झापा गोल्डकप : क्यामरुनी सेमिफाइनलमा

0
43

झापा, बिर्तामोड — क्यामरुनी फुटबल टोली दाउफिन्स बिहीबार मगमग चौथो झापा गोल्डकप फुटबलको सेमिफाइनल पुगेको छ । दाउफिन्सले बिहीबार अन्तिम क्वाटरफाइनलमा लाली रूपन्देही ११ लाई २–० ले हरायो ।
डोमालाल राजवंशी रंगशालामा दाउफिन्सका लागि पेट्गा र मेसौलिई ओलाउमोले गोल गरेका थिए । ४० औं मिनेटमा रूपन्देहीका डिफेन्डर पेपी अदामाले मेसौलिईलाई पेनाल्टी बक्सभित्र लडाएपछि दाउफिन्सले पेनाल्टी पाएको थियो । पेनाल्टी अवसरलाई पेट्गाले गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए । खेलको ८६ औं मिनेटमा मेसौलिईले बक्सबाहिरबाट गरेको सशक्त प्रहारले पोस्ट जाली हल्लाएको थियो ।

दाउफिन्सले १० मिनेटदेखि नै पोस्ट प्रहार सुरु गरेको थियो । खेल पहिलो हाफमा जम्न सकेको थिएन । दोस्रो हाफमा दुवै टोली आक्रामक देखिए पनि दाउफिन्समात्र सफल बन्यो । १० औं मिनेटमा दाउफिन्सका खेलाडीको कर्नर प्रहार गोलकिपर अजित प्रजापतिले बचाए । रूपन्देहीका खेलाडीको प्रहार २३ औं मिनेटमा गोलकिपर प्रिसो जाङगाले उत्कृष्ट बचाए । ३१ औं मिनेटमा टिनाटिनाले गोल गर्ने राम्रो अवसर गुमायो । रूपन्देहीका गोलकिपर अजित अघि बढेको अवस्थामा खाली पोस्टमा टिनाटिना गोल गर्न चुकेका थिए ।
दाउफिन्सका मेसौलिईको कडा प्रहार ३४ औं मिनेटमा रूपन्देहीका डिफेन्डर पेपी अदामाले उत्कृष्ट ढंगले जोगाए । ४५ औं मिनेटमा दाउफिन्सका अहाण्डा इसाहाको प्रहार पनि पोस्टको थोरै माथिबाट बाहिरिएयो ।
४७ औं मिनेटमा दाउफिन्सका मेसौलीईको प्रहार रुपन्देहीका गोलकिपर अजितले नियन्त्रणमा लिएका थिए । रुपन्देहीले गोलमा फर्किने अवसर ६२ औं मिनेटमा गुमाएको थियो । उसका नीरबहादुर आलेले बललाई गोलपोस्टको दिशा दिन भ्याएनन् । ७७ औं मिनेटमा दाउफिन्सका टिनाटिनाले थप गोल गर्ने अवसर गुमाएको थियो ।
डिफेण्डरबाट छक्याएर अघि बढाएको बललाई रुपन्देहीका गोलकिपर अजितले खोस्न सफल भएको थियो । ७९ औं मिनेटमा पनि मेसौलिईले खाली पोस्टमा गोल गर्न सकेनन् । गोलकिपर अजित अघि बढेको अवस्थामा उनले पोस्टमा प्रहार गरेको बल डिफेन्डरले रोकेका थिए । ८९ औं मिनेटमा मान्सा बेभोगुईको प्रहार फितलो हुँदा रूपन्देहीले गोल फर्काउने अवसर गुमायो । रूपन्देहीका खेलाडीले तालमेल कायम राखे पनि क्यामरुनी खेलाडीको शारीरिक प्रदर्शनसामु कमजोर देखिए ।
दाउफिन्सका मेसौलिई ओलाउमो म्यान अफ द म्याच घोषित भए । उनले १५ हजार रुपैयाँ प्राप्त गरे । शुक्रबार सेमिफाइनलमा घरेलु टोली झापा ११ र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

एक उत्तर छोड्न