आरोहीलाई पछ्याउँदै सात हजार मिटर अग्लो हिमाल चुचुरोमा पुग्ने पहिलो कुकुर

0
200

सात दशकअघि ‘लाइका’ नामको कुकुरले संसारमै रेकर्ड बनायो। ऊ ब्रह्माण्डमा पुगेर पृथ्वीको चक्कर काट्ने पहिलो जनावर थियो।

अहिले ‘मेरा’ नामको कुकुरले नेपालको सात हजार मिटर उचाइको वरूणत्से हिमाल चुचुरासम्म पुगेर रेकर्ड राखेको छ।

हिउँ र अप्ठ्यारा बाटामा लड्दै-पड्दै एउटा कुकुरले थाहै नपाई सात हजार मिटर उचाइमा पुग्ने कुकुरको रेकर्ड राखेको हो।

त्यो कुकुरलाई न आफ्नो गन्तव्य थाहा थियो, न कसैको ‘मिसन’। लाइका झैं उसको त नाम पनि थाहा थिएन। के आकर्षणले तानिएर हो, ऊ वरुणत्से हिमाल आरोहण गर्ने आरोहीहरूलाई पछ्याउन थाल्यो र उनीहरूसँगै चुचुरोसम्म पुग्यो।

वरुणत्से नजिकैबाट आरोहीहरूको पछि लागेको यो कुकुर बिनासुरक्षा सामग्री चुचुरोसम्म पुगेको आरोहीहरूले बताएका छन्।

वरूणत्से आरोहण गर्न आएका विदेशी पर्यटकमध्ये डन वार्गोस्गीले उक्त कुकुरबारे ब्लग लेखेपछि यो खबर सार्वजनिक भएको हो।

अमेरिकाको सियाटलका डनले आफ्नो ब्लगमा लेखेअनुसार मेरालाई बाटामा आवश्यक ठाउँमा जीप लाइन लगाउनुबाहेक अरू कुनै सहयोग गर्नुपरेन। ऊ आफ्नै बलबुतामा चुचुरोसम्म पुगेको डनले लेखेका छन्।

Image may contain: dog
Image may contain: sky and outdoor

उनका अनुसार कुकुरको वास्तविक नाम उनीहरूलाई थाहा छैन। मेरापिक आसपास भेटिएकाले आरोहीहरूले नै ‘मेरा’ नाम राखिदिएका थिए। वरूणत्सेको सफल आरोहणपछि भने ‘बरू’ नाम दिइएको ‘आउटडोर’ पत्रिकाले लेखेको छ।

डनले विभिन्न सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार पोथी कुकुर मेरा तिब्बत र नेपालकै हिमाली भेगमा भेडाको सुरक्षा गर्ने हिमाली जातको हो।

खरे गाउँमा भेटिएको कुकुरलाई अचानक वरूणत्से क्याम्पमा देखेपछि डन र उनका साथीहरू चकित खाएका थिए। त्यहीँबाट कुकुर र उनीहरूको सहयात्रा सुरू भयो।

डन यो आरोहण समूहका नेता थिए। उनले कुकुरलाई आफूसँगै टेन्टमा सुताए र खान दिए। यात्राभरि उनीहरू साथसाथै अघि बढे।

‘हामी एकअर्काको भाषा बुझ्थेनौं तर यो कुकुर साह्रै बाठो छ,’ डनले भनेका छन्, ‘उसलाई बोलाउँदा खुरूक्क आउँथ्यो। मैले खाउन्जेल टेन्टबाहिरै कुर्थ्यो। म उसलाई पनि खान दिन्थेँ। मेरो कुनै सामान पनि उसले टोकेर बिगारेन।’

मेरा र डन तीन सातासम्म एउटै टेन्टमा सुते। डनले मेरालाई आफ्नो ज्याकेटको ओछ्यान बनाइदिएका थिए।

कुकुर धेरै मान्छेका प्रिय जनावर भए पनि यसले टोकेमा प्राणघातक रेबिज रोग लाग्ने डरले भुस्याहा कुकुरहरू धेरैका प्रिय बन्दैनन्। मेरा पनि भुस्याहा कुकुर नै थियो। ऊ यति मायालु थियो, डनको मन यसै पग्लियो। डनसँगै गएका अरू नेपाली आरोही र गाइडहरूको पनि प्रिय बन्यो।

मेरासँग हिमाल चढ्ने खुबी थियो। उसको यही खुबीले सबैलाई आकर्षित गरेको डनले बताएका छन्।

‘म त त्यो ठाउँको थिइनँ। तर, त्यहीँ ठाउँमा प्रायः आउजाउ गर्नेहरूले नै कुनै कुकुर त्यसरी कहिल्यै नआएको बताएका थिए। उनीहरूले पनि मेरालाई विशेष माने,’ डनले भनेका छन्।

Image may contain: snow, dog, sky, outdoor and nature
Image may contain: mountain, sky, snow, nature and outdoor

कुनै एउटा विन्दुमा पुगेपछि भने मेरा र डनको समूह छुट्टियो। मेराका लागि बाटो कठिन भयो। उसले दुई रात हिउँ र बतासबीच एक्लै काट्यो।

डनलाई लाग्यो, ‘कुकुर यस्तो मौसममा बाँच्न सक्दैन।’

त्यसै बेला सोही रूटबाट दुई जना शेर्पाहरू फर्किने भए। उनीहरूले मेरालाई कठिन बाटो पार गर्न उक्साए। मेरालाई कसैको साथ चाहिएको थियो सायद, ऊ सफल भयो। त्यहाँबाट फेरि डनको टोलीलाई पछ्याउन थाल्यो।

उनीहरूको यो यात्रा सगरमाथा आधार शिविरमा पुगेपछि अलमलियो।

डनलाई थाहा थियो, अबको यात्रा मेराका निम्ति धेरै जोखिमपूर्ण छ। डनलाई मेरासँग छुट्टिने मन थिएन। भर्खरै बनेको नयाँ इमानदार साथीसँग विदा हुन मन मानिरहेको थिएन। तर जानु त थियो नै।

उनले कुकुरलाई शिविरका कर्मचारीहरू नजिकै बाँधिदिए।

‘म हिँडेपछि ऊ साह्रै चुइँकिदै कराइरह्यो,’ डनले भनेका छन्, ‘म हिँडेँ। आधा घन्टाजति उकालो लागेपछि मलाई मेरो घुँडाको पछाडिपट्टि काउकुति लागेझैं भयो। फर्केर हेर्दा मेरा (कुकुर) थियो। ऊ पहिलेझैं मलाई पछ्याउँदै आइसकेको रहेछ।’

आफूले बाँधिदिएको डोरी टोकीवरि चुँडाएर मेरा भागेको उनले बताएका छन्।

Image may contain: 1 person, smiling, dog, beard and indoor
डन वार्कोस्गी र मेरा टेन्टभित्र।
Image may contain: sky, mountain, nature and outdoor

उनीहरूको यात्रा अझै अघि बढ्यो। उनीहरू वरूणत्से चुचुरामा पुग्नुभन्दा पहिलेको अन्तिम शिविरमा थिए। मेरा र डन चार दिनसम्म एउटै टेन्टमा बसे। डन र उनका साथीबीच मेरा घनिष्ट भएको थियो।

वरूणत्सेको चुचुरामा चढ्ने दिन मेरा टेन्टमा सुतिरहेको थियो। बिहान २ बजेतिर डन र उनका साथीले मेरालाई त्यहीँ छाडेर हिँडे। मेराले उनीहरूलाई नपछ्याउला भन्दै उनीहरू अगाडि बढे।

उनीहरू करिब २२००० फिटमाथि पुगे र फोटो खिच्न अलि अग्लो ठाउँमा उक्ले। त्यहीँबाट उनीहरूले देखे, मेरा त उनीहरूलाई भेट्न हस्याङफस्याङ गर्दै आइरहेको थियो।

‘हामी हिँडेको सात घन्टा भइसकेको थियो। तै पनि उसले हामीलाई भेटिसकेको थियो,’ डनले भने, ‘मैले उसलाई देखेँ। त्यसपछि ऊ मेरो काखमै आएर बस्यो। मलाई थाहा छैन, त्यस्तो अप्ठ्यारो बाटो ऊ कसरी चढ्यो! भिरालो ठाउँ कसरी पार गर्यो! मलाई त यति थाहा छ, ऊ हामीसँगै हिँड्न चाहन्छ।’

डनसँग गएका नेपाली आरोहीहरू पनि कुकुर देखेर अचम्मित थिए। राम्रै मौसम भए पनि माइनस २० डिग्रीको तापक्रममा ऊ कसरी त्यति चाँडो आइपुग्यो भन्ने उनीहरूले सोच्न पनि सकेनन्।

अन्ततः उनीहरू वरूणत्सेको चुचुरामा पुगे। सँगै फोटा खिचे। लुटपुटिए।

आरोहीहरू तल झरेपछि डनलाई मेरासँग अब छुट्टिनुपर्छ भन्ने चिन्ता लाग्यो। बाटोमा भेटिएको मेरा अब के गर्ला भन्ने लाग्यो।

‘म उसलाई आफैंसँग ल्याउन चाहन्थेँ,’ डनले भनेका छन्, ‘तर सम्भव भएन।’

सँगै ल्याउन नसके पनि मेरा एक्लै नहुनेमा उनी विश्वस्त छन्।

डनका अनुसार आधार शिविर व्यवस्थापक काजी शेर्पाले उसलाई घर लैजाने बताएका छन्। उनले भनेका छन्, ‘नेपाली साथीले लैजान्छु भनेपछि मेरो मन हलुका भयो।’

यो कुकुर वरूणत्से शिखरमा पुग्ने मात्र होइन, सबभन्दा उचाइमा पुग्ने पहिलो जनावर भएको छ। यसअघि अरू कुनै जनावर यति अग्लो स्थानमा पुगेको रेकर्ड नभएको आउटडोर पत्रिकाले लेखेको छ।

Image may contain: one or more people, outdoor and nature
Image may contain: sky, cloud, outdoor and nature

एक उत्तर छोड्न