थाइराइडको समस्याः नेपालमा पुरुषलाई भन्दा महिलालाई बढी

0
56

मलाई थाइराइड लाग्यो…

आजभोलि आमरुपमा सुनिने स्वास्थ्यसम्बन्धी समस्याहरुमध्येको एक प्रमुख समस्या ‘थाइराइड’ भएको छ ।

धेरैलाई भ्रम छ थाइराइड भनेको रोग हो । वास्तवमा, थाइराइड आफैंमा रोग होइन । यो त मानिसको शरीरमा हुने एउटा विशिष्ट र महत्वपूर्ण अंगको नाम हो । त्यो अङ्गले राम्ररी काम गर्न सकेन वा त्यो अङ्गमा कुनै खराबी आयो भने त्यसले शरीरमा विभिन्न खालका समस्याहरु पैदा गरिदिन सक्छ । अर्थात् हाम्रो शरीरमा हुने त्यो विशिष्ट अंगमा पैदा हुने गडबडीका कारण देखापर्ने समस्याहरु चाहिँ वास्तवमा थाइराइडसँग सम्बिन्धत रोग हो ।  आम बोलचालमा चाहिँ मलाई थाइराइड भयो भन्ने चलन छ । त्यसको अर्थ, ती व्यक्तिको थाइराइड ग्रन्थीले राम्रो काम गर्न सकेन वा त्यसमा समस्या पैदा भयो भनेर बुझ्नु पर्ने हुन्छ ।

के हो थाइराइड  ?

थाइराइड घाँटीमा रहेको एउटा ग्रन्थी हो । यो पुतलीको आकारमा हुन्छ । उक्त ग्रन्थीले हर्मोन उत्पादन गर्ने गर्र्छ । ती हर्मोनहरुले हाम्रो शरीरको शक्ति उपयोग एवं खर्च गर्ने प्रक्रियालाई नियन्त्रण÷सञ्चालन गर्ने काम गरिरहेको हुन्छ । त्यसप्रक्रियाअन्तर्गत ती हर्मोनहरुले हाम्रा शरीरका महत्वपूर्ण प्रक्रयाहरुलाई नियमित गर्ने तथा सञ्चालन गर्ने काम गरिरहको हुन्छ । यसरी थाइराइड हर्मोनले सञ्चालन गर्ने हाम्रो शरीरका महत्वपूर्ण कामहरुमा मूलतः श्वासप्रश्वास, मुटुको चाल, स्नायु प्रणालीहरुको सञ्चालन, शरीरको तौल, मांसपेशीको खिचाव, महिनावारी, शरीरको तापक्रम, कोलेस्ट्रोल नियन्त्रण गर्ने लगायका अन्य थुप्रै महत्वपूर्ण कार्यहरु सम्पादन गरिरहको हुन्छ । जम्माजम्मीमा भन्दा, त्यो हर्मोन शरीरका लागि अत्यावश्यक हुन्छ ।

थाइराइड हाम्रो ग्रन्थी प्रणाली (Endocrine System) को एउटा महत्वपूर्ण हिस्सा हो । ग्रन्थी प्रणाली विभिन्न ग्रन्थीहरु मिलेर बनेको हुन्छ, जसको मुख्य काम विभिन्न खालका हर्मोनहरु उत्पादन गर्ने, संग्रहित गर्ने, निस्काशन गरी रगतमार्फत् शरीरका कोषहरुमा पुर्याउने हुन्छ । तिनै विभिन्न ग्रन्थीहरुमध्येकै एक महत्वपूर्ण ग्रन्थीको नाम हो थाइराइड । यो ग्रन्थीले चाहिँ हामीले खाएको खानामार्फत् आयोडिन प्राप्त गरेर दुई मुख्य हर्मोनहरु उत्पादन गर्ने गर्छ । ती दुई मुख्य हर्मोनहरु हुन् :

  • Triiodothyronine (T3)
  • Thyroxine (T4)

छोटकरीमा यी दुई हर्मोनहरुलाई टी थ्री र टी फोर भन्ने गरिन्छ ।

हर्मोन उत्पादनको यो चक्र !

ध्यान योग्य कुरा के छ भने हाम्रो थाइराइड ग्रन्थीले यी दुवै हर्मोनहरु ठिक्क मात्रामा मात्र उत्पादन गर्नुपर्छ । र, यी दुई हर्मोनको उत्पादन प्रक्रियालाई हाम्रो मस्तिष्कको हाइपोथालामस र पिट्युटरी ग्रन्थीले नियन्त्रित गरिरहेको हुन्छ ।

मस्तिष्कको एउटा महत्वपूर्ण हिस्साको नाम हो हाइपोथालामस । यो हिस्साले थाइराइड स्टिमुलेटिङ हर्मोन निस्काशित गर्ने हर्मोन (TSH Releasing Hormone (TRH) उत्पादन गर्छ । त्यो हर्मोनले पिट्युटरी ग्रन्थीलाई संकेत गरेर थाइराइड ग्रन्थीले  टी थ्री र टी फोर हर्मोनहरु कम वा बेसी कति उत्पादन गर्ने हो भन्ने कुरा निर्देशित गरिरहेको हुन्छ । हाइपोथालामसकै नियन्त्रणमा पिट्युटरी ग्रन्थीमा उत्पादन हुने थाइराइड स्टिमुलेटिङ हर्मोन (टीएसएच) ले ‘टी थ्री’ र ‘टी फोर’ हर्मोनहरू उत्पादनलाई नियन्त्रण र निर्देशित गरिरहेको हुन्छ ।

यस प्रक्रियामा जब हाम्रो रगतमा टी थ्री र टी फोर हर्मोनको मात्रा कम हुन्छ, पिट्युटरी ग्रन्थीले टीएचसी हर्मोनको उत्पादन बढी गरेर थाइराइडलाई ती दुई हर्मोनहरुको उत्पादन बढाउने उत्प्रेरित गर्छ ।

त्यसको ठीक विपरीत जब हाम्रो रगतमा टी थ्री र टी फोर हर्मोनको मात्रा बढी हुन्छ, पिट्युटरी ग्रन्थीले टीएचसीको उत्पादन घटाएर थाइराइड ग्रन्थीलाई पनि ती दुई हर्मोनहरुको उत्पादन घटाउन लगाउने गर्छ ।

के काम गर्छ टी थ्री र फोर हर्मोनहरुले ?

थाइराइड ग्रन्थीले उत्पादन गर्ने ‘टी थ्री’ र ‘टी फोर’ भन्ने हर्मोनले शरीरको गतिविधिहरूलाई नियन्त्रण गर्ने काम गर्छ । उदाहरणको लागि, यसले हाम्रो मुटुको चाललाई नियन्त्रण गरिरहेको हुन्छ भने सँगसँगै यसले हाम्रो आन्द्राको खानेकुरा पचाउने गतिलाई पनि निर्देशित गरिरहेको हुन्छ ।

यसरी हुन्छ थाइराइडको समस्या !

माथि उल्लिखत हर्मोन उत्पादनका प्रक्रियाहरु स्वचालित ढंगले नियमित रुपमा चलिरहेको हुन्छ । तर कुनै पनि कारणले जब त्यो प्रक्रियामा गडबढी देखापर्न थाल्छ, तब हर्मोन उत्पादन र नियन्त्रणको प्रणालीमा गडबडी आउन थाल्छ । हाम्रो थाइराइड ग्रन्थीले पिट्युटरी ग्रन्थीको आदेश र संकेतहरुलाई मान्न, टेर्न छोड्छ । थाइराइड ग्रन्थीले उत्पादन गर्ने टी थ्री र फोर हर्मोनहरुको उत्पादन या त सामान्यभन्दा बढी हुन थाल्छ, या त कम । हो यो स्थिति पैदा हुनु भनेको चाहिँ थाइराइडको समस्या देखापर्नु हो ।

थाइरोइडसम्बन्धी समस्यालाई मूलतः दुई किसिममा बाँड्न सकिन्छ : हाइपोथाइराइडिज्म र हाइपोथाइराडिज्म ।

जब कुनै पनि कारणले थाइराइड ग्रन्थीले ‘टी थ्री’ र ‘टी फोर’ हर्मोन कम उत्पादन गर्छ भने त्यो स्थितिलाई ‘हाइपोथाइराइडिज्म’ भनिन्छ । ‘हाइपोथाइराइडिज्म’ न्यून मात्रामा हार्मोन उत्पादन हुने भएकाले कम काम गर्ने गर्छ ।

त्यसको ठीक विपरीत ‘हाइपरथाइराइडिज्म’मा चाहिँ थाइराइड ग्रन्थीले टी थ्री र फोर हर्मोनहरु चाहिनेभन्दा धेरै उत्पादन गर्न थाल्छ । 

नेपालमा ‘हाइपोथाइराइडिज्म’ बढी पाइएको छ भने ‘हाइपरथाइराइडिज्म’ न्यून मात्रामा छ । यी दुवै प्रकारको थाइराइड समस्या पुरुषमा भन्दा महिलामा बढी छ ।

हाइपोथाइराइडिज्म

‘हाइपो’ ग्रीक शब्द हो, जसको अर्थ हुन्छ कम । थाइराइड ग्रन्थीले उत्पादन गर्ने हर्मोनको उत्पादन कम हुनु भनेको हाइपोथाइराइडिज्म हो ।

‘हाइपोथाइराइडिज्म’मा थाइराइडले कम काम गर्छ, जसको असरले शरीर मोटाउँदै जान्छ । जस्तो ड्राइभरले काम गरेन भने इन्जिनमा खिया लाग्ने अथवा अन्य समस्या आउने हुन्छ । त्यस्तै समस्या मानव शरीरमा पनि आउँछ ।

मानिसको पनि थाइराइड ग्रन्थीले हर्मोनको उत्पादन कम गर्यो भने शरीर सञ्चालनमा समस्या आउँछ ।

‘हाइपोथाइराइडिज्म’ हुनुको मुख्य कारण त हाम्रो देश नै हो । हाम्रो शरीरलाई प्रशस्त आयोडिन चाहिन्छ । तर हाम्रो देशको भौगोलिक अवस्थाले आयोडिन उत्पादन गर्न सक्दैन ।

मानिसको शरीरले हावाबाट आयोडिन पाउँछ । सामुद्रिक देशहरूको हावामा आयोडिनको मात्रा प्रशस्त हुने हुँदा सामुद्रिक देशका नागरिकमा यो समस्या ज्यादै न्यून हुन्छ । तर हाम्रो देशको हावामा आयोडिनको मात्रा एकदमै न्यून हुने भएकाले पनि थाइराइडको समस्या धेरै देखिएको हो । पहिले पहिले महिलाहरूलाई गलगाँड हुने मुख्य कारण आयोडिनको कमी नै हो ।

अहिले विभिन्न माध्यमबाट आयोडिनको मात्रा लिने भएकाले गलगाँडको समस्या कम भए पनि थाइराइडको समस्या भने बाँकी नै छ ।

घाँटीमा भएका ससाना थाइराइड ग्रन्थीलाई आयोडिनको जरुरत पर्छ जब आयोडिन प्रशस्त हुँदैन तब यो ग्रन्थी बढ्छ । अहिले गलगाँड बढेको देखिँदैन कारण हो हामीले नुनबाट आयोडिन खाने गरेका छौँ । आयोडिन शरीरले पाएपछि गलगाँड बढेको आजभोलि देखिँदैन । तर आज पनि यो महिलाहरूको मुख्य रोगका रूपमा रही रहेको छ ।

विशेष गरेर महिला गर्भवती हुँदा प्रशस्त आयोडिन चाहिन्छ । आयोडिनले नै बच्चाको दिमागको विकासमा सहयोग गर्छ । बच्चाले आफूलाई चाहिने पोषण आमाबाट लिइरहेको हुन्छ तर आमालाई आफ्नो शरीरलाई चाहिने पोषण न्यून भइरहेको हुन्छ । यसले समस्या बल्झिरहन्छ ।

महिनावारी रोकिएपछि महिलाहरूमा थाइराइडको समस्या बढी हुन्छ किनभने महिनावारी हुँदा थाइराइड हर्मोनको सन्तुलित उत्पादनमा सहयोग मिलिरहेको हुन्छ । जब महिनावारी सुक्छ, हर्मोन उत्पादन क्षमतामा पनि ह्रास आउँछ । यसले मूलतः ‘हाइपोथाइराइडिज्म’ हुन्छ, जसलाई ‘आयोडिन डिफिसियन्सी’ पनि भनिन्छ ।

लक्षण

‘हाइपोथाइराइडिज्म’ भएमा शरीरमा अनावश्यक बोसो जम्ने र विभिन्न समस्या आउन थाल्छ । जस्तै; शरीर मोटाउने, धेरै जाडो हुने समस्या देखिन थाल्छ । थकाई लाग्ने, अल्छी लाग्ने, कपाल झर्ने, आन्द्रामा समस्या आउने कब्जियत हुने, अनिद्रा, महिनावारीमा धेरै रगत बग्ने जस्ता समस्या देखिन थाल्छ ।  त्यसै गरी, सुत्न नसक्ने, ध्यान केन्द्रीत गर्न नसक्ने, छाला र कपाल सुख्खा हुने, डिप्रेसन हुने, जोर्नी र मांसपेशीहरु दुख्ने समस्या देखापर्न सक्छ ।

हाइपरथाइराइडिज्म

‘हाइपरथाइराइडिज्म’ अथवा हाइपर पनि ग्रीक शब्द हो, जसको अर्थ हुन्छ बढी । यदि थाइराइड ग्रन्थीले थाइराइड हर्मोन धेरै उत्पादन गर्न थाल्यो भने ‘हाइपरथाइराइडिज्म’ हुन्छ । त्यसको असर सम्पूर्ण शरीरमै पर्छ ।

‘हाइपरथाइराइडिज्म’ हुनुको मुख्य कारण हो थाइराइडाइटिस । थाइराइडाइटिस हुँदा  थाइराइड ग्रन्थी सुन्निन्छ । ‘थाइराइडाइटिस’ एक प्रकारको इन्फेक्सन हो । विभिन्न कारणले थाइराइड सुन्निने गर्छ ।

कहिलेकाहीँ भाइरल इन्फेक्सनबाट थाइराइड सुन्निन्छ यसलाई सबऐक्युट ‘थाइराइडाइटिस’ भनिन्छ । त्यसैगरी अर्को हो अटो इम्युन ‘थाइराइडाइटिस’, यसमा थाइराइड हर्मोन धेरै हुन्छ र हाइपरथाइरोडिज्म सक्छ र यही नै पछि गएर हाइपोथाइराइडिज्म हुन्छ ।

थाइराइड हाम्रो घाँटीमा रहेको ग्रन्थीहरू हो । यसमा  एउटाले आफै सक्रिय भएर धेरै काम गर्न थाल्यो भने पनि हाइपरथाइरोडिज्म हुन्छ । यसलाई टक्सिक नड्यूल अथवा टक्सिक गोइटर पनि भनिन्छ ।

यसको अर्को कारण अटो इम्युन नै हो । त्यसलाई ग्रेभ्स डिजिज पनि भनिन्छ । ग्रेभ्स डिजिज हाइपरथाइरोडिज्म हुनुको मुख्य कारण हो । यो पनि एक प्रकारको अटो इम्युन अवस्था हो जसले शरीरको इम्युन सिस्टममा ‘एन्टिबडी’ पैदा गरिदिन्छ र थाइराइड ग्रन्थीले धेरै मात्रामा थाइराइड हर्मोन उत्पादन गरिदिन्छ ।

यो समस्या वंशाणुगत रूपमा पनि आउँछ । परिवारको कुनै सदस्यमा छ भने अरूमा पनि आउन सक्छ र सानो उमेरमा पनि यो समस्या देखिन सक्छ ।

लक्षण

‘हाइपरथाइराइडिज्म’ हुँदा मानिस दुब्लाउने, मुटुको गति बढ्ने, पखाला लाग्ने, महिनावारी गडबड हुने जस्ता लक्षण देखिन्छ । त्यसै गरी, अधैर्यता हुने, चिड्चिडेपन वा मुड क्षणक्षणमै परिवर्तन हुने, गर्मी लाग्ने र पसिना आउने, हात काम्ने जस्ता समस्याहरु पनि देखापर्न सक्छ ।

थाइराइड समस्याको उपचार

थाइराइडसम्बन्धी समस्याको उपचार सहज छ । थाइराइडसम्बन्धी समस्या भएमा आत्तिहाल्नुभन्दा पनि बेलैमा उपचार थाल्नुपर्छ । थाइराइड हाम्रो शरीरको ड्राइभर भएकाले यसलाई स्वस्थ राख्न समयमै सचेत हुनुपर्छ ।

यदि ‘हाइपोथाइराइडिज्म’ भएमा हर्मोन बढी उत्पादन गर्ने सप्लिमेन्ट खाए पुग्छ । तर ‘हाइपरथाइराइडिज्म’ भयो भने मुटुलाई असर गर्न सक्छ । यसका लागि पनि औषधि र सप्लिमेन्टको सहयोग लिन सकिन्छ ।

दुवै प्रकारको थाइराइड समस्या पुरुषमा भन्दा महिलामा बढी छ । थाइराइड ग्रन्थीलाई टी३ तथा टी४ हर्मोनहरू उत्पादन गर्न प्रशस्त मात्रामा आयोडिन चाहिन्छ । यसैले पनि आयोडिनयुक्त खानासँगै सप्लिमेन्टबाट हर्मोनलाई सन्तुलनमा राख्न सकिन्छ ।

खतरा क्यान्सरको !

‘हाइपरथाइराइडिज्म’को सही उपचार नभएमा क्यान्सर हुन सक्ने सम्भावना पनि हुन्छ । त्यसैले यसका लागि बेलैमा औषधि उपचार गर्नुपर्छ ।

यदि औषधिले पनि निको भएन र ग्रन्थी धेरै सुन्नियो भने अपरेसन नै गर्नुपर्ने हुनसक्छ । समयमा उपचार नगरेमा हाइपरथाइराइडिज्मले मुटु र मस्तिष्कमा पनि असर गर्न सक्छ ।

यस्तो प्रकारको रोगबाट बच्ने एक मात्र उपाय भनेको समय–समयमा थाइराइड हार्मोनको रक्तपरीक्षण गर्ने र रोग भएमा समयमै उपचार गर्नुपर्छ । त्यसबाहेक आयोडिनयुक्त नुन तथा खाना खाने, तनाव, चिन्ताबाट टाढै रहने र सक्रिय जीवनशैली बाँच्ने हो भने समस्याबाट बच्न सकिन्छ ।

थाइराइडबारे सामान्य रूपमा बुझ्दा, हाम्रो शरीर एक प्रकारको मोटर हो भने शरीर सञ्चालन गर्ने सुगर पेट्रोल र थाइराइड ग्रन्थी चाहिँ सम्पूर्ण शरीरलाई चलाउने ड्राइभर हो ।

यदि ड्राइभर रोगी भयो अथवा उसमा केही समस्या आयो भने अवस्य पनि सम्पूर्ण शरीरलाई नै असर गर्ने भयो । त्यसैले थाइराइडबारे आम नागरिक सचेत हुनु जरुरी छ र  समय समयमा थाइराइड स्क्रिनिङ गरिरहनुपर्छ ।

डा. गिरी मधुमेह, थाइराइड तथा हर्मोन विशेषज्ञ तथा नेपाल मेडिसिटी हस्पिटलकी इन्डोक्रोनोलोजी विभाग प्रमुख हुनुहुन्छ ।

एक उत्तर छोड्न