आलम प्रकरणमा फेरिन थाल्यो प्रत्यक्षदर्शीको बयान, ‘बम होइन स्टोभ पड्केर घाइते भएँ’

0
68

रौतहट – राजपुरमा बम विष्फोटको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थालेका छन् ।

विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनको अघिल्लो दिनको विष्फोटको घटनाका एक प्रत्यक्षदर्शी तथा घाइते गौरीशङ्कर राम चमारले बयान फेर्दै अदालत पुगेपछि प्रहरीले पक्राउ गरेको छ । न्यायाधीश दीपक ढकालको इजलासमा बहस चलिरहेका बेला आलमविरुद्ध बयान दिने भनिएका चमारले बम विष्फोटबारे आफूलाई कुनै जानकारी नभएको भन्दै अदालत पुग्नुभएको थियो । 

आलमका वकिलका साथमा जिल्ला अदालत छिर्नै लाग्दा चमारलाई प्रहरीले पक्राउ गरेको हो । सरकारी साक्षीका रुपमा रहेका चमारले बयान फेर्दै अदालतमा आएपछि उहाँलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । चमार राजपुरमा भएको बम विष्फोटमा घाइते भएका सरकारी साक्षी हुनुहुन्छ । उहाँले आफू बमले नभएर स्टोभ पड्केर घाइते भएको कागजात पेस गर्नुभएको छ । 

यसअघि विष्फोटपछि इँटाभट्टामा हालेर जिउँदै मारिएका ओसी अख्तर विदेशमा रहेका भन्दै उहाँकी पत्नी अमना खातुनले जिल्ला अदालतमा निवेदन दिनुभएको थियो । २३ जनालाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा नेपाली काङ्ग्रेसका नेतासमेत रहेका आलमविरुद्ध गत बिहीबारै बयान सकिएको अवस्थामा अमना बयान फेर्दै अदालत पुग्नुभएको थियो ।

प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयमा पतिलाई आलमले जिउँदै इँटाभट्टामा हालेर मारेको बयान दिएकी उहाँले अचानक बयान फेर्दै लिखित निवेदन दिनुभएको थियो ।

आलम सर्मथकद्वारा मौन जुलुस

यसैगरी आलमका सर्मथकले गौरमा विशाल मौन जुलुस प्रदर्शन गरेका छन् । आलमको जिल्ला अदालतमा बहस चलिरहँदा सर्मथकले भने गौरमा ठूलो सङ्ख्यामा सोमबार दोस्रो पटक मौन जुलुस निकालेका हुन् । आलमको रिहाइको माग गदै मौन जुलुस लिकालिएको जुलुसमा सहभागी काङ्ग्रेसका महाअधिवेशन प्रतिनिधि मुकेश गिरीले बताउनुभयो ।

बिपी चोकबाट निस्केको जुलुसले जिल्ला अदालत हुँदै गौर भन्सार पुगेर टुङ्गिएको गिरीले जानकारी दिनुभयो । यसअघि पनि यसैगरी मौन जुलुस निकालिएको थियो ।

काङ्ग्रेसका केन्द्रीय तहका नेताले कानूनलाई सहयोग गर्न भनेपछि यहाँका नेता तथा कार्यकर्ताले दुई पटक गौरमा मौन जुलुस प्रदर्शन गरेका हुन् । गएको २०६४ चैत २७ गते रौतहटको राजपुरमा बम विष्फोटको मुख्य नाइके भन्दै १२ वर्षपछि प्रहरीले गएको असोज २६ गते आलमलाई गौरबाट पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार

बम विस्फाेटका घाइतेलाई आलमले इँटाभट्टामा हालेकाे दाबीसहितकाे प्रतिवेदन सरकारी वकिलकाे कार्यालयमा

एक उत्तर छोड्न