गुणस्तरहीन दूध बेचे जेल

0
152

गुणस्तरहीन दूध बेचे जेल

 मानव स्वास्थ्यमा गम्भीर असर पार्ने गरी न्यून गुणस्तरको दूध बेचे पाँच वर्ष जेल सजाय र ५० हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ। सरकारले दूध उत्पादक तथा बिक्रेतालाई जवाफदेही बनाउँदै उपभोक्तालाई स्वच्छ र स्वस्थ्य दूध उपलब्ध गराउने ध्येयले दूध मापदण्ड कार्यान्वनयमा ल्याएको छ। सबैले उपभोग गर्ने दूधको स्वच्छता र गुणस्तर कायम गर्न मापदण्ड तोकिएको हो।

खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले दूधको नयाँ मापदण्ड तयार गर्दै ‘दुग्ध पदार्थमा स्वच्छता एवं गुणस्तरसम्बन्धी निर्देशिका, २०७५’ कार्यान्वनयमा ल्याएको छ। मापदण्ड उल्लंघन गरी दूध बेचे निर्देशिका र खाद्य ऐनअनुसार सजाय हुनेछ।

गुणस्तरहीन र दूषित दूध बिक्री गर्नेलाई पाँच वर्ष कैद र ५० हजार जरिवाना वा दुवै सजाय हुने विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले बताए। निर्देशिकाको मापदण्ड पूरा नगरे खाद्य ऐनअनुसार कारबाही हुनेछ। विभागले पहिलोपटक निर्देशिका ल्याएको हो। ‘निर्देशिका कार्यान्वयनमा आए पनि ६ महिनासम्म अभिमुखीकरण र सचेतनाका लागि समय दिएका छौं,’ कर्णले भने, ‘६ महिनामा पनि सुधार नआए निर्देशिकाअनुसार हदैसम्मको कार्बाही हुन्छ।’ विभागले मुलुकका प्रमुख सहरका दुग्ध डेरीलाई अभिमुखीकरण गर्ने जनाएको छ।

शिशुदेखि वृद्धवृद्धासम्म सबैले उपभोग गर्ने दूधमा मापदण्ड नहुँदा उत्पादक तथा बिक्रेताले जथाभाबी गर्दै आएका थिए। विगतमा दूधमा सोडा, कोलिफर्म भेटिएको थियो। कोलिफर्म मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ। दूध उत्पादनदेखि उपभोक्तासम्म पु-याउन मापदण्ड तोकिएको कर्णले बताए। किसानदेखि बिक्रेतासम्म सबैको दायित्व तोकिएको छ। ‘निर्देशिकाले दूध बजारलाई व्यवस्थित बनाउँदै सबै पक्षलाई जवाफदेही बनाएको छ,’ कर्णले भने, ‘अब उपभोक्ताले गुणस्तरीय दूध उपभोग गर्न पाउनेछन्।’

मापदण्डले दूधमा पानीलगायत अन्य कुनै पनि पदार्थ मिसाउन रोक लगाएको छ। निर्देशिकाले दूध गोठदेखि संकलन र प्रशोधन केन्द्रसम्म पु-याउने समयसीमा र मापदण्ड तोकेको छ। उत्पादित दूध संकलन केन्द्र÷चिस्यान केन्द्र वा प्रशोधन कारखानासम्म दुई घन्टाभित्र पु-याउनु पर्नेछ। संकलन केन्द्रले अल्कोहल, सिबिओ, सुगर, एसिडिटी टेस्टलगायत मिसावटको जाँच गरी स्वच्छ र गुणस्तरीय भएको यकिन भएपछि मात्र किसानबाट दूध किन्नुपर्ने प्रावधान राखिएको छ। बिहान दुहेको दूध बिहानै र बेलुकाको दूध बेलुका नै संकलन गर्ने व्यवस्था मिलाउनुपर्ने छ। ‘संकलन केन्द्रमा दूध ढुवानीका लागि प्रयोग गरिएका भाँडा सफा राख्न पर्याप्त पानीको व्यवस्था गर्नुपर्नेछ,’ निर्देशिकामा लेखिएको छ, ‘उपचारका क्रममा रहेका पशुबाट उत्पादित दूध पशु चिकित्सकको सिफारिसमामात्र संकलन केन्द्रमा पठाउनुपर्ने छ।’

गुणस्तरहीन र दूषित दूध बिक्री गर्नेलाई पाँच वर्ष कैद र ५० हजार जरिवाना वा दुवै सजाय हुने

चिस्यान केन्द्रले दूध कम्तीमा ४ डिग्री सेन्टिग्रेड तापक्रममा चिस्याउनुपर्ने, केन्द्रले दूधको स्रोत, परिमाण, गुणस्तरलगायत विवरणको अभिलेख राख्नुपर्ने, दूध संकलन र डेलिभर गरिएको समयको रेकर्ड राख्नुपर्नेछ। डेरी सञ्चालन गर्न बाटो, बिजुली, पानी र ढल निकासको समुचित व्यवस्था हुनुपर्छ। दूध प्रदूषण नहुने, गन्ध, धूवाँ, धुलो, रसायन तथा जैविक प्रदूषणले असर नपार्ने ठाउँमा राख्नुपर्ने निर्देशिकामा उल्लेख छ।

चिस्यान केन्द्रबाट डेरी पसलमा आएपछि पनि डेरीले पनि गुणस्तरको मापदण्डलाई ध्यान दिनुपर्छ। डेरी पसलले दुग्ध उद्योगबाट उत्पादित लेबल भएका दूध तथा दुग्ध पदार्थमात्र बिक्री वितरण गर्नुपर्नेछ। काँचो वा अप्रशोधित दूधमा हुनुपर्ने चारित्रिक गुणस्तर अनुसार हुनुपर्ने, डेरी पसलले प्रशोधित दूध तथा दुग्ध पदार्थ बिक्रीवितरण गर्दा कोल्ड चेन कायम गरी बिक्री वितरण गर्ने व्यवस्था मिलाउन बाध्यात्मक व्यवस्था कायम गरिएको छ।
उद्योगमा काम गर्ने कामदारको व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्ने, प्रशोधन क्षेत्रमा प्रवेश गर्नुपूर्व साबुनपानीले हात धुने, बुट, एप्रोन, मास्क र हेडनेट लगाएरमात्र प्रवेश गर्ने व्यवस्था मिलाउनुपर्नेपर्छ। दूध भण्डारण कक्षमा ० देखि ४ डिग्री, फ्रोजन भण्डार कक्षमा न्यूनतम १८ डिग्रीसेन्टिग्रेड तापक्रम हुनुपर्छ। दूध तथा दुग्ध पदार्थ प्याकेजिङ कक्ष छुट्टै बनाउनुपर्ने बाध्यात्मक व्यवस्था पनि मापदण्डले गरेको छ।

एक उत्तर छोड्न