चीनलार्इ फिलिपिन्सको धम्की

0
100

थिटु । फिलिपिन्सका राष्ट्रपनि रोड्रिगो ड्रयुटले चीनलाई तत्कालै पछि नहटे आफ्नो सेनालाई ‘सुसाइड मिसन’ मा पठाउने धम्की दिएका छन् । पछिल्लो समय दक्षिण चिनियाँ सागर स्थित फिलिपिन्सले दाबी गर्दै आएको विवादित टापु नजिक चीनको चहलपहल बढेपछि फिलिपिन्स सरकारले यसअघि पनि आक्रोश व्यक्त गरेको थियो ।

फिलिपिन्सका अनुसार थिटु टापुनजिकै हाल २७५ भन्दा धेरै चिनियाँ जहाजहरू देखा परिरहेका छन् । रोड्रिगोले सिएनएनसँग कुरा गर्दै भनेका छन्, ‘हो हामी साथी बनौँ तर हाम्रो क्षेत्रका टापुहरूबाट चाहिँ टाढै बस । किनकी तिमीहरू त्यहाँ कुनै शंकास्पद गतिविधि सुरु गरे कथाले भिन्दै रूप लिनेछ । म तुरुन्तै मेरा सेनाहरूलाई सुसाइड मिसनका लागि तयारी गर्न आदेश दिनेछु ।’

उनले आफ्ना वचन धम्की भन्दा पनि आफ्नो मित्रका निम्ति सुझाव भएको बताएका हुन् । उनले भने, ‘म बिन्ती गर्ने वा भिख माग्ने छैन । तर मैले अहिले नै भनिरहेको छु त्यहाँबाट टाढा बस किनकि मेरा सेनाहरू पनि त्यहीँ छन् ।’ सीएनएनले यसबारे थप प्रतिक्रियाको लागि फिलिपिन्सको सरकारसँग सम्पर्क गरेको हो । जसपछि थिटुमा फिलिपिन्सका १०० सेना रहेको पत्ता लागेको हो ।

२०१९ को सुरुवातदेखि नै दक्षिण चिनियाँ सुमद्रका विवादित क्षेत्रमा तनाव बढ्दै गइरहेको छ । यसरी फिलिपिन्सको प्रमुख टापुबाट केबल ५सय किलोमिटर टाढा रहेको थिटुलाई चीनले पनि आफ्नो दाबी गर्ने गरेको छ । यस्तोमा चिनियाँ जहाजहरू नियमित सो क्षेत्र वरपर देखा परिरहेपछि फिलिपिन्सले चीनको उपस्थितिलाई अवैध बताउँदै स्पष्ट रूपमा फिलिपिन्सको सार्मभौमिकताको उल्लंघन गरिएको ठहर गरेको छ । यसमा माछा मार्ने जहाजदेखि लडाकू जहाज र सुरक्षा जहाजहरू रहेको बताइएको छ ।

बुधबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्तालाई फलिपिन्ससँगको विवादका बारेमा प्रश्न गर्दा भने उनले दुवै देशका प्रतिनिधिबीच गम्भीर वार्ता हुने बताएका हुन् । उनले भने, ‘मेरो विश्वासमा छलफल मार्फत दुवै पक्षबीच सहमति नै तपाईँको प्रश्नको सबैभन्दा उचित जवाफ हुनेछ ।’

यसरी चीनले दक्षिण चिनियाँ सागरमा आफ्नो बलियो नियन्त्रण बनाइराख्न पछिल्लो समय थुप्रै कृत्रिम टापुहरू निर्माण गरि त्यहाँ ठूलो स्तरमा सैन्य गतिविधि अघि बढाइरहेको छ । यसप्रति क्षेत्रीय राष्ट्रहरू मात्र नभएर पश्चिमले समेत आपत्ति जनाउँदै आएको छ । यसअघि फिलिपिन्सले आफ्नो क्षेत्रको दाबी गर्न चीनलाई अदालतसम्म पु¥याएको थियो । तर २०१६ मा रोड्रिगो राष्ट्रपति नियुक्त भएपछि भने उनले चीनसँग निकट आर्थिक सम्बन्ध राख्नमा जोड दिइरहेको पाइएको छ ।

२०१८ मा चीन भ्रमणमा जानेवेला उनले ‘मलाई यस समयमा अरु केही होइन केबल चीन मात्र आवश्यक छ’ भनेका थिए । राष्ट्रपति रोड्रिगोले यसअघिका प्रमुखहरूको तुलनामा विवादित क्षेत्रलाई छलफल र वार्तामार्फत समाधान गर्न सकिने किसिमको मुद्दाका रूपमा लिइरहेका छन् । तर, यता चीनले भने सो क्षेत्रमा आफ्नो नियन्त्रण दिन प्रति दिन बलियो बनाउँदै गएको छ । रोड्रिगोको प्रशासनले यसअघि २०१८ मा पनि चीनले समुद्र मुनिको तेल र ग्यास सम्म पुग्ने प्रयास गरे युद्ध सुरु गर्ने धम्की दिएको थियो ।

एक उत्तर छोड्न