देशबाहिर क्रिकेटमा चम्किँदै सन्दीप

0
277

देशबाहिर क्रिकेटमा चम्किँदै सन्दीप

दुई वर्षअघि अस्ट्रेलियाली क्रिकेट खेलाडी माइकल क्लार्कसँगै उभिएर नेपाली युवा बलर सन्दीप लामिछानेले भनेका थिए, ‘बिग बास’ खेल्ने सपना देखेको छु । अहिले तिनै १८ वर्षीय सन्दीपले अस्ट्रेलियाको ‘बिग बास’ लिगमा मेलबर्न स्टार्सबाट खेल्दै नेपालबाट बिग बास लिगमा खेल्ने पहिलो खेलाडी बनेर इतिहास रचेका मात्र छैनन्, डेब्यू खेलमै सनसनी मच्चाएका छन् । उनले पहिलो खेलमा दुई र दोस्रो खेलमा तीन विकेट लिइसकेका छन् ।

चितवनको नारायणगढस्थित क्याम्पस चौरको नेटमा बल फ्याँक्ने ‘फुच्चे केटो’ को भाउ विश्व क्रिकेट बजारमा अहिले करोडौँ पुगिसकेको छ । यसै वर्ष मात्र विभिन्न अन्तर्राष्ट्रिय लिगमा सहभागिता जनाएका सन्दीपले नामसँगै दुई करोड रुपैयाँभन्दा बढी आम्दानीसमेत गरेका छन् ।

अस्ट्रेलियामा पहिलोपटक व्यावसायिक क्रिकेट खेल्न लागेका सन्दीपले न्यानो माया र सत्कार पाएका छन् । मेलबर्नका कप्तान ग्लेन म्याक्सवेल तथा रिकी पोन्टिङ र माइकल क्लार्कसँग परिचयका कारण उनलाई अस्ट्रेलिया नौलो लागेको छैन । सन्दीपले इन्डियन प्रिमियर लिग (आइपिएल) मा म्याक्सवेलसँग खेलेका थिए भने पोन्टिङ नयाँ दिल्लीका प्रशिक्षक थिए ।

चर्चित टिप्पणीकार तथा पाकिस्तानका पूर्वखेलाडी रमित राजाले पनि सन्दीपको प्रदर्शनको खुलेर चर्चा गरेका छन् । रमितले भनेका छन्, ‘उसको स्वभावले मलाई आकर्षण गरेको छ । यो उमेरमा पनि उसले सबै कुरालाई नियन्त्रणमा राख्न सकेको छ । भविष्यको यो स्टार खेलाडी हो ।’

दुई वर्षअघिसम्म सन्दीप लामिछानेलाई चिन्ने विरलै थिए । तर, सन् २०१६ मा बंगलादेशमा भएको यू–१९ विश्वकपमा ह्याट्रिक लिएपछि सन्दीप विश्व क्रिकेटमा एकाएक चर्चित बने । यू–१९ क्रिकेटमा ह्याट्रिक लिने उनी विश्वका पाँचौँ खेलाडी हुन् । आयरल्यान्डविरुद्धको त्यो ह्याट्रिकले उनलाई विश्वमाझ चिनायो जसका कारण सन्दीप अहिले विश्वका उत्कृष्ट फ्रेन्चाइजी लिगमा नभई नहुने खेलाडी जस्तै बनिसकेका छन् र करोडौँ आम्दानी पनि गरिरहेका छन् ।

राष्ट्रिय टोलीका कप्तान पारस खड्काले सन्दीप क्षमतावान् खेलाडी भएको प्रतिक्रिया दिएका छन् । उनी भन्छन्, ‘सन्दीप नेपाली क्रिकेटको भविष्य हो ।’

अहिले अस्ट्रेलियाको बिग बास लिग खेलिरहेका सन्दीपलाई फ्रेन्चाइजी लिग खेल्न भ्याइनभ्याइ छ । यसै वर्षको सुरुमा इन्डियन प्रिमियर लिगबाट टी–२० लिगमा डेब्यू गरेका उनले यही एक वर्षमा क्यारेबियन प्रिमियर लिग, ग्लोबल टी–२० क्यानडा, अफगानिस्तान प्रिमियर लिग, टी–१० लिग र अस्ट्रेलियाको बिग बास लिगमा आफ्नो उपस्थिति जनाएका मात्र छैनन्, विश्व क्रिकेटका हस्ती ब्याट्सम्यानलाई पेबेलियन पनि फर्काएका छन् । बिग बास लिगपछि सन्दीपले जनवरीमा बंगलादेश प्रिमियर लिग र फेब्रुअरीमा पाकिस्तान सुपर लिगमा खेल्नेछन् ।

सत्र वर्षको उमेरमा आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका सन्दीपले दिल्ली डेयरडेबिल्समा डेब्यू गरे । रोयल च्यालेन्जर्स बैंलोरविरुद्धको पहिलो ओभरमा ६ रन दिएका सन्दीपले दोस्रो ओभरमा पार्थिव पटेललाई पेवेलियनको बाटो देखाए । दोस्रो खेलमा दुई र तेस्रो खेलमा ३ विकेट लिँदा सन्दीपको सफलता मैदानमा जसरी चुलिँदै गएको थियो, कमेन्ट्री बक्समा पनि उस्तै गरी चुलिँदै थियो ।

सन्दीप जहाँ खेले त्यहाँ उनले आफ्नो स्पिनमा ब्याट्सम्यानलाई घुमाउन सफल भए । आइपिएलमा ६ विकेट लिएका सन्दीपले क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्सका लागि सात विकेट लिए । त्यसपछि क्यानडामा मोन्ट्रेल टाइगर्सका लागि ८ विकेट लिए । टी–१० लिगमा पनि केरला नाइट्सका लागि ६ विकेट लिए ।

सन्दीपले आगामी सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पनि पक्का भइसकेको छ । सन्दीपलाई गत महिना दिल्ली डेयरडेभिल्सले ‘रिटेन’ गरिसकेको छ । आइपिएल आगामी २३ मार्चमा सुरु हुनेछ । भारतमा आमनिर्वाचन हुने भएका कारण आइपिएल यूएई वा दक्षिण अफ्रिकामध्ये एक स्थानमा गर्ने तयारी गरिएको छ । जुनमा हुने आइसिसी एक दिवसीय विश्वकपका कारण आइपिएल एक महिनाअघि हुन लागेको छ ।

सन्दीपले अहिलेसम्म आइपिएल (भारत), ग्लोबल टी–२० (क्यानडा), सिपिएल (वेस्ट इन्डिज), एपिएल (अफगानिस्तान), पिपिएल (नेपाल), बिबिएल (अस्ट्रेलिया), बिपिएल (बंगलादेश) मा सहभागिता जनाइसकेका छन् ।

विश्व क्रिकेटमा उनलाई अहिले अद्भूत वा मूल्यवान् खेलाडी भन्न थालिएको छ । बिग बास लिगको पहिलो खेलमै दुई विकेट लिएपछि मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले उनको प्रशंसा गर्दै भनेका थिए, ‘उमेरमा ऊ कच्चा होला तर उसको बलिङ गर्ने शैली निकै उत्कृष्ट छ ।’
सन्दीपको क्षमताबाट प्रभावित हुने पहिलो लिजेन्ड माइकल क्लार्क थिए जसले हङकङमा सन् २०१६ मा भएको टी–२० ब्लिजमा उनको बलिङ देखेका थिए । त्यसपछि क्लार्कले लामिछानेलाई अस्टे«लियामा ग्रेड क्रिकेट खेल्न र प्रशिक्षण गर्नसमेत बोलाए ।

यस क्रममा उनले रिकी पोन्टिङ, ग्लेन म्याक्सवेल, सुनिल नराइन, क्रिस गेल जस्ता उच्चकोटीका खेलाडीसँग ड्रेसिङ रुममा बिताउन पाए । यससँगै उनले डेबिड वार्नर, क्रिस लिन र केइरन पोलार्ड जस्ता विश्वस्तरीय ब्याट्सम्यानहरूको विकेट पनि लिइसकेका छन् । यसै क्रममा नेपालले विश्व क्रिकेटमा ठूलो फड्को मार्न सफल पनि भयो ।

छोटो समयमै नेपाली क्रिकेट टोलीका चर्चित तथा महत्वपूर्ण खेलाडी बन्न सफल सन्दीपले आफ्नो प्रदर्शन र बलिङको मद्दतले नेपालको नाम थुप्रै पटक उँचो पारिसकेका छन् । सानै उमेरमा चर्चाको शिखरमा पुग्न सफल सन्दीपले धेरै शुभेच्छुकहरू कमाएका छन् ।

स्याङ्जाको आरुचौरमा जन्मेका उनी सानैमा भारतीय रेल्वे सेवामा जागिरे आफ्नो बाबु चन्द्रनारायण लामिछानेसँगै भारत पुगेका थिए । भारतमा चार कक्षासम्म पढेर उनी नेपाल फर्केका थिए । सन्दीपले चितवनको नारायणगढस्थित क्याम्पस चौरमा रहेको चितवन क्रिकेट एकेडेमीमा क्रिकेट सिकेका हुन् । त्यहाँ पूर्वराष्ट्रिय क्रिकेटर राजु खड्काबाट उनी प्रशिक्षित भए । ‘आफूले क्रिकेट सिकाएको केटो अहिले विश्व मञ्चमा चर्चित हुँदा मलाई वर्ग लागेको छ,’ खड्काले भने ।

तत्कालीन नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके चितवनमा एक दिने प्रशिक्षणका लागि पुग्दा सन्दीपको बलिङबाट एकै नजरमा प्रभावित भएका थिए । त्यसपछि आइसिसी विश्व क्रिकेट लिगअन्तर्गत यूएईसँगको खेलका लागि राष्ट्रिय क्रिकेट टोलीको छनोट गर्न आयोजित सुपर लिगमा सन्दीपलाई खेल्ने मौका दिइएको थियो । सुपर लिगअन्तर्गत एक खेलमा सन्दीपले ४ विकेट लिएका थिए ।

सुपर लिगमा राम्रो प्रदर्शन गरेपछि बंगलादेश यू–१९ विश्वकप २०१६ खेल्ने टोलीमा सन्दीप छनोट भएका थिए । यू–१९ विश्वकप २०१६ मा सन्दीप प्रतियोगिताकै सर्वाधिक विकेट लिने सूचीमा १४ विकेटसहित दोस्रो स्थानमा थिए । आइसिसीले सन्दीपलाई उक्त यू–१९ विश्वकपको उत्कृष्ट ११ क्रिकेटरको सूचीमा समेत राखेको थियो ।

यू–१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि २०१६ अप्रिलमा नेपालमा सम्पन्न नामिबिासँगको आइसिसी विश्व क्रिकेट लिग म्याचमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि खेल्ने मौका पाएका सन्दीप त्यसपछि राष्ट्रिय टोलीबाट लगातार खेलिरहेका छन् ।

एक उत्तर छोड्न