ग्रीनल्याण्डमा हिउँ पग्लिने क्रम तीव्र, समुद्र सतह ३ देखि ४ फिट उकासिने खतरा

0
38

अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) को सानो हवाई जहाजबाट करिब ५०० फिटमुनि ठुल्ठूला हिउँका ढिक्का लहराइरहेको दृश्य देख्न सकिन्छ । नीलो–हरियो समुद्रमा सेता हिउँका यी ढिक्का साना थोप्लाजस्ता देखिन्छन्, तर यी ढिक्का युद्धपोतकै आकारका वा केही त १५ तल्ले भवनजत्रा अग्ला छन् । 

ग्रीनल्याण्डका अन्य ग्लेसियर (हिउँनदी) झैं ठूलो कान्गरलुस्सुक क्षेत्र तीव्र गतिमा पग्लिरहेको छ । यथार्थमा, यो विशाल हिउँको पहाड यस वर्ष अहिलेसम्मकै सबैभन्दा बढी पग्लेको हो । नासाका वैज्ञानिक जोस विलिसले हिउँ पग्लाइको घटनाक्रमलाई यसवर्ष नजिकबाट नियालि रहेका छन् । उनको ध्यान मुख्यतः विश्व तापमान वृद्धिले ग्रीनल्याण्डको हिउँ कसरी समाप्त हुँदैछ भन्ने रहस्य थाहा पाउनु हो ।

खासगरी, हिउँ पग्लनुमा तातो हावा वा तातो सामुद्रिक जलप्रवाहमध्ये कसको भूमिका कति छ भनी थाहा पाउने उनको लक्ष्य छ । यसको जवाफले पृथ्वीको भविष्य थाहा पाउन निकै ठूलो मद्दत गर्नेछ ।

सामान्यतया, पानीको प्रवाहले हावाको भन्दा बढी तीव्रताकासाथ तातोपन ल्याउँछ । यदि पानीले बढी नोक्सानी गरेको कुरा प्रमाणित भएमा ‘सोचेभन्दा बढी छिटो गतिमा ग्रीनल्याण्डको हिउँ पग्लिने छ’, विलिस भन्छन् । यसको अर्थ समुद्रको सतह छिटोछिटो माथि उकासिन्छ र तटीय क्षेत्रमा बसोबास गर्नेहरु डुबानमा पर्ने सम्भावना बढी हुन्छ । 

ग्रीनल्याण्डको हिउँ सबै पग्लिए विश्वको समुद्रको सतह झण्डै २० फिट माथि उठ्छ । एक अनुमान अनुसार, यस महिनाको एकै दिन झण्डै १३ अर्ब ७० करोड टन हिउँ पग्लिएको छ । 

‘यो निकै भयानक हो’, हिउँभन्दा बढी पानीले ढाकेको क्षेत्रतर्फ देखाउँदै विलिसले भने । ‘हाम्रासामु हिउँका पत्रहरु हराउँदै गएको यसैबाट पुष्टी हुन्छ ।’

जलवायु परिवर्तनले ग्रीनल्याण्डको हिमशृङ्खलालाई २ किसिमबाट निल्दैछ । भन्नु पर्दैन, सबैभन्दा मुख्य कुरा ग्रीनल्याण्डमाथि बहिरहेको तातो हावा नै हो । यस वर्षको गृष्मकालको तातो हावा निकै कठोर थियो । 

जुलाइमा युरोपमा चलेको तातो हावाले ग्रीनल्याण्डको आकाशमाथि ‘हेयर ड्रायर’ को रुपमा काम गरेको थियो । अर्को भनेको समुद्रको तातो, नुनिलो पानी हो । यो न्यानो उत्तर अमेरिकी गल्फ स्ट्रिम (सामुद्रिक जलप्रवाह) ले ग्रीनल्याण्डको तटीय क्षेत्रलाई न्यानो बनाउँछ, र हिमशृङ्खलालाई मुनिबाट कुटुकुटु काटिरहन्छ । 

जर्जिया विश्वविद्यालयका हिउँ वैज्ञानिक टम मोटले सन् १९९० को दशकको सुरुमा ग्रीनल्याण्डको ग्लेसियरका बारेमा अध्ययन गर्दा धेरैजसो अनुसन्धाताहरुले सामुद्रिक जलप्रवाहले ग्लेसियरलाई त्यति असर गर्ला भन्ने सोचेका थिएनन् । टम मोट अहिलेको अनुसन्धान टोलीमा भने संलग्न छैनन् ।

समुद्रले ग्रीनल्याण्ड पगाल्दैछ  (ओएमजी) नाम दिइएको विलिसको यो परियोजनाले वास्तवमै जल पनि ग्रीनल्याण्ड पगाल्न उत्तिकै जिम्मेवार रहेको देखाएको छ । प्रश्न उब्जिएको छ, कति धेरै र कति चाँडो ?

विलिसको टिमले समुद्रको सतहभन्दा करिब ६६० फिटमुनिको तापक्रम नाप्दैछ । प्रारम्भिक विवरणमा यो जलक्षेत्र निकै न्यानो र नुनिलो भेटिएको छ । यही भित्री जलप्रवाहले ठूलै क्षति गरिरहेको छ । 

जलक्षेत्रको भित्री भाग मापन गर्न नासाले पाँच वर्षदेखि खर्च गरिरहेको छ । यस परियोजनामा दोस्रो विश्वयुद्धका लागि बनाइएको ७७ वर्ष पुरानो डिसी–३ विमान प्रयोग गरिएको छ । विलिस, परियोजना व्यवस्थापक इयान म्याकुबिन र मेकानिक रिच गिलले विमानबाट लामालामा, सिलिन्डरजस्ता अन्वेषण उपकरणहरु जलक्षेत्रमा खसाल्छन् । यी उपकरण अति चिसो पानी छिचोल्दै भित्री भागमा पुग्छन् र विमानमा जडित सेन्सरबाट भित्री भागको अध्ययन गरिन्छ ।

क्याककुबिनले समुद्रको भित्री जलक्षेत्रको तापक्रम र नुनिलोपना आफ्नो कम्प्युटरमा रेकर्ड गर्दछन् । 

एउटा सिलिन्डर उपकरणका लागि करिब दुई हजार अमेरिकी डलर लाग्दछ । ग्रीनल्याण्डको पूर्वी भेगको कान्गरलुस्सुकको अध्ययन गर्दा गएको वर्ष वा दुई वर्षदेखि समुद्रको भित्री जलप्रवाहमा खासै परिवर्तन आएको देखिएन । यो वास्तवमै राम्रो समाचार हुन सक्छ । तर यो एउटा मात्र अध्ययन विन्दु हो । 

विगत चार वर्षदेखि हरेक वर्ष नासाले ग्रीनल्याण्डका सबैजसो ठाउँको अध्ययन गरिरहेको छ । तर प्राप्त विवरणहरु त्यति उत्साहजनक देखिएका छैनन् ।

यदि सामुद्रिक जलप्रवाहले बढी भूमिका खेलेको वैज्ञानिकहरुले निष्कर्ष निकाले भने समुद्र सतह अपेक्षा गरिएभन्दा बढी छिटो उचालिने पक्का छ । किनभने जलवायु परिवर्तनबाट उत्पन्न हुने तापीय ऊर्जाको ९० प्रतिशत समुद्रमै विलिन हुन्छ, विलिसले भने । न्यानो पानीले हावाको भन्दा बढी प्रभाव पर्दछ, र पग्लदै गरेको हिउँलाई यस्तो पानीले छोएमा तत्कालै असर देखिन थाल्छ । 

सामान्यतया, समुद्रको पानी हावाको तुलनामा निकै ढिलो तातिन्छ, तर तातिएको पानी सेलाउन पनि बढी समय लाग्छ । पानीले ग्लेसियरलाई कमजोर बनाउँछ र हिउँका ढिक्काहरुलाई फुट्न मद्दत गर्दछ । यी हिउँका ढिक्काहरु अन्ततः पग्लिएर समुद्रमा मिसिन्छन् । ‘कतिपय हिउँका ढिक्काहरु त कुनै शहरजत्रा पनि छन्’ विलिसले भने ।

सन् २०१९ मा डेनिस जलवायु वैज्ञानिक रुथ मोटरामले ग्रीनल्याण्डका २८ वटा ग्लेसियरको अध्ययन गरेका थिए । उनको अध्ययनमा यी सबैजसो ग्लेसियर पग्लिरहेको देखिएको थियो । एक वा दुई वटा मात्र स्थिर देखिएका थिए । ‘एउटा मात्र ग्लेसियरमा समस्या देखिएको होइन, सबै २८ वटैमा समस्या देखिँदा सबैलाई चिन्तित बनाउनु स्वाभाविकै हो’ मोटरामले भने । 

सन् २०१७ मा गरिएको तटीय ग्लेसियर र हिउँको अवस्थिति सम्बन्धी अध्ययनले पनि सन् १९९७ मा निकै हिउँ पग्लिएको देखाएको छ । त्यसयता निकै तीव्र गतिमा हिउँ पग्लिनेक्रम जारी रहेको छ, र विलिसको अध्ययनले पनि त्यस्तै संकेत गरेको छ । नासाको भूउपग्रह तस्विरले पनि सन् २००३ देखि २०१६ को अवधिमा बर्सेनि करिब २५५ अर्ब मेट्रिक टन हिउँ पग्लिएको देखाएको छ, र हिउँ पग्लने दर निकै भयानक छ । 

तैपनि ग्रीनल्याण्डको सम्पूर्ण हिउँ पग्लन सयौं वर्ष लाग्नेछ, तर कति चाँडो पग्लेला भन्ने मुख्य प्रश्न हो । वैज्ञानिकहरुले अनुमान गरेभन्दा न्यानो पानीले बढी भूमिका निर्वाह गरे सन् २१०० को अन्त्यसम्ममा ग्रीनल्याण्डको हिउँले मात्र पनि समुद्रको सतह ३ वा ४ फिट माथि उकासिने छ, विलिसले भने ।

अरु वैज्ञानिकहरु, जस्तै कोलोराडो विश्वविद्यालयका टेड स्काम्बोसको भनाइमा ग्रीनल्याण्डका कारण सन् २१०० सम्ममा समुद्रको सतह १ फिटजति मात्र बढ्नेछ । तैपनि यसले निकै बढी क्षेत्रलाई नोक्सान गर्नेछ । 

एक उत्तर छोड्न