उत्तरबाट दक्षिण कोरिया भागिन् तर पाइन् मृत्यु

0
156

त्यो दिन ४२ वर्षकी हन सुंग–ओक तरकारी बजारमा सलादका हरिया पातलाई यसरी हेरिरहेकी थिइन् कि उनी ती सबै खरिद गर्न चाहन्छिन् ।

उनले ती हरियो पातलाई ओल्टाई पल्टाई गरेर हेरिरहेकी थिइन् ।

नजिकै उनका ६ वर्षको छोरा खेलिरहेको थियो र निकै मुश्किलले नजिकैको एक बारमा चढ्न सफल भएको थियो ।

दक्षिण सियोलको एक बस्तीमा तरकारी बेच्ने एक महिला उनको यस्तो व्यवहार देखेर रिसाइरहेकी थिइन् । उनको लागि हन एक किचकिचे ग्राहक थिइन् जसले हरेक तरकारीलाई ओल्टाई पल्टाई गरेर हेर्छन् तर किन्छन् एउटा मात्रै । यसपटक उनले पाँच सय वोन अर्थात् ४६ रुपैयाँ मात्र खर्च गरिन् ।

केही बर्बराउँदै हन सुंग–ओक पैसा दिन्छिन् र छोरासँगै जान्छिन् ।

केही हप्तापछि दुबैको मृत्यु हुन्छ ।

भोकमरीसँग जुधिरहेको आफ्नो देश उत्तर कोरिया छोडेर नयाँ तरिकाले जीवनयापन गर्ने आशमा हन सुंग–ओक आफ्ना छोरासँग एशियाको सबैभन्दा धनी शहरमध्ये एक सियोल पुगेकी थिइन् । यी दुईको भोकमरीका कारण मृत्यु भएको बताइन्छ ।

दुबैको शव दुई महिनासम्म उनीहरुको कोठामा नै रहिरह्यो किनभने कसैलाई पनि थाहा थिएन कि उनको मृत्यु भइसकेको छ ।

उनीहरुको मृत्यु भएको लगभग दुई महिनापछि पानीको मिटर जाँच गर्न आएका एक व्यक्तिले अचम्मको गन्ध महसुस गरे । त्यसपछि मात्र उनीहरुको मृत्यु भइसकेको पत्ता लागेको हो ।

आमा र छोरा भुइँमा छुट्टा छुट्टै थिए । उनीहरुको भाडाको कोठामा एउटा मात्रै खानेकुरा थियो – रातो खुर्सानी ।

उनलाई अन्तिम पटक देख्ने केही मानिसमध्ये एक थिइन् ती तरकारी बिक्रेता जो उनको अपार्टमेन्ट परिसर बाहिर सडकमा आफ्नो पसल चलाउँथिन् । उनले हन सुंग–ओकलाई अन्तिम पटक वसन्तमा देखेकी थिइन् । पुलिसका अनुसार यो ठिक त्यही समय थियो जब उनले अन्तिम पटक आफ्नो बैंक अकाउन्टमा बाँकी भएको रकम लगभग तीन डलर निकालेकी थिइन् ।

उनले भनिन, ‘उनको मृत्युले मलाई निकै दुःखी तुल्याएको छ । सुरुमा म उसलाई किचकिचे भएका कारण रुचाउँदिन थिएँ । तर अब उनीबारे सोच्दा मलाई निकै नराम्रो लाग्छ ।’

‘यदि उनले मलाई राम्रो तरिकाले केही खाना मागेको भए सायद उनलाई म केही सलादका पात दिन्थेँ ।’

यी दुईको मृत्युका कारण मानिस आक्रोशित छन् ।

एक करोड जनसंख्या भएको यो शहरमा हन सुंग–ओक एक्ली थिइन् । उनलाई निकै कमले चिन्दथे । जतिले चिन्दथे उनीहरुका अनुसार उनी निकै कम बोल्थिन् र मानिसहरुको नजरबाट बच्नका लागि वरिपरिको इलाकामा टोपी लगाएर घुम्थिन् ।’

तर अब यो पूरा शहरले उनलाई चिनिसकेको छ ।

उत्तर कोरियाबाट भाग्न कति मुश्किलः

सियोलको मध्य भागमा ग्वांगह्वामुनमा श्रद्धाञ्जली सभामा उनको तस्बिरलाई फूल र उपहार चढाइएको छ । शोक जताउनका लागि दर्जनौं मानिसहरुले उनको नाम लाउडस्पीकरमा बोलाइरहेका छन् तर वास्तविकता यो हो कि उनलाई व्यक्तिगत रुपमा निकै कमैले चिन्दथे ।

उक्त स्थानमा शोक जताउँदै एक भगौडाले भने, ‘यस्तो कठिनाईबाट गुज्रिएर, विभिन्न चुनौतीको सामना गरेर दक्षिण कोरिया पुगेकी उनको मृत्यु भोकमरीले कसरी भयो भनेर बुझ्न गाह्रो छ । यो घटनाले मेरो मुटु छियाछिया भएको छ । जब मैले पहिलो पटक यो खबर सुनेँ तब मैले यसलाई विश्वास नै गरिनँ ।’

‘यो दक्षिण कोरियामा हुन सक्दैन । उनको मृत्यु हुनेसम्मको स्थिती आइसकेको थियो तर कसैलाई यसबारे किन थाहा थिएन ? ’

तर एउटा कारण कसैलाई पनि थाहा छैन कि हन सुंग–ओक सबैबाट लुकेर बस्न चाहन्थिन् ।

उत्तर कोरियाबाट भाग्न सजिलो छैन ।

यदि तपाईं सीमामा सैनिकबाट बच्नुहुन्छ भने पनि भाग्ने व्यक्तिले चीन हुँदै हज्जारौं किलोमिटरको यात्रा गर्नुपर्छ ।

भाग्ने व्यक्तिको उद्देश्य कुनै तेस्रो देशको दक्षिण कोरियाली दूतावास पुग्नु हुन्छ । साधारणतया थाइल्याण्ड, कम्बोडिया वा भियतनामका दक्षिण कोरियाली दूतावास उनीहरुको पहिलो गन्तव्य हुन्छ ।

तर चीनको यात्रा सजिलो हुँदैन । अत्यधिक जोखिम उठाउनु पर्छ । यदि तपाईं पक्राउ पर्नुहुन्छ भने तपाईंलाई उत्तर कोरिया फिर्ता पठाइन्छ र फिर्ता भएपछि त्यहाँको कुख्यात जेलमा जीवन बिताउनुपर्छ ।

त्यहाँबाट भाग्ने चाहना राख्ने महिला दलाललाई पैसा दिन्छन् तर थुप्रै पटक उनीहरुलाई धोका दिइन्छ । थुप्रै पटक उनीहरु जेल जान्छन् भने कतिपटक उनीहरु दुलही वा यौनकर्मीको रुपमा बेचिन्छन् ।

हन सुंग–ओकले उत्तर कोरिया कसरी र कहिले छोडेकी थिइन् भनेर पुष्टि गर्न मुश्किल छ । उनलाई चिन्ने दुई भगौडाले दाबी गरिए अनुसार उनलाई एक चीनियाँ व्यक्तिको हातमा दुलहीको रुपमा बेचिएको थियो जसबाट उनले एउटा छोरा जन्माइन् ।

तर उनी १० वर्षअघि सियोल एक्लै पुगेकी थिइन् र निश्चित रुपमा हनवान केन्द्रमा आफ्ना सहपाठीसँग खासै घुलमिल भएकी थिइनन् ।

उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुग्नेहरुलाई हनवानजस्ता केन्द्रमा १२ हप्ताको आधारभूत तालिम दिइन्छ ताकि दक्षिण कोरियामा उनीहरु सजिलै घुलमिल हुन सकून् ।

केन्द्र स्थापनापछि हन सुंग–ओकको कक्षा सबैभन्दा ठूलो थियो । यसमा तीनसय बढी व्यक्ति थिए । उनीहरु सबैलाई थाहा थियो कि चीनबाट यात्रा गर्नु कति कठिन थियो ।

उनकी एक सहपाठीले भनिन्, ‘मलाई थाहा थियो कि उनी सुरुमा चीन गएकी थिइन् । उनी हाँस्थिन् तर उनको एउटा नराम्रो पक्ष पनि थियो ।’

‘मैले उनलाई के गलत भएको थियो भनेर सोध्थेँ तर उनले मेरो कुरा यत्तिकै टारिदिन्थिन् ।’

‘मलाई व्यक्तिगत मामला खासै कोट्याइरहन मन लाग्दैन । त्यसकारण मैले उनलाई जबसम्म कडा मेहनत गर्न सकिन्छ तबसम्म राम्रो जीवन बाँच्न सकिन्छ भनेकी थिएँ । उनी जवान र सुन्दर थिइन् त्यसकारण उनलाई खासै समस्या नहुने पनि बताएको थिएँ ।’

हन सुंग–ओकको सुरुवातः

सुरुवातमा हन सुंग–ओक आफ्नो नयाँ जीवनलाई उत्कृष्ट बनाइरहेकी थिइन् । अधिकारीले भगौडालाई सहुलियत घर खोज्न पनि मद्दत गरे । उनी आफ्ना ६ सहपाठीसँग एउटा कोठामा बस्न थालेकी थिइन् ।

उनकी एक सहपाठीले भनिन्, ‘उनी निकै मायालु र सुन्दर थिइन् । मलाई लाग्छ कि मेरो कक्षामा मपछि जागिर पाउने उनी दोस्रो महिला थिइन् । सबैभन्दा पहिलो उनले केही समयका लागि सियोल विश्वविद्यालयको कफी शपमा काम गरिन् । जहाँसम्म मैले सुनेकी थिएँ त्यहाँ उनले आफ्नो राम्रो छवी बनाएकी थिइन् । हामीलाई लाग्थ्यो कि उनी आफ्नै हेरविचार गर्न सक्षम छिन् ।’

‘यस्तो होला भनेर मैले कहिले पनि सोचेकी थिइनँ ।’

यो पत्ता लगाउन मुश्किल छ कि यो आशाजनक सुरुवातको अन्त्य यस्तो बेसहारा किन भयो ?

उनको अपार्टमेन्टमा बस्ने दुई उत्तर कोरियाली व्यक्तिले भने, ‘उनले आफ्ना चीनियाँ श्रीमानलाई दक्षिण कोरिया आउनका लागि मनाएकी थिइन् । उनका श्रीमान् आएपछि उनी तोंग्योंगको दक्षिणमा बस्न गएकी थिइन् । उनका श्रीमान् जहाज मर्मत गर्ने स्थानमा काम गर्दथे । उनीहरुको कान्छो छोराको पनि  जन्म भयो जसलाई केही समस्या थियो ।’

उनीहरुका अनुसार उनका श्रीमान् उनी बिना नै जेठो छोरा लिएर चीन फर्किए । उनी त्यहाँ आफ्ना अपाङ्ग बच्चासँग एक्लै बसिन् । उनीसँग काम पनि थिएन ।

उनका छिमेकीका अनुसार उनी आफ्नो जेठो छोरालाई निकै याद गर्थिन् ।

उनी पछि त्यही स्थानमा फर्किइन् जहाँबाट उनले दक्षिण कोरियाली जीवनको सुरुवात गरेकी थिइन् । त्यही सहुलियतयुक्त अपार्टमेन्टमा ।

उनले गत वर्ष अक्टोबर महिनामा सामुदायिक केन्द्रमा मद्दतका लागि निवेदन दिएकी थिइन् र हरेक महिना उनले आफ्नो बच्चाको पालन–पोषणका लागि पैसा पाउँथिन् ।

जति उनले भत्ता पाइरहेकी थिइन् उनले त्योभन्दा बढी पनि दाबी गर्न सक्थिन् । सिंगल पेरेन्ट हरेक महिना ६ देखि सातपटक उक्त राशीको हकदार हुन्छ । तर यसका लागि सम्बन्धविच्छेदको प्रमाणपत्र आवश्यकता पर्छ । हामीलाई लाग्छ कि त्यो उनीसँग थिएन ।

शरणार्थीको समस्याः

सामुदायिक केन्द्रमा कर्मचारीका अनुसार उनीहरुले अप्रिलमा वार्षिक अनुसन्धानका लागि उनीहरुको अपार्टमेन्टकामे भ्रमण गरेका थिए तर त्यतिबेला उनीहरु घरमा थिइनन् । उनीहरुलाई उनको छोराको अवस्थाबारे पनि थाहा थिएन । उनले केही समयदेखि सहुलियतयुक्त अपार्टमेन्टको भाडा र बिल तिरेकी थिइनन् ।

उत्तर कोरियाबाट आउने मानिसहरुलाई पाँच वर्षसम्म सरकारले मद्दत गर्छ । हन सुंग–ओकको यो अवधि समाप्त भएको थियो ।

जहाँ हन सुंग–ओकलाई श्रद्धाञ्जली दिइँदै थियो त्यहाँ उनको हाँसिरहेको तस्बिरको अगाडि उत्तर कोरियाबाट भागेर आएका व्यक्तिहरुबीच बहस जारी थियो ।

‘यो कस्तो बिडम्बना – भोक मेटाउनका लागि एक उत्तर कोरियाली नागरिक दक्षिण कोरिया आउँछिन् र त्यहाँ भोकका कारण मर्छिन् ।’

‘दक्षिण कोरियाली सरकारले के गर्यो ? यो मृत्यु एक्लोपनका कारण भएको हो ।’

‘सिस्टम कहाँ छ, पुलिस कहाँ छ ?’

उनका छिमेकीबट हन सुंग–ओकबारे हामीलाई जे थाहा भएको थियो त्यसबाट अन्दाज लगाउन सकिन्थ्यो कि उनी बेचेन र चिन्तित थिइन् ।

हन सुंग–ओकले कहिले पनि मद्दत मागिनन् तर के मद्दत उनीभए आउन सक्दैनथ्यो ?

मनोचिकित्सक र भागेर आएका मानिसका अनुसार उत्तर कोरियाली शरणार्थीका लागि मानसिक स्वास्थ्य हेरबिचारको क्षेत्रमा सुधार गर्न सकिन्छ ।

धेरैजसो भगौडा विभिन्न प्रकारको समस्याबाट गुज्रिसकेका हुन्छन् । मानवाधिकार उल्लंघन, अत्यधिक भोक, यौन उत्पीडनदेखि सार्वजनिक फाँसीसम्म देखिसकेका हुन्छन् ।

कोरियाका राष्ट्रिय मानवाधिकार आयोगको एक अध्ययन अनुसार चीन हुँदै आउने शरणार्थीमा मनोवैज्ञानिक समस्या धेरै हुन्छ ।

सामाजिक स्थितीः

नेशनल सेन्टर फर मेन्टल हेल्थका डा. जुन जिन–योंगका अनुसार भगौडालाई डिप्रेशन, चिन्ताजस्ता अन्य मानसिक रोगबाट ग्रस्त हुनु साधारण कुरा हो । तर उत्तर कोरियामा मानसिक रोगको विषयमा विभिन्न गलत अवधारणा छन् जसका कारण योसँग जुधिरहेकाहरुलाई यसको उपचार सम्भव छ भन्ने थाहा नै छैन ।

मानसिक रोगीसँग जुध्ने मानिसहरुलाई उत्तर कोरियामा एक पहाडी क्षेत्रको एक अस्पतालमा पठाइन्छ ।

डा. जुन भन्छन्, ‘हामीलाई यस्ता सेवाको आवश्यकता छ जुन भगौडाका लागि विशेष गरी बनाइएको हुन्छ । हामीले उनीहरुलाई यसबारे बताउनुपर्छ ।’

उत्तर कोरियाबाट आएका मानिसहरुको तुलनामा दक्षिण कोरियाका मानिसहरु स्वास्थ्यबारे थप जागरुक छन् किनभने उत्तर कोरियाका मानिसहरुमा यसबारे गलत अवधारणा छ ।

एक सर्वेक्षणकाम अनुसार १५ प्रतिशत उत्तर कोरियाली शरणार्थीले उनीहरुलाई आत्महत्याको विचार आउने स्विकारेका छन् । जुन औसतमा दक्षिण कोरियाली मानिसहरुभन्दा १० प्रतिशत बढी छ ।

यीमध्ये धेरैका अनुसार पैसाको कमी यसको मुख्य कारण हो ।

१५ वर्ष अघि उत्तर कोरियाबाट दक्षिण कोरिया भागेर आएका पार्कले भने, ‘दक्षिण कोरिया एउटा यस्तो समाज हो जहाँ तपाईं सम्बन्धबिना नै बस्न सक्नुहुन्छ । उत्तर कारियामा बस्नका लागि आफन्तको आवश्यकता हुन्छ ।’

‘मलाई लाग्छ कि यो निकै ठूलो अन्तर हो । दक्षिण कोरियामा तपाईं आफ्नो छिमेकीसँग कुरा नगरी पनि बाँच्न सक्नुहुन्छ तर उत्तर कोरियामा छिमेकीबारे ज्ञान राख्नै पर्छ र सिस्टमले यसका लागि तपाईंलाई बाध्य नै बनाउँछ ।’

हज्जारौं उत्तर कोरियाली मानिसहरु दक्षिण कोरियामा निकै सफल र राम्रो जीवन बाँचिरहेका छन् । यसका लागि उनीहरुले आफूमा विभिन्न परिवतर्न ल्याएका छन् ।

थुप्रै अध्यननमा भगौडाले आफूलाई अलग महसुस गराइएको र थुप्रैपटक भेदभावको सामना गर्नुपरेको बताएका छन् ।

हन सुंग–ओक र उनका छोराको पोस्टमर्टमा रिपोर्ट चाँडै नै आउने आशा छ । यस्तै, अर्कोतर्फ दक्षिण कोरियाली सरकारी विभागले हनको मृत्युको अनुसन्धान गरिरकेको छ ।

एक उत्तर छोड्न