औलो दिवसको अवसरमा विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियामा रहेको औलो रोग निवारणमा प्रतिबद्धता जनाएका राष्ट्रहरुले बजेट छुट्टयाएर लागू गर्नुपर्ने निर्देशन दिएको छ। बजेट तथा कार्यक्रमले औषधि उपचार र किटनासक कार्यक्रम एकीकृत रुपमा लैजानु पर्ने सुझाएको छ। यो रोगमा देखिएको औलोमा औषधि प्रतिरोधी समस्याको अनुसन्धानमा राजनीतिक प्रतिवद्धतासमेत आवश्यक रहेको जनाएको छ।

औलो रोगको लक्षणहरु
– काम ज्वरो आउने
– कलेजोमा असर गरी पेट सुन्निने
– खलखली पसिना आउने
– टाउकोमा असर गरेमा मस्तिष्क ज्वरो आउने
– रक्तअल्पता हुने

औलोबाट कसरी बच्ने ?
– हात–खुट्टा छोप्ने गरी पूरा बाहुला भएको लुगा लगाएर हिँड्ने
– शरीरको खुला भागमा किटनाशक मलम लगाउने
– घरभित्र, घरबाहिर, आँगनमा बस्दा लामखुट्टे धपाउन धूप बाल्ने
– सुत्ने बेलामा झुलको प्रयोग गर्ने
– घर, गाउँ समुदाय सफा राखी लामखुट्टे हुर्किन नदिने
– घरवरिपरि पानी जम्ने खाडल पुर्ने

एक उत्तर छोड्न