किन बिहान सबेरै उठ्ने कोसिस गर्नुहुँदैन ?

0
45

‘अर्ली टु बेड अर्ली टु राइज मेक्स अ पर्सन हेल्दी, वेल्दी एण्ड वाइज’ । अंग्रेजी भाषाको यो भनाई निकै पुरानो हो । जसको अर्थ यो हो कि बिहान सबेरै  उठ्नु निकै फाइदाजनक छ । यो बानीले मानिहरुलाई स्वस्थ, धनी र बुद्धिमान बनाउँछ । एप्पल कम्पनीका सिइओ टिम कुक बिहान पौने चार बजे उठ्छन् । फिएट कम्पनीका सिइओ सर्जियो मार्शियान बिहान साढे तीन बजे र चर्चित बेलायती व्यापारी रिचर्ड ब्रेनसन बिहान पौने ६ बजे उठ्छन् । सबैलाई थाहा छ, यी व्यक्ति निकै सफल छन् तर के उनीरुको सफलताको राज बिहान चाँडै उठ्नुमा लुकेको छ ?

बिहान सबेरै उठ्ने सबै मानिसहरु जीवनमा अत्यधिक सफल हुन्छन् त ?

बिहान चाँडै उठ्नुका विभिन्न फाइदा छन्, यसमा दुई मत छैन । सबेरै उठेर व्यायाम गरेर, नाश्ता गरेर, अफिसका लागि तयार भएर आफ्ना केही कामसमेत गर्न भ्याइन्छ ।

Photo: GETTY IMAGES

त्यसो भए जो मानिस अबेरसम्म सुत्छन्, उनीहरु सफल हुँदैनन् त ? जो ढिला उठ्छन् उनीहरुको काम अधुरा हुन्छन् ? के साँच्चै नै ढिला गरी उठ्ने मानिसहरु न त सफल हुन सक्छन्, न स्वस्थ नै ?

यदि तपाईंले पनि यस्तै साच्नुहुन्छ भने यसलाई आफ्नो मन मस्तिष्कबाट निकालिदिनुहोस् । किनभने एक अनुसन्धानबाट पत्ता लागेको छ कि संसार दुई हिस्सामा बाँडिएको छ । आधा जनसंख्या यस्ता छन् जसलाई बिहान चाँडै उठ्न मनपर्छ । अन्य मानिस भने ढिलासम्म सुत्न र राती अबेरसम्म जागा बस्न रुचाउँछन् । अब यस्तो त होइन कि अबेरसम्म सुत्ने संसारको आधा जनसंख्या असफल छन् ।

संसारभरीको जनसंख्यामध्ये एक चौथाई मानिस यस्ता छन् जसलाई बिहान चाँडै उठ्न मनपर्छ । यस्तै लगभग यति नै मानिसहरु राती अबेरसम्म जागा बस्न रुचाउँछन् । अनुसन्धानबाट पत्ता लागेअनुसार बिहान चाँडै उठ्ने मानिसहरुको सहयोगी भावना अलि बढी हुन्छ । उनीहरु कुनै पनि घटनाको सही विश्लेषण गर्न सक्छन् । उनीहरुको तुलनामा राती अबेरसम्म जागा बस्नेहरु कल्पनाशीलताको मामलामा बाजी मार्ने गर्छन् । उनीहरु धेरैजसो एक्लै बस्न रुचाउँछन् ।

Photo: GETTY IMAGES

बिहान चाँडै उठ्नुका फाइदाः

थुप्रै पटक भएको अनुसन्धानले यो प्रमाणित गरिसकेको छ कि बिहान चाँडै उठ्ने मानिसहरु आत्मप्रेरित हुन्छन् । उनीहरु लगातार काम गरिरहन्छन् । अरुले भनेको कुराहरु पनि उनीहरु धेरै मान्छन् । उनीहरुले धेरै नै लक्ष्य राख्छन् । भविष्यको योजना उत्कृष्ट तरिकाले बनाउन सक्छन् ।

बिहानै उठ्ने मानिसहरु आफ्नो स्वास्थ्यको पनि निकै ख्याल राख्छन् । राती अबेरसम्म जागा रहनेको तुलनामा सखारै उठ्ने मानिस कम रक्सी पिउँछन् । डिप्रेशनको पनि कमै शिकार हुन्छन् ।

यस्तै, राती अबेरसम्म जागा बस्नेहरुको तीक्ष्ण स्मरणशक्ति हुन्छ । उनीहरु बिहान चाँडै उठ्नेहरुभन्दा अत्यधिक बौद्धिक हुन्छन् । उनीहरुको काम गर्ने गती पनि निकै छिटो हुन्छ । राती अबेरसम्म जागा बस्नेहरु नयाँ प्रयोग गर्न पनि खुल्ला दिमागले काम गर्छन् । राती अबेरसम्म जागा रहनेहरु बिहान चाँडै उठ्नेहरु झैं स्वस्थ, बुद्धिमान र धनी पनि हुन्छन् ।

बिहान चाँडै उठ्ने टारगेट सेट गर्नु कुनै फाइदाको काम होइन भनेर स्पष्ट हुनुहोस् । तपाईंलाई अलि बेर सुत्न मन लागेको छ भने सुत्नुहोस् ।

अक्सफोर्ड युनिभर्सिटीकी वैज्ञानिक क्याथरिन वुल्फका अनुसार हरेक व्यक्तिको शरीरभित्र प्राकृतिक घडी हुन्छ । उनीहरु सुत्ने उठ्ने तालिका त्यही हिसाबले चल्छ । यसलाई सिर्काडियन क्लक भनिन्छ । यसै घडीको हिसाबले हाम्रो शरीरलाई सुत्ने–उठ्ने मन हुन्छ ।

Photo: GETTY IMAGES

जबर्जस्ती बिहान उठ्नुका हानीः

यदि कसैलाई जबर्जस्ती उसको बडी क्लकविरुद्ध सबेरै उठ्न र अबेर रातीसम्म जागा हुन भनिएको खण्डमा यसको असर नकारात्मक नै हुन्छ । शरीरसँग जबर्जस्ती गर्नु कुनै पनि हालतमा फाइदाजनक हुँदैन । क्याथरिन मानिसहरुलाई आफ्नो सिर्काडिय क्लक अर्थात् शरीरको जैविक घडीको हिसाबले चल्न दिँदा उनीहरुको क्षमतामा वृद्धि हुने बताउँछिन् ।

अबेर रातीसम्म जागा हुने व्यक्तिलाई बिहान चाँडै उठ्न बाध्य बनाउनुहुन्छ भने ऊ पक्कै पनि अल्छी नै हुनेछ । काममा उसको कमै मन लाग्नेछ । उसले दिमागको पनि राम्रोसँग उपयोग गर्न सक्दैन । उसको तौल बढ्नसक्छ । स्वास्थ्य खराब हुनसक्छ ।

क्याथरिन वुल्फका अनुसार बिहान चाँडै उठ्ने र अबेर रातीसम्म जागा बस्ने बानी मानिसहरुले आफ्नो आमा–बुवाबाट अनुसरण गर्छन् । यो हाम्रो डिएनएमा नै हुन्छ ।

तर उमेरसँगै हाम्रो यो बानीमा परिवर्तन पनि आउन सक्छ । बच्चाहरु धेरैजसो बिहानै उठ्छन् । २० वर्षपछि अबेरसम्म जागा हुने बानी लाग्न सक्छ । पचास वर्ष पुग्दासम्म यो बानी पुनः बिहान चाँडै उठनेमा परिवर्तन हुनथाल्छ ।

Photo: GETTY IMAGES

रातभरी जागा बस्ने पनि हुन्छन् सफलः

हरेक सफल व्यक्ति बिहानै उठ्छन् भन्ने छैन । बक्स कम्पनीका सिइओ आरोन लेवी, बजफिडका सिइओ जोनाह पेरेटी, आयरल्याण्डका उपन्यासकार जेम्स जोयस, अमेरिकी लेखिका गट्रूडे स्टेन, फ्रेन्च उपन्यासकार गुस्ताव फ्लोबर्ट, यी सबै अबेरसम्म सुत्ने गर्थे र रातभरी जागा बस्थे ।

अहिलेसम्म कुनै पनि अनुसन्धानले बिहान चाँडै उठ्ने मानिस जीवनमा सफल भएरै छोड्छन् भनेर पुष्टि गरेको छैन । तपाईंको शरीरको हर्मोन धेरैजसो तपाईंको बडी क्लकको हिसाबले रिलिज हुन्छ । बानी परिवर्तन गर्दा हर्मोनको तालमेल बिग्रन सक्छ किनभने राती अबेरसम्म जागा हुने मानिस बिहान चाँडै उठ्दा उसको शरीरले यहि सोच्छ कि ऊ सुतिरहेको छ । उसको हर्मोन अबेर गरी रिलिज हुनेछन् । यसले स्वास्थ्यमा नकारात्मक असर पर्नसक्छ ।

तर धेरैजसो देशमा अबेरसम्म सुत्नेहरुलाई अल्छी, कामचोर भनिन्छ । त्यसकारण धेरैजसो मानिसहरु बाध्यतामै भएपनि बिहान चाँडै उठ्ने कोसिस गर्छन् ।

हो, बिहान चाँडै उठ्नुका फाइदा धेरै छन् । तपाईंले प्राकृतिक प्रकाश पाउनुहुन्छ । सूर्यको प्रकाशमा बस्दा तपाईंको शरीरले भिटामिन डीको भरपुर खुराक पाउँछ । तपाईं केही काम चाँडै सिद्धाउन सक्नुहुन्छ ।

तर यदि तपाईंलाई अबेरसम्म सुत्न मज्जा लाग्छ भने ब्ल्याङ्केट तान्नुहोस् र आरामले सुत्नुहोस् ।

एक उत्तर छोड्न