जातीय घरमा दर्शकको आकर्षण

0
27

नुवाकोट – खरले छाएको पुरानो शैलीको सानो घर । घरको बार्दलीमा राखिएको ढ्याङ्ग्रो, लावा, पिर्कामा सगुनसँगै राखिएको टटेलाको फूल, वरीपरी टाँगिएको लुङ्तर (तोरण), आँगनमा गाडिएको धज्र्यो लगायतका सामाग्रीले त्यो घर तामाङ जातिको हो भन्ने सजिलै चिन्न सकिन्छ । यो घर नुवाकोटको बट्टारमा फागुन १६ गतेदेखि जारी ‘प्रथम नुवाकोट आदिवासी जनजाति महोत्सव’मा प्रमुख आकर्षणको केन्द्र बनेको छ । महोत्सवमा आएका दर्शकहरूको आँखा अहिले यही घरमा रोकिने गरेको छ । यो घरमा जाने जोकोही दर्शक पनि त्यहाँ पुगेपछि ढ्यांग्रो, लावा बजाउन व्यस्त हुन्छन्।

घरहरू देखाउनको लागि मात्र नभएर महोत्सवमा आउने दर्शकलाई जनजातिहरूको रहनसहन, भेषभुषा, चाडपर्व, गरगहना, उत्पत्तिलगायतको विषयमा पनि जानकारी गराउछौं ।

महोत्सवस्थलमा तामाङको मात्र नभई जनजातिअन्तर्गत विविध जातजातिहरूको विशेषता झल्कने विषयलाई समेटेर घरलाई सजाइएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनाल महोत्सवको नाम अनुसार काम भएको बताउँछन् । ‘लगातार हुने महोत्सवहरूको भीडमा नुवाकोटमा जारी प्रथम नुवाकोट आदिवासी जनजाति महोत्सवमा हेर्न र रमाउन केही नयाँ कुरा भेटिएको छ । महोत्सवले केही नयाँ गरोस् र केही न केही पक्षलाई सतहमा ल्याओस् भन्ने मेरो चाहाना हो ।

महोत्सवमा बनाइएका जातीय घरले मेरो इच्छा पुरा गरेको छ’, खनालले भने, ‘जातीयतामा विशेष संस्कार, रहनसहन र भेषभुषा हुन्छ । भुलिसकेका त्यस्ता पक्षलाई जातीय घरमा भेटें । यो महोत्सवको एउटा विशेषता बनेर आएको महशुस गरेको छु ।’

कुमालको घर अघि माटोको भाडा र माझीको घरमा माछा झुन्ड्याएर राखिएको छ । अधिकांश घरको आडैमा ढिकी, पिढीमा जातो, घरमा आउने पाहुनालाई बसाउन परालको गुन्द्री, बाँसको नलीसहितको हुक्का चिलिम, मादल, रेडियो, छानामा फर्सी र मकैको घोगा छन् । ती घरहरूमा जात विशेषले मनाउने चाडपर्व, लगाउने गरगहनाको बारेमा जानकारीसमेत राखिएको छ ।

नुवाकोटमा राई, मगर, भुजेल, कुमाल, नेवार, तामाङ, माझी, दनुवार, शेर्पा, बराम, गुरुङ, ह्योल्मो, घले र बलामी गरी १४ प्रकारका जनजातिहरू बसोबास गर्दै आएका छन् । ती जातजातिको उत्पत्ति, इतिहास, पुर्खा, धर्म, चाडपर्व, रहनसहनजस्ता विषयको जानकारी मौखिक रूपमा जातीय घरबाट लिन सकिने महोत्सव आयोजक संस्था नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्का सदस्य शर्मिला थापा मगरले बताइन् । ‘हामीले महोत्सवमा जिल्लामा बसोबास गर्दै आएको १४ वटै जनजातिहरूको घर निर्माण गर्न नसके पनि १० वटा जनजातिको घर निर्माण गरेका छौं । ती घरहरू देखाउनको लागि मात्र नभएर महोत्सवमा आउने दर्शकहरूले जनजातिहरूको रहनसहन, भेषभुषा, चाडपर्व, गरगहना, उत्पत्तिलगायतको विषयमा जानकारी गराउछौं । दर्शकहरूको जिज्ञासा मेटाउन जातीय घरमा एकएकजना जानकार व्यक्ति राखेका छौं’, उनले भनिन्, ‘जातीय घरमा जात विशेषका खानाहरूको पनि व्यवस्था छ ।’

महोत्सवमा बनेका घरहरूलाई जाति विशेषको भाषाले लेखेर राखिएको छ । महोत्सवको मञ्चमा विभिन्न कलाकारहरूले सबैलाई नचाइरहेका छन् भने जातीय घरले सबैको मन तानिरहेको छ ।

एक उत्तर छोड्न