‘ख्याल गरे मधुमेह सामान्य रोग हो’ तर बेवास्ता गरे आँखा, मिर्गाैला, मुटु र खुट्टाजस्ता महत्त्वपूर्ण अङ्ग गुमाइन्छ

0
53

काठमाडौँ  एक तथ्याङ्कका अनुसार नेपालको कूल जनसङ्ख्याको ४ प्रतिशत नागरिक मधुमेह रोगको शिकार भएका छन् । त्यसमध्ये पनि निकै कम सङ्ख्या मात्रै चिकित्सकको सम्पर्कमा आउने गरेको पाइन्छ । मधुमेहकै कारण शरीरको महत्त्वपूर्ण अङ्ग मुटु, मिर्गाैला, आँखा, खुट्टा र नशामा विभिन्न किसिमका समस्याहरु बोकेर अन्तिम अवस्थामा मात्रै धेरै अस्पताल आउने गरेका छन् । नसर्ने रोगको समूहमा पर्ने मधुमेह अर्थात् चिनी रोग नियन्त्रणका लागि सरकारलाई पनि चुनौती थपिँदै छ । केही समयअघिसम्म सर्ने रोगबाट आक्रान्त नेपालमा अहिले रोगबाट निधन हुने सङ्ख्याको ६० प्रतिशत नसर्ने रोगकै कारण हुने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले केही समयअघि सार्वजनिक गरेको तथ्याङ्कले बताउँछ । यसमा मधुमेहलाई पनि एक प्रमुख कारण हो ।

मधुमेहको समयमा उपचार गर्ने हो भने यो ठूलो रोग होइन । यो रोग लागेका मानिसले पनि सामान्य जीवन जिउन सक्छन् । तर मधुमेहलाई बेवास्ता गरियो भने विस्तारै विस्तारै शरीरका महत्त्वपूर्ण अङ्गहरुमा समस्या देखिँदै जान्छन् । त्यही भएर यो वर्ष परिवारलाई मधुमेहको बारेमा जानकारी दिनुपर्ने भन्दै ‘परिवार र मधुमेह’ नाराका साथ मधुमेह दिवस मनाइँदै छ ।

यही सन्दर्भमा हामीले मधुमेह कस्तो रोग हो ? नेपालमा मधुमेह रोगीको अवस्था, उपचार, रोकथाम र मधुमेह बिरामीले ध्यान दिनुपर्ने कुराहरु लगायतका विषयमा वीर अस्पतालका मधुमेह रोग विशेषज्ञ डा. दीपक मल्लसँग कुराकानी गरेका छौँ ।

नेपालमा पछिल्लो समय मधुमेह अथवा चिनी रोग (डाइबिटिज) का बिरामीहरु बढ्दै गइरहेका छन् । मधुमेह वास्तावमा कस्तो रोग हो ?

मधुमेह भनेको शरीरमा सुगरको मात्रा बढी हुनु हो । हाम्रो शरीरलाई चिनी चाहिन्छ । चिनीबिना मान्छे बाँच्न सक्दैन । चिनीबाट कार्बाेहाइड्रेड र इनर्जी पाउने हो । तर त्यो चिनीको मात्रा शरीरमा धेरै भयो भने चिनी रोग अथवा मधुमेह हुने हो । शरीरमा प्याङ्क्रियाज भन्ने ग्रन्थीबाट इन्सुलिन भन्ने तत्त्व निस्कन्छ । यसले शरीरमा चिनीको मात्रालाई सन्तुलित बनाउने काम गर्छ । उक्त ग्रन्थीले इन्सुलिन बनाउँदै बनाए भने त्यसलाई हामी ‘टाइप वान मधुमेह’ भन्छौँ । इन्सुलिन छ तर पर्याप्त मात्रामा उत्पादन गरेन अथवा शरीरले भएको इन्सुलिनलाई राम्रोसँग युटिलाइज गर्न पाएन भने त्यो अवस्थालाई ‘टाइप टु’ मधुमेह भन्छौँ ।

गर्भवती अवस्थामा पनि पहिला मधुमेह नभएको र गर्भवती भएको २४ हप्तादेखि २८ हप्ताको बीचमा रगत परीक्षण गर्दा मधुमेह देखियो भने त्यसलाई गर्भवती अवस्थामा देखिने मधुमेह भनिन्छ ।

गर्भवती समयमा मधुमेह भएको खण्डमा आमा, शिशु दुवैमा समस्या आउँछ । शिशु जन्मेपछि पनि भविष्यमा आमा र शिशु दुवैलाई मधुमेह हुने सम्भावना हुन्छ । त्यसैले ‘टाइप वान’ र ‘टाइप टु’ अनि गर्भवती अवस्थामा देखिने मधुमेह प्रमुख हो ।

त्यसबाहेक पनि अन्य विभिन्न किसिमका जस्तै ‘टाइप वान’ मधुमेह पनि स्टेज १, स्टेज २, स्टेज ३ पनि हुन्छन् । हामीले जान्नुपर्ने भनेको मुख्यतया यो माथि उल्लेख गरेको ३ किमिसका मधुमेह हो ।

मधुमेहको कुन अवस्थालाई सामान्य मानिन्छ ?

फास्टिङमा १२० भन्दा कम । पीपी १८० भन्दा कम भएको मधुमेहलाई सामान्य मानिन्छ । बेलुका ७ बजे खाना खाएको अवस्थामा भोलि बिहान ९ देखि ११ बजे परीक्षण गरेको सुगर खासै मिल्दैन । त्यो समयसम्म तपाईंको शरीरले केही पनि खाना पाएन भने आफै सुगर बनाउँछ । त्यस्तो अवस्थामा सुगर परीक्षण गर्दा फल्स पोजेटिम रिजल्ट आउनसक्छ । ८ घण्टासम्म केही खाइएन भने त्यसलाई फास्टिङ भनिन्छ । बिहान परीक्षण गरेको मधुमेह फास्टिङको समयमा पर्छ ।

‘टाइप वान’ मधुमेह छ भने त्यसको उपचार विधि इन्सुलिन नै हो । इन्सुलिनबाहेक अरू उपाए छैन । ‘टाइप टु’ मधुमेहमा पनि दुई तीनवटा औषधि चलाउँदा मधुमेह नियन्त्रित नभएको अवस्थामा सक्दो छिटो इन्सुलिन प्रयोग गर्नुपर्छ । इन्सुलिन तपाईंको शरीरले उत्पादन गर्न सकेन भने विकल्प इन्सुलिन नै हो । अरू औषधि दिँदा पनि इन्सुलिनको उत्पादन बढाउने हो तर हामीले बाहिरबाट इन्सुलिन पाउनु सबैभन्दा राम्रो उपचार त्यो हो ।

हामी नेपालीमा अन्तिम अवस्थामा मात्रै इन्सुलिन प्रयोग गरिन्छ भन्ने बुझाइ छ । तर त्यस्तो होइन, सुरुमै जति सक्दो छिटो इन्सुलिन चलाउन सकियो, त्यति नै महत्त्वपूर्ण अङ्गहरु जोगाउन सकिन्छ । त्यसैले इन्सुलिन, औषधिको विषयमा बिरामीले राम्रोसँग बुझ्नुपर्छ ।

तर हाम्रो नेपालमा बिरामी हतारमा आउने हतारमा जाने चलन छ । तपाईंले आफ्नो चिकित्सकसँग २० मिनेट राम्रोसँग कुरा गर्न पाउनुपर्छ । २० मिनेट नै नलाग्ला ५ मिनेटमा पनि सबै कुरा टुङ्गिन सक्ला तर आफ्नो रोग उपचार, ध्यान दिनुपर्ने कुराको बारेमा भने स्पष्ट रूपमा बुझ्नुपर्छ ।

अस्पतालमा आउँदा बिरामी मात्रै आउने भन्दा पनि सँगै परिवारका अन्य सदस्य पनि ल्याउनु राम्रो हुन्छ । तपाईंको रोगको बारेमा परिवारलाई थाहा हुनुपर्छ । आफ्नो स्वास्थ्य अवस्था के छ भनेर महत्त्वपूर्ण अङ्गको अनिवार्य जाँच गर्नु नै पर्छ ।

नेपालमा मधुमेहको अवस्था कस्तो छ ?

अहिले नेपालमा मधुमेह रोगको बारेमा अनुसन्धान भएको छैन । तर एउटा अन्तर्राष्ट्रिय डाइबिटिज फेडरेसनले हरेक वर्ष तथ्याङ्क निकाल्दा सन् २०१७ र २०१८ मा हाम्रो ४ प्रतिशत जनसङ्ख्यामा मधुमेह देखाएको थियो । सन् २०१६ मा यो ३.३ प्रतिशत मात्रै थियो ।

यो तथ्याङ्कले पनि मधुमेह रोथीको सङ्ख्या बढ्ने क्रममा रहेको देखाउँछ । हामीले आफ्नो अभ्यासमा पनि पहिलाको भन्दा अहिले धेरै नै अन्तर पाइरहेका छौँ । हरेक वर्ष मधुमेह बिरामीको सङ्ख्या एकदमै बढ्दो छ ।

मधुमेह भएका बिरामी सामान्यतया कुन अवस्थामा अस्पताल आइपुग्छन् ?

सुरुकै अवस्थामा बिरामी अस्पताल आउँदैनन् । परिवारमा मेरो बाआमालाई सुगर छ, मेरो पनि हेर्दिनुहोस् भनेर आउने निकै कम छन् । सामान्य सुगर भनेको फास्टिङमा १२० भन्दा कम, पीपी १८० भन्दा कम भएको हो । तर हामी कहाँ आउने बिरामीहरु ३००–४०० नै भएपछि मात्र आउनुहुन्छ ।

नेपालको ४ प्रतिशत जनसङ्ख्यामा मधुमेह छ त भन्यौँ तर आधा त अस्पताल आएका छैनन् । नागरिकलाई मधुमेह लागेपछि अथवा लाग्नुभन्दा पहिला के गर्ने भन्ने कुराको बारेमा जानकारी भए मात्रै अस्पताल आउने हो । तर आधा जनसङ्ख्यालाई मधुमेह भनेको के हो भन्ने कुरा नै थाहा छैन ।

आफूलाई मधुमेह लागेको छ कि छैन भनेर नागरिकले कसरी थाहा पाउने ?

पिसाब धेरै लाग्नु (पोलियुरिया), पानी तिर्खा धेरै लाग्नु (पोलिडिप्सिया) र धेरै भोक लाग्नु (पोलिफ्यागिया) मधुमेहका ३ वटा प्रमुख लक्षण हुन् । जसलाई अङ्ग्रेजीमा ‘थ्री पी’ भनिन्छ ।

हाम्रो नेपालको अवस्थाको कुरा गर्ने हो भने पहाडी क्षेत्रका नागरिकलाई अस्पताल आउन जान कठिन छ । सहरमा भएका बिरामीहरु मात्र लक्षण देखिएपछि अस्पताल आउनुहुन्छ । अधिकांश भने आँखाको ज्योति गुमाएपछि, मिर्गाैला खराब भएपछि, खुट्टाको नसा सुकिसकेपछि र खुट्टामा घाउ भएपछि मात्र बल्ल अस्पताल आउनुहुन्छ ।

मधुमेहको लक्षण यो नै हुन्छ भन्ने चाहिँ हुँदैन । महत्त्वपूर्ण कुरा भनेको आफ्नो परिवारमा कसैलाई मधुमेह भएको छ भने अन्य सदस्यले मलाई पनि यो रोग लाग्न सक्छ है भन्ने सचेत हुनुपर्छ । लाग्छ नै भन्ने कुरा पनि होइन तर दुई तीन जनामध्ये एक जानमा यो रोग लाग्न सक्छ ।

त्यसैले कसैको परिवारमा मधुमेहको बिरामी छ भने आफू पनि सचेत भएर समय समयमा स्वास्थ्य परीक्षण गर्नु नै उत्तम उपाय हो । ४०–४५ वर्ष लागेपछि मधुमेहको परीक्षण गर्नुपर्छ । जो मोटो छ, उचाइ अनुसारको तौल धेरै छ, बडी मास इन्डेक्स (बीएमआई) ३० भन्दा पनि धेरै भयो, रक्तचाप, क्लेस्ट्रोल छ भने त्यस्ता व्यक्तिले ३०–३५ वर्षको उमेरमा पनि मधुमेहको परीक्षण गर्नुपर्छ ।

मधुमेह लाग्नुको मुख्य कारणहरु के–के हुन् ?

मधुेमह ‘टाइप वान’ र ‘टाइप टु’ हुन्छन् । ‘टाइप वान’मा इन्सुलिन नै बन्दैन शरीरमा । ‘टाइप टु’ मधुमेह मोटोपन, खानपिन राम्रो भएन, इन्सुलिन छ तर कम मात्रामा उत्पादन भयो अथवा इन्सुलिन उत्पादन हुँदा पनि तपाईंको शरीरले प्रयोग गर्न सकेन भने त्यसलाई ‘टाइप टु’ मधुमेह भनिन्छ ।

अव्यवस्थित खानापान, चिल्लो तारेको खानेकुरा धेरै खाने व्यक्तिलाई मधुमेह रोग लाग्न सक्छ । मिसावट र फास्टफुडले पनि समस्या ल्याउँछ । तपाईंलाई भोक लागेको बेलामा कुनै पनि ठाउँमा गएर खानेकुरा खानु हुन्छ । त्यस्तो किमिसको खानेकुराहरुमा क्लेस्ट्रोरको मात्रा बढी हुन्छ । कहिले पकाएको, कहाँबाट ल्याएको भन्ने कुरा थाहा हुन्न । त्यसैले स्वस्थ्य खानेकुरा खानुपर्छ । मधुमेहको उपचार भनेको सबैभन्दा पहिलो कुरा मानसिक तनाव कम गर्ने र खानापानमा ध्यान दिने हो । अनि मात्रा बल्ल औषधिमा आउने हो ।

नेपालीहरुमा मधुमेह अहिले युवा उमेरमा पनि देखापर्न थालेको छ । विशेषगरी विदेशबाट फर्केर आउने धेरैलाई देखापर्न थालेको छ । विदेश जानुभन्दा पहिला स्वास्थ्य परीक्षण गर्दा अवस्था राम्रो भए पनि पछि समस्या आउने पाइएको छ । विदेशबाट आउनेहरुमा जोखिम पनि धेरै छ । विदेशबाट आउनेमा धेरै जना मिर्गाैला फेल भएका, महत्त्वपूर्ण अङ्गमा समस्या देखिएका व्यक्तिहरु हुन्छन् ।

मधुमेह लागेपछि स्वास्थ्यमा थप कस्ता खालका समस्याहरु आउँछन् ?

मधुमेह रोग लागेको बिरामीमा आउने समस्या भनेको आँखा, मुटु, मिर्गाैला, खुट्टा र नसा जस्ता यी ५ अङ्गमा हो । टाइप वान मधुमेहले यो रोग लागेको ५–१० वर्ष पछाडि यस्ता समस्याहरु ल्याउन सक्छ भने टाइप टु मधुमेहले भने सुरुमा पनि यस्ता समस्याहरु ल्याउन सक्छ ।

हामीले बिरामीको मधुमेह मात्रै नियन्त्रण गरेर हुँदैन मसँग बिरामी १० वर्षपछि आउँदा पनि उसको आँखा, मिर्गाैला राम्रो हुनुपर्यो र ऊ आफ्नै खुट्टाले टेकेर आउन सक्नुपर्यो । अस्पतालमा आउँदा अन्धो भएर, मिर्गाैला नै फेरेर आउने अथवा खुट्टै काट्नुपर्ने अवस्थामा आउनुभयो भने कि चिकित्सकले राम्रोसँग उपचार गरेन कि त बिरामी आफैले आफ्नो स्वास्थ्यको बारेमा ध्यान दिएन भन्ने कुरा बुझ्नु पर्छ ।

मधुमेह लाग्न नदिने के गर्ने र लागेको व्यक्तिले ध्यान दिनुपर्ने कुरा के–के हुन् ?

मधुमेह लागेका बिरामीका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको नियमअनुसार खानपान, सुत्ने हिँड्ने गर्नुपर्छ । मानसिक तनाव एकदमै कम गर्नुपर्छ । तपार्इं निदाएर मात्रै हुँर्दैन सुत्नु नै पर्छ । निदाउनु भएको छ तर धेरै तनाव लिएर सुत्नुभयो भने अरू हर्माेनको कारणले गर्दा सुगर बिहान उठ्दा उच्च हुन सक्छ । समय मिल्छ भने आफ्नो परिवारसँग रमाइलो गर्ने, घुम्न जाने, गीत सुन्ने, नाच्ने गर्ने हो भने शरीरका लागि व्यायम पनि भयो भने मानसिक तनाव पनि कम हुन्छ ।

दोस्रो कुरा चिकित्सकले दिएको औषधि तोकिएको समयमा नियमित खानुपर्यो । दुई पटक खाने औषधि छ एक पटक मात्रै खानु भयो भने काम गर्दैन । मधुमेहको औषधि धेरै छन् । कोही खाना अगाडि कोही, खाना पछाडि खाने छ भने कोही औषधि खानाको पहिलो गाँसमै त कोही खानाको बीचमा खानुपर्ने छ ।

चिकित्सकले मात्रै लेखेर भएन बिरामीले पनि राम्रोसँग आफ्नो औषधिको बारेमा बुझ्नुपर्छ । बिरामीले कुन औषधि कतिखेर र कसरी खाने भन्ने बारेमा लेखेर राख्नु पर्छ । चिकित्सकसँग खासै नबुझ्ने अनि औषधि लिएर घर गएपछि औषधि कसरी खाने भन्ने बारेमा पनि अन्यौल हुने गरेका छन् । अनि आफ्नै गाउँमा गएर अन्य मधुमेह रोगीहरुलाई सोध्ने चलन पनि छ । खाना अघि खानुपर्ने औषधि मैले त खानापछि खाएको छु भन्ने जवाफ आयो भने त्यसैअनुसार औषधि खाने हो भने त्यो औषधिले राम्रो काम गर्दैन ।

सबै औषधिको फरक फरक बाटो हुन्छ । एउटा बाटोमा जाने औषधि अर्काे बाटोमा गयो भने काम लाग्दैन । मधुमेहको औषधि मुटु, क्यान्सरका लागि काम गरिरहेको हुन्छ भने कतिपय औषधिले मोटोपन घटाइरहेको हुन्छ ।

त्यसैले औषधि रोक्नुभन्दा पनि सानो डोजमा औषधि निरन्तर खाइरहेको राम्रो हो । एकै पटक औषधि बन्द गर्नका लागि बिरामी चिकित्सकको सम्पर्कमा रहिरनु पर्छ । साथै मानसिक तनाव नलिने, समयमा उठ्ने समयमा औषधि र खाने कुरा खाने आफ्नो काम गर्ने होल डेको प्लान बिरामीले बनाउनु पर्छ ।

मधुमेह भएका बिरामीले एकै पटक धेरै खाने होइन । थोरै थोरै धेरै पटक खाने बानी बसाल्नु पर्छ । दिनमा ६ पटक खानु मेरो सुझाव छ । बिहान ६, ९, १२ दिउँसो ३ साँझ ६ र ९ बजे खानेकुरा खान र यसरी आफ्नो दैनिक जीवनलाई परिवर्तन गर्न एकदमै जरुरी छ ।

मधुमेह भन्दैमा बिरामीले ढौडधुप नै गर्नुपर्छ नखाई बस्नु पर्छ भन्ने होइन । बिरामीले अरूले जसरी नै खाने हो । अरूले सबै कुरा खाएको छ, मधुमेह बिरामीले पनि खानुपर्छ तर अरूले जसरी खानु चाहिँ भएन । तर जुन दिन अलि धेरै अथवा एक्स्ट्रा क्यालोरी खाइन्छ त्यो दिन बिरामी एक्स्ट्रा हिँड्नु पर्छ ।

उपचारका क्रममा औषधि नै सबैभन्दा ठूलो कुरा होइन । बिरामीले हिँड्ने, डुल्ने बसिराख्ने काम नगर्ने, ९० मिनेट बस्नु भएको छ भने १५ मिनेट हिँड्ने । दैनिक हिँड्नु पर्छ भन्ने पनि होइन दिनमा ४५ मिनेट हप्तामा ३ दिन हिँड्नु भयो भने पनि मधुमेह औषधिका साथसाथै कम पनि भएर जान्छ ।

मधुमेहका बिरामीले खान नहुने कुराहरु पनि हुन्छन् ?

हाम्रो खानामा कार्बाेहाइड्रेड, प्रोटिन, फ्याट पनि चाहिन्छ । हामीले कम गर्ने भनेको कार्बाेहाइड्रेड मात्रै हो । चामल, रोटी अर्थात अन्नहरु कम गर्नुपर्छ । तर बिरामीलाई यो पनि न खा, त्यो पनि न खा भनेर मानसिक तनाव दिनु हुँदैन । कुनै पनि भोजमा जाँदा खानै पाएन भने मानसिक तनाव हुन्छ । खाने तर धेरै खानु भएन । जस्तै जेरी, स्वाँरी, लड्डु एकै पटक खानु भएन । जुन कुराले सुगर बढाउँछ, ती कुरा कम गर्नुपर्यो नत्र सबै कुरा आफ्नो लेबलमा राखेर खाने हो भने यो न खा त्यो न खा भन्नु हुँदैन जस्तो मलाई लाग्छ ।

मधुमेह नलाग्नका लागि व्यक्ति, परिवार, समाज र सरकार कसको के भूमिका हुनुपर्छ ?

यो वर्षको नारा नै ‘मधुमेह र परिवार’ भनेका छौँ । मधुमेह लाग्यो भन्दैमा डराउनु पर्दैन । बिग्रि नै सकेको छ भने चिकित्सकले पनि केही गर्न सक्दैन तर शरीरको आवश्यक अङ्ग बिग्रिन नदिनका लागि चिकित्सक र बिरामीसँगै परिवारका ठूलो भूमिका हुन्छ । मधुमेह बढ्यो र समस्या आउन २० वर्ष लाग्ला तर औषधि नखाई बस्ने सुगर घट्यो भने मान्छे ढल्न २० मिनेट पनि लाग्दैन ।

 हाम्रो नेपालको परिस्थितिमा कोही मान्छे बाटोमा ढल्यो भने उठाउने मान्छे पनि छैनन् । त्यस्तो बेलामा बिरामीलाई जानकारी हुनुपर्यो कि मैले औषधि खाइराखेको छु । सुगर नर्मल राख्न सक्छ तर एकदम लो चाहिँ राख्नु हुन्न भन्ने कुरा जान्नु पर्छ । विशेषगरी मधुमेह भएका बुढेसकाल लागेका व्यक्तिहरुले खाना कम खाने सँगै औषधि पनि प्रयोग गर्ने अनि इन्सुलिन पनि हालिराखेको छ भने त्यस्तो बेलामा समस्या देखिन्छ ।

मधुमेहको बिरामीले बिहान केहीँ खाएर मात्रै मर्निङवाक गर्नुपर्छ । त्यसैले वर्षमा एक पटक आँखा, मिर्गाैला, मुटु, नसासम्बन्धीका चिकित्सकलाई भेट्नुपर्छ । मधुमेह नियन्त्रण गर्ने हाम्रो उद्देश्य होइन । बिरामीको आँखा, मिर्गाैला, मुटु, नसा र खुट्टा जोगाउन हामी लाग्नु पर्छ ।

सरकारका तर्फबाट मधुमेह दिवसको दिन मात्रै कार्यक्रम गर्ने होइन, बाटोमा हिँड्ने जनतालाई पनि मधुमेहको जानकारीमूलक पम्प्लेटहरु बाँढ्नु पर्यो । विभिन्न सञ्चार माध्ययममा यस्ता सन्देश प्रवाह गर्नुपर्यो । अहिले इन्टरनेटको समयमा मधुमेहको सबै कुराहरु हेर्न पाइन्छ । मलाई मधुमेह हुन सक्छ कि सक्दैन भन्ने सफ्टवयरहरु पनि छन्, यसबाट पनि जानकारी लिन सकिन्छ ।

 उपचारका लागि काठमाडौँ नै आउनु पर्छ भन्ने छैन, इन्टर्नल मेडिसिनमा एमडी गरेका सबै चिकित्सकहरुले मधुमेहका बारेमा हेर्न मिल्छ र सबैले हेरेर मधुमेहलाई नियन्त्रणमा राख्नुपर्छ ।

एक उत्तर छोड्न