डेढ महिनादेखि बन्द अन्नपूर्ण पदमार्ग खुल्योे

0
30

हिमपातले डेढ महिनादेखि बन्द चक्रीय अन्नपूर्ण पदमार्ग खुलेको छ । पदमार्ग खुलेसंगै पर्यटकको चहलपहल बढेको छ । पर्यटकले मनाङ र मुस्ताङको सीमा थोराङला भञ्ज्याङ (५,४१६ मि. उचाई) को हिमाली भञ्ज्याङ पार गर्न थालेका छन् । गत माघ ९ गतेदेखि चक्रीय अन्नपूर्ण पदमार्गको थोराङला भञ्ज्याङ बन्द भएको थियो । सयौं पर्यटक फर्किएका थिए । हिमपातका कारण पदमार्ग बन्दका समय माघ २१ र २२ गते बाहेक अरु समय पर्यटकले थोराङला पास गर्न सकेनन् । उनीहरु बीच बाटोबाटै फर्किन बाध्य भएका थिए । हिउँले भरिएको थोराङला भञ्ज्याङ खुलेपछि मनाङबाट मुस्ताङतर्फ पर्यटक जान थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङले जनाएको छ ।

एक्याप मनाङका पर्यटक सहायक क्षेत्र गुरुङका अनुसार सोमबार १० जना र मंगलबार १६ जना पर्यटकले थोराङला पास गरेका छन् । उनका अनुसार यसअघि बाटो खुलाउन भन्दै १६ जना व्यवसायी युवालाई पठाएकोमा पठाएकै दिन हिमपात भएपछि उनीहरु फर्किएका थिए ।  संसारकै अग्लो हिमाली पदमार्गको भञ्ज्याङ मानिएको थोराङला चक्रीय अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकका लागि प्रमुख गन्तव्य हो । हिमपातपछि बन्द चक्रीय अन्नपूर्ण पदमार्ग खुलेको एक्याप मनाङका प्रमुख बाबुलाल तिरुवाले बताउनुभयो । नासों गाउँपालिका ९, दानाक्युबाट चामे हुँदै मनाङ ङिस्याङ गाउँपालिका १, स्वर्गद्धारीसम्म सडक खुलेको छ । माथिल्ला मनाङसम्म सडक खुलेको छैन । पदमार्ग भने खुलेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार १६ जना युवालाई थोराङलातर्फ पठाएर बाटो खुलाइएको हो । ‘माथिल्लो मनाङसम्म सडक खुलेको छैन । पर्यटक भने हिँडिरहेका छन्’ उहाँले भन्नुभयो, ‘याकखर्कदेखि माथि गाह्रो थियो । झन् बेसक्याम्प र हाइक्याम्पदेखि जानै सकिँदैनथ्यो । हामीले पठाएका युवाले बाटो खुलाए ।’  उहाँका अनुसार हिउँ पग्लिँदै गएको र युवाले बाटोमा रेकी गरेपछि उक्त ठाउँबाट पर्यटक हिँड्न थालेका छन् । उहाँले भन्नुभयो, ‘पर्यटकलाई तत्काल हिँड्न त्यति सहज त छैन । तर, बाटो खुलेकाले विस्तारै सहज हुँदै जानेछ ।’ हिउँ पग्लिएपछि पहिरोको समेत जोखिम नहुने भन्दै एक्याप इलाका संरक्षण कार्यालय जोमसोम मुक्तिनाथका प्रमुख तुलसी दाहालले मनाङबाट पर्यटक थोराङला पास गरेर आएको उहाँले बताउनुभयो । उहाँका अनुसार सोमबारदेखि पर्यटक थोराङला पास हुँदै आएका छन् । मुस्ताङबाट मनाङतर्फ थोराङला पास गरेर भने पर्यटक जाँदैनन् । उहाँले भन्नुभयो, ‘हामीले युवाहरु पठाएर मुस्ताङतर्फको बाटो खुलायौं । मनाङबाट पनि बाटो खुल्यो । पर्यटक आउन थाले ।’  पर्यटकीय सिजन सुरु हुने बेलामा हिमपात भएपछि पर्यटक बीच बाटोमै रोकिएका थिए । कोही आउँदै फर्किंदै गरेका थिए । एक्याप मनाङका प्रमुख तिरुवाका अनुसार पछिल्लो एक सातामै ५ सय पर्यटक मनाङ भित्रिएका छन् । उनीहरु विस्तारै थोराङला पास गरेर मुक्तिनाथ पुग्नेछन् । उहाँले भन्नुभयो, ‘अहिले पर्यटक बेंसीसहरबाट सवारी साधनमा चामेसम्म आउने गरेका छन् । यस्तै, हिँडेरै आउने पर्यटक पनि छन् ।’  मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले पहिले सडक खुलाउन सुरु गरिएको बताउनुभयो । माथिल्लो क्षेत्रमा एक्यापले पदमार्ग खुलाएको छ । उहाँले भन्नुभयो, ‘यहाँ दिनकै ८०÷९० जना पर्यटक आउन थालेको छ । पर्यटक माथिल्लो मनाङतर्फ जान थालेका छन् ।’ यसअघिल्ला वर्षमा यति लामो समय र फागुनको अन्तिम सम्ममा हिमपात थिएन । यसवर्ष लामो समय हिमपात भएको र हिउँ पनि बढी झरेकाले समस्या परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी प्रशासन, सुरक्षाकर्मी, एक्याप, स्थानीय सबै बाटो खुलाउन लागेका छौं ।’ 

एक उत्तर छोड्न