जापान कसरी यति धेरै सफा छ ?

0
57

५०–५० मिनेटका सातवटा कक्षापछि विद्यार्थीहरु घर जानका लागि आफ्नो ब्याग लिएर बसेका छन् । शिक्षक भोलि पल्टको टाइम–टेबल बताइरहेका छन् । सबै उनको कुरा ध्यान दिएर सुनिरहेका छन् ।

अन्तिममा शिक्षक सधैँ जनालाई सफाइको जिम्मेवारी बाँड्छन् । ‘पहिलो र दोस्रो पङ्क्तिले कक्षा सफा गर्नेछन् । तेस्रो र चौथोमा रहेकाले गल्ली र सिँढी सफा गर्नेछन् । पाँचौँ पङ्क्तिले ट्वाइलेट सफा गर्नेछन् ।’

ट्वाइलेट सफा गर्ने जिम्मेबारी पाएका पाँचौँ पङ्क्तिबाट ‘आह’को आवाज सुनिन्छ । शिक्षकले काम विभाजन गरेपछि सबै बच्चा उठे ।

पाँचौँ पङ्क्तिका विद्यार्थी कक्षाको पछाडि भागमा रहेको दराजबाट पुछ्ने कपडा, बाल्टिन उठाए र ट्वाइलेटतर्फ लागे । जापानका सबै विद्यालयमा यस्तै दृश्य देखिन्छ ।

पहिलो पटक जापान पुग्ने युरोपेली र अमेरिकी पर्यटकसमेत त्यहाँको सफाई देखेर चकित हुन्छन् । तर रोचक कुरा, त्यहाँ सडक सफा गर्ने कतै देखिँदैनन् ।

सरसफाइ कर्मचारीको अभावमा जापान यति सफा कसरी हुन्छ ? जापानमा मानिसहरु आफै सरसफाइ गर्छन् ।

सफाइको रोचकता

हिरोसिमा प्रान्तको स्थानीय निकाय टोक्यो कार्यालयको सहायक निर्देशक माइको अवाने जापानको सरसफाइ संस्कृतिबारे भन्छिन्, ‘प्राथमिक कक्षादेखि हाई स्कुलसम्म १२ वर्षको स्कुले जीवनमा विद्यार्थीको दैनिक रुटिनमा सफाइको समय पनि सामेल हुन्छ । घरमा पनि आमाबुबा छोराछोरीलाई बसोबासस्थल फोहोर गर्नु राम्रो नभएको सिकाउँछन् ।’

स्कुले पाठ्यक्रममा सामाजिक चेतनाको यो तत्त्वलाई समावेश गर्दा बच्चामा जागरुकता र आफ्नो परिवेशप्रति गर्वको भावना विकसित गर्न सहयोग पुग्छ ।

आफैले सफा गरेको विद्यालय कसले फोहोर गर्न चाहन्छ होला ?

फ्रिलान्स अनुवादक चिका हयासी आफ्नो स्कुले दिनको सम्झना गर्दै भन्छन्, ‘म कैयौँ पटक स्कुल सफा गर्न चाहँदैनथेँ तर त्यो हाम्रो रुटिनको हिस्सा थियो । त्यसैले मैले स्वीकार गर्थें ।’

उनले अगाडि भने, ‘स्कुल सफा गर्नु राम्रो कुरा हो भन्ने मलाई लाग्छ । किनकि यसबाट हामीले आफूले प्रयोग गर्ने सामग्री र बासस्थान सफा गर्ने जिम्मेवारी लिन प्रेरित गर्छ ।’

स्कुल पुग्दा विद्यार्थी आफ्नो जुत्ता लकरमा राख्छन् र ट्रेनर लगाउँछन् । घरमा पनि मानिस जुत्ता बाहिरको ढोकामा खोल्छन् । घरमा काम गर्नका लागि आउने मानिस पनि जुत्ता खोलेर भित्र आउँछन् ।

विद्यार्थी जब ठूलो हुन्छन्, ती स्कुलमा सिकेका कुरा आफू वरिपरिको स्थानमा अवलम्बन गर्छन् ।

सरसफाइको नमुना देश

जापानी स्वच्छताको केही उदाहरण अन्तर्राष्ट्रिय प्रतियोगिताको समयमा विश्वले पनि देख्छ ।

ब्राजिल र रुसमा सम्पन्न भएको फुटबल विश्वकप प्रतियोगिताको दौरान संसारले जापनी फुटबल प्रसंशक र खेलाडीको खेलप्रतिको जागरुकता देख्यो । जापानी फुटबल प्रेमी खेलपछि रङ्गशालामा फैलिएको फोहोर उठाउनका लागि रोकिएका थिए ।

जापानी खेलाडी पनि आफ्नो ड्रेसिङ रुममा कुनै फोहोर छाड्दैनथे । फिफाको जनरल कोर्डिनेटर प्रिसिला जैनसेन्सले यस सम्बन्धमा ट्विट गर्दै भनेकी थिइन्, ‘सबै टिमका लागि यो उदाहरण हो ।’

अवाने भन्छन्, ‘हामी जापानी अरूको नजरमा हामी कस्तो देखिन्छौँ भन्ने कुरामा निक्कै संवेदनशील हुन्छौँ । हामी अरूले हामीलाई सरसफाइमा संस्कार नभएको नसोचून् भन्ने ठान्छौँ ।’

आफू वरिपरिको सफाइ

जापानमा बिहान ८ बजे वरपर मानिसहरु आफ्नो कार्यालय र दोकान छेउछाउको सडक सफा गर्छन् ।

हरेक महिना बच्चाहरु सामुदायिक सफाइमा सक्रिय हुन्छन् । आफ्नो स्कुल नजिकको सडकबाट फोहोर उठाउँछन् ।

छरछिमेकीमा पनि नियमित सरसफाइको काम हुन्छ । खासमा मानिसले घर वरपर पहिले सरसफाइ गर्ने भएकाले त्यति धेरै फोहोर जम्मा हुँदैन ।

जापानमा रोगका किटाणुलाई लिएर पनि सतर्कता अपनाइन्छ । त्यहाँ कुटाणु सर्ला भनेर मानिसहरु सीधै हातबाट पैसा दिँदैनन् । दोकान, होटल या ट्याक्सीमा एउटा सानो ट्रेमा पैसा राखिन्छ । त्यहीँबाट ग्राहकले पैसा लिने–दिने गर्छन् । रुघाको लागेको समयमा किटाणु सर्ला भनेर मानिसहरु सर्जिकल मास्क लगाएर हिँड्छन् ।

यो सानो सावधानीले रोगका किटाणुलाई प्रसारमा सीमित गरिदिन्छ । यसले एकातर्फ बिरामी भएर काममा नजाने दिन कम हुन्छ भने उपचार खर्च पनि कम गरिदिन्छ ।

कसरी आयो सफाइमा यस्तो सजगता ?

जापानमा सरसफाइको इतिहास नयाँ भने होइन । जापान पुग्ने पहिलो ब्रिटिस यात्री बिल एडम्सले सन् १६०० मा जापान पुग्दा जापान निक्कै सफा पाएका थिए ।

एडम्सको जीवनी ‘समुराई विलियम’मा गाइल्स मिल्टनले लेखेका छन्, ‘ती दिन बेलायतको गल्लीमा मल–मूत्र बहन्थ्यो तर जापानका बाटाघाटा भने सुन्दर थिए । नाली र शौचालय स्वच्छ थिए र कुलीन वर्गका मानिस धुपको बास्नामा स्नान गर्थे ।’

निजी सरसफाइप्रति युरोपमा लापरबाही देखेर जापानका मानिस क्षुब्ध रहन्थे ।

आंशिक रूपमा जापानको सरसफाइमा व्यावहारिक कारण पनि जिम्मेवार छ । जापानको गर्मी र कम आद्रताले खानेपिउने चिज चाँडै खराब हुन्थ्यो । जीवाणु तीव्र रूपमा बढ्थ्यो । यसैले त्यहाँ सरसफाइ गर्नुपर्ने बाध्यता थियो ।

तर सरसफाइमा त्यति मात्र कारण भने छैन । जापानको स्वच्छतामा बौद्ध धर्मको प्रमुख भूमिका छ । यो धर्म छैठौँ र आठौँ शताब्दीमा चीन र कोरियाबाट जापान पुगेको थियो ।

बौद्ध धर्मको जेन संस्करण १२औँ र १३औँ शताब्दीमा जापानमा प्रभावशाली बन्यो । जेनमा सफाइ र खाना पकाउनेजस्तो दैनिक कामलाई ध्यान गर्नेजस्तै आध्यात्मिक अभ्यास नै मानिन्छ । त्यसले गर्दा सरसफाइमा निक्कै जोड हुने गर्छ ।

तर फेरि प्रश्न उठ्छ– बौद्ध धर्म मान्ने सबै देश जापान जस्ता सफा किन छैनन् ?

सिन्तो : स्वच्छता नै ईश्वरको मार्ग

बौद्ध धर्म आउनुअघि जापानको आफ्नै स्वदेशी धर्म थियो– सिन्तो । यसको अर्थ ईश्वरको मार्ग भन्ने हुन्छ ।

स्वच्छता सिन्तोको केन्द्रमा हुन्छ । सिन्तोमा स्वच्छता नै ईश्वरत्व हुन्छ ।

अर्थात बौद्ध धर्मको जापानी संस्करण जेनले जापानमा पहिलेदेखि रहेको अभ्यासलाई जोड दिएको हो । सिन्तोको एक प्रमुख अवधारणा हो– केगरे । यसको अर्थ अशुद्धता हुन्छ, जुन शुद्धताको विपरीत हुन्छ ।

केगरेको उदाहरण मृत्युदेखि लिएर हरेक अप्रिय चिजमा लागू हुन्छ । ‘यदि कोही व्यक्ति केगरेबाट पीडित हुन्छ भने पूरा समाजका लागि नोक्सानी हुन सक्छ,’ हिरोसिमाको केन्डा तीर्थस्थलका सहायक सिन्तो पुजारी नोरियाकी इकेदाले भने, ‘यसैले स्वच्छता कायम राख्नु निक्कै महत्त्वपूर्ण हुन्छ । यसले तपार्इंलाई पवित्र गरिदिन्छ र समाजमा विपत्ति आउन दिँदैन । यसैले जापान निक्कै सफा छ ।’

स्वच्छ जीवनशैली

यदि तपाईं जापानमा बस्न थाल्नुभयो भने केही समयमै त्यहाँको जीवनशैली अपनाउन थाल्नु हुनेछ ।

तपाईं सार्वजनिक रूपमा आफ्नो नाक कोट्याउन बन्द गर्नु हुनेछ । आफ्नो पसल र कार्यालयमा सानिटाइजर प्रयोग गर्न थाल्नुहुनेछ । त्यस्तै रिसाइक्लिनका लागि आफ्नो घरको फोहोरलाई १० अलग अलग वर्गीकरणमा छुट्याएर राख्नु हुनेछ ।

सन् १६०० मा विल एडम्स र उनका चालक दलका सदस्यले आफ्नो जीवनमा गुणात्मक परिवर्तन आएको पाएका थिए । 

फेरि पनि तपाईं आफ्नो देशमा फर्किएपछि आफ्नो ठाउँको अन्जान मानिसलाई देखेर हैरान रहनुहुन्छ जो तपाईंकै अघि खोक्ने वा छिक्ने (हाच्छिउँ) गर्छन् र फोहोर जुत्ता लगाएर घुमफिर गर्छन् । जापानमा यो कल्पनाभन्दा परको कुरा हो ।

एक उत्तर छोड्न