चेन्नईको तेस्रो जित

0
81

साबिकको विजेता चेन्नई सुपर किंग्सले १२औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ । घरेलु मैदानमा आइतबार भएको खेलमा राजस्थान रोयल्सलाई ८ रनले स्तब्ध बनाउँदै महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नईले लगातार तेस्रो जित निकालेको हो । एमए चिदामबरम स्टेडियममा घरेलु टोली चेन्नईले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थानले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।

खराब सुरुवात गरेको राजस्थानका लागि बेन स्टोक्सले २६ बलमा ४६ तथा राहुल त्रिपाठीले ३९ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन् । १४ रन जोड्दा ३ विकेट गुमाइसकेको राजस्थानका लागि स्टोक्स र त्रिपाठीले इनिङ्स उकासेका थिए । स्टिभ स्मिथले २८ तथा जोफ्रा आर्चरले अविजित २४ रन बनाए ।

कप्तान अजिंका रहाने शून्य रनमा आउट भए । चेन्नईका शार्दुल ठाकुर, दिपक चाहर, इमरान ताहिर र ड्वाने ब्राभोले समान २–२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले पूरै २० ओभरमा ५ विकेट गुमाएर १७५ रन बनाएको थियो ।

खराब सुरुवात गरेको चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले अविजित रहदै ७५ रनको योगदान दिए । मात्र २७ रन जोड्दा चेन्नईले महत्वपूर्ण ३ विकेट गुमाईसकेको थियो । तर, चौंथो विकेटका लागि कप्तान धोनीले सुरेश रैनासंग मिलेर ६१ रनको साझेदारी गर्दै चेन्नईको इनिङ्स उकासेका थिए । रैना ३६ रनमा आउट भए । ड्वाने ब्राभोले २७ रन जोड्दा सेन वाट्सनले १३ रन बनाए ।

राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए । जितसंगै शीर्ष स्थानमा उक्लिएको चेन्नईले ३ खेलबाट ६ अंक जोडेको छ । र, चेन्नईले लिगको प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ । जारी लिगमा चेन्नई एक मात्र अपराजित टोली हो । राजस्थानको भने यो लगातार तेस्रो हार हो । यो हारसंगै राजस्थान लिग चरणबाटै घर फर्कने सम्भावना बढेको छ ।

एक उत्तर छोड्न