केशव स्थापितसँगको ‘लफडा’पछि मुख्यमन्त्री पौडेल एकाएक काठमाडौं !

0
327

काठमाडौं–
मिति– २०७५/७/१४ गते ।

स्थान –प्रदेश ३ मुख्य मन्त्रीको कार्यालय, हेटौडा

समय – दिउँसो ५ बजे ।

बुधबार प्रदेश ३ को मन्त्रिपरिषद् बैठक ४ बजेलाई राखिएको थियो । निर्धारित समयमै मन्त्रिपरिषद् बैठक सुरु भयो ।

बैठकका एजेण्डामा छलफल र निर्णय गर्दा करिब ५ बजिसकेको थियो ।  बैठक सकिएपछि मन्त्री र मुख्यमन्त्री उठ्नै लाग्दा अचानक बैठक स्थलमा एकजना मन्त्री उठेर बोल्न थाले ।

‘एक छिन, एकछिन । म सबैलाई एक छिन बस्न आग्रह गर्छु । मेरा केही कुरा राख्नुछ’ एकाएक क्याबिनेट मन्त्रीले त्यस्तो आग्रह गरेपछि मुख्यमन्त्री लगायत मन्त्रीहरु उठिसकेपनि उनीहरु फेरि बस्न बाध्य भएका थिए ।

मन्त्रिपरिषदका केही कर्मचारीहरु पनि बैठक सकिएपछि मन्त्रीले सबैलाई बस्न आग्रह गरेको देखेर छक्क परेका थिए ।

जसले बैठकस्थलको वातावरण नै फेरिइसकेको थियो ।

एकछिन बस्न आग्रह गर्ने ती मन्त्री बोल्न रोकिएका थिएनन् । उनको प्रस्तुति, शैली र शब्दहरुलाई अन्य मन्त्रीले असभ्य र अराजक  मानिरहेका थिए ।

एकोहोर उनी १७ मिनेट जति बोलिरहे, अरु सुनिरहे । उनी भन्दै थिए ‘मैले पनि जानेको छु, म पनि राजनीति गरेरै यहाँसम्म आएको हुँ, मलाई के गर्न सक्नुहुन्छ गर्नुस् ।’ टेबल थटाउँदै उनी अरु कड्किए । भने, ‘कसले के गर्न सक्दो रहेछ हेरौँ, म पनि कम छैन ।’

यसरी मुख्यमन्त्री पौडेललाई गालीगलोज गर्ने अरु कोही नभएर उनकै मन्त्रिपरिषदका महत्वपूर्ण मन्त्रालय सम्हालेका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित थिए । जसले यति तल्लोस्तरमा उत्रिएर गाली गरेको कसैले पनि नरुचाउनु स्वभाविक थियो ।

‘स्थापितको गाली र असभ्य प्रस्तुति मुख्यमन्त्री डोरमणि पौडेलप्रति लक्षित थियो । तर, पनि मुख्यमन्त्री पौडेल लगायत कसैले उनको त्यसबेला प्रतिपाद गरेनन् । उनी आफै बोल्न छाडे, त्यसपछि सबै सदस्य उठेर आ–आफ्नो गन्तव्यतर्फ लागे’ प्रदेश ३ का एक मन्त्रीले रातोपाटीलाई बताए ।

किन यस्तो प्रस्तुति ?
सम्पर्कमा आएका ती मन्त्रीका अनुसार स्थापितले सम्हालेको मन्त्रालय महत्वपूर्ण र बजेट समेत धेरै भएको मन्त्रालय हो ।

जसले समग्र प्रदेशको विकास निर्माण गर्ने जिम्मेवारी पाएको छ । तर, प्रदेश ३ मा यो मन्त्रालयले प्रदेश सरकार गठन भएदेखि अहिलेसम्म प्रभावकारी कुनै एक काम नगरेको गुनासो बढ्दै गएको थियो ।

‘यहि विषयमा बुधबार विहान (क्याविनेट बैठक अघि) मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितबीच झण्डै एक घण्टा छलफल समेत भएको थियो’ अर्का एक मन्त्रीले मुख्यमन्त्री र मनत्री स्थापितबीच भएको छलफललाई उदृत गर्दै भने, ‘त्यो छलफलमा दुबैबीच अब मिलेर काम गर्दै जाने सहमति समेत भएको थियो तर, एकाएक बैठकपछि माहोल बिग्रियो ।’

मन्त्री पद धरापमा
घटनापछि आफूलाई अभद्र व्यवहार गर्ने मन्त्री स्थापितलाई हटाउने मनस्थितिमा मुख्यमन्त्री पौडेल पुगेका छन् ।  त्यही निष्कर्षसहित मुख्यमन्त्री पौडेल बिहीबार हेटौडामा आयोजित पूर्वनिधारित कार्यक्रम छोट्याएर काठमाडाैं आइसकेका छन् । ‘घटनाबारे मुख्यमन्त्रीज्यूले प्रधानमन्त्री र पार्टी नेतासँग कुरा गर्नेगरी काठमाडौँ जानुभएको छ । उहाँले कि आफू नरहने कि स्थापितलाई हटाउने दुई विकल्प बोकेको हुनुपर्छ’ एक मन्त्रीले भने, ‘दुई विकल्पमध्ये सायद स्थापितको पद नै जानसक्छ ।’

संविधानको धारा १६९ अनुसार मुख्यमन्त्रीले मन्त्रीलाई पदमुक्त गर्न सक्ने अधिकार छ ।
स्थापित भन्छन् ‘मेरो स्वरै ठूलो’ 
यस विषयमा मन्त्री स्थापितले मुख्यमन्त्रीसँग ‘सामान्य भनाभन’ भएको संक्षिप्त प्रतिक्रिया दिए ।

मुख्यमन्त्रीसँग सामान्य भनाभनमात्रै भएको र आफ्नो ठूलो स्वर भएकै कारण गलत सन्देश गएको उनको दाबी थियो ।

 

एक उत्तर छोड्न