चुनावी अभियानमा प्रकाश राज

0
130

 भारतीय चर्चित अभिनेता प्रकाश राज पछिल्लो समय राजनीतिका कारण चर्चामा आएका छन् । उनी हाल भारतीय लोकसभाको चुनावी मैदानमा छन् । बैंगलुरु सेन्ट्रलबाट निर्दलीय उमेद्वारका रूपमा उनी चुनावमा लड्दैछन् । तामिल र कन्नडा चलचित्रका चर्चित कलाकार प्रकाश राज बलिउड चलचित्र ‘सिंघम र दबंग २’ मा गरेको खलनायकको अभिनयका कारण निकै चर्चामा आए ।

चलचित्रमा खलपात्रमा देखिने उनी वास्तविक जीवनमा भने एक नायकको भूमिका निर्वाह गर्न चाहन्छन् । उनका अनुसार अहिले भारतको चुनाव निकै अव्यवस्थित रूपमा चलिरहेको उनले जिकिर गरेका छन् । वर्तमान चुनावी प्रक्रियाले राज्यको प्रणालीलाई भत्काएको र भ्रष्टाचारलाई प्रोत्साहन दिएकाले यसले समाजमा नकारात्मक प्रभाव पारिरहेको छ ।

उनले भने, ‘यस देशमा चुनाव एक धन्दा बनिसकेको छ । म भ्रष्ट प्रणालीमाथि दबंग शैलीले प्रहार गर्न चाहन्छु ।’ भारतमा कुनै पनि पार्टीले १५ देखि २० प्रतिशत भोट पैसाको भरमा पाइरहेको उनले जिकिर गरे । चुनावलाई लक्षित गर्दै उनले सामाजिक संजालमा ‘ह्यासट्याग जस्ट आस्किङ’ को ट्रेन्डलाई स्थापित गर्न खोजिरहेका छन् । उनको यस अभियानलाई कतिपय भारतीयले प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधका रूपमा समेत चित्रित गरेका छन् । चुनाव जनताको पक्षमा हुनुपर्ने बताउँदै उनले वर्तमान प्रणालीले लोकतन्त्रको मर्मलाई खिल्ली उडाएको बताएका छन् । उनी भन्छन्, ‘म मोदीको विरुद्धमा होइन् । उनी मेरो काका होइनन् । मेरो प्रधानमन्त्री हुन् । मैले सरकारलाई प्रश्न गरिरहेको हो ।’

उनले आफ्नो चुनावी सभामा सरकारमाथि प्रश्न मात्र गर्छन् । उनी भन्छन्, ‘रोजगार, झुठो प्रतिज्ञा र देशलाई विभाजित गर्ने अभिव्यक्तिप्रति मेरो प्रश्न हो ।’ उनी चुनावी अभियानमा जब निस्कन्छन् तब सबैले सिटी बजाउँछन् । त्यसैले उनले आफ्नो चुनाव चिन्हसमेत सिटी राखेका छन् ।

एक उत्तर छोड्न