नेपालको सानदार सुरुवात

0
42

१३औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गतको महिला भलिलबमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले सानदार सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा बुधबार भएको पहिलो खेलमा बंगलादेशलाई ३–० को सोझो सेटमा जित निकाल्दै नेपालले सानदार सुरुवात गरेको हो ।

एकपक्षीय खेलमा नेपालले बंगलादेशमाथि २५–९, २५–९ र २५–११ ले पराजित गरेको हो । बंगलादेशमाथिको जितसँगै नेपालले सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । अब शुक्रबार नेपालले बलियो टोली भारतको सामना गर्नेछ । यो खेलमा जित हात पारे नेपाल समूह ‘ए’ को विजेता बन्नेछ । भारतले बिहीबार बंगलादेशसँग खेल्नेछ ।

घरेलु कोर्टमा नेपालले बंगलादेशलाई सुरुवातदेखि नै दबाबमा राखेको थियो । बंगलादेशले खेल अवधिभर कुनै समय नेपालमाथि दबाब राख्न सकेनन् । कमजोर देखिएको बंगलादेशमाथि नेपालले पहिलो र दोस्रो सेट समान २५–९ अन्तरले जितेको थियो । तेस्रो सेटमा बंगलादेशले सुरुवाती समयमा चुस्त प्रतिस्पर्धा दिए पनि सोझो सेटको हार टार्न सकेन ।

प्रशिक्षक जगदीश भट्टले खेलको दोस्रो सेटपछि दोस्रो रोजाइका खेलाडीलाई अवसर दिएका थिए । दोस्रो सेटको अन्तिम समयतिर कोर्ट प्रवेश गर्दै स्पाइकर उषा भण्डारीले पनि राष्ट्रिय टोलीका लागि डेब्यु गरिन् । उनीसँगै सेन्ट्रल जोन प्रतियोगिता गुमाएकी हिरा केसी पनि दोस्रो सेटमा नै कोर्ट प्रवेश गरेकी थिइन् ।

पहिलो सेटमा सरस्वती चौधरीले तथा दोस्रो सेटमाप्रतिभा मालीले उत्कृष्ट प्रर्दशन गरिन् । नेपाली स्पाइकर र सटरले प्रहार गरेको सट बंगलादेशका खेलाडीलाई उठाउन नै हम्मेहम्मे परेको थियो । समूह ‘ए’ मा नेपाल, भारत र बंगलादेश रहेका छन् । समूह ‘बी’ मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स छन् ।

उषा र हीराको डेब्यु

ओपन स्पाइकर उषा भण्डारी र मिडल ब्लकर हिरा केसीले नेपाली महिला राष्ट्रिय भलिबल टोलीका लागि डेब्यु गरेकी छन् । नेपालले १३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत पहिलो खेलमा बंगलादेशमाथि सहज जित दर्ता गर्दा दुवै खेलाडीले राष्ट्रिय टोलीमा डेब्युको अवर पाएकी हुन् ।

उषा र हिरा दुवै दोस्रो सेटको अन्त्यतिर कोर्ट प्रवेश गरेका थिए । प्रशिक्षक जगदीश भट्टले पहिलो सेटमा सहज जित दर्ता गर्दै दोस्रो सेटमा पनि फराकिलो अग्रता लिएपछि अन्य खेलाडीलाई अवसर दिएका थिए । यी दुवै बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन भलिबलका लागि घोषित १८ सदस्यीय टोलीमा रहे पनि अन्तिम टोलीमा परेका थिएनन् ।

नेपाल पुलिस क्लबबाट व्यावसायिक भलिबल खेल्दै आएकी उषा मात्र १५ वर्षकी छन् । उनले राष्ट्रिय टोलीबाट खेल्न पाउँदा निकै खुसी लागेको बताइन् । ‘घरेलु कोर्टमा डेब्यु गर्न पाएँ । कोर्ट प्रवेश गर्दा केही नर्भस थिएँ । तर, पहिलो स्पाइकमा नै अंक जोड्न सफल रहे । त्यसपछि सबै सहज भयो,’ उनले भनिन् । एपीएफबाट खेल्दै आएकी हिराले डेब्यु गर्न पाउँदा लामो समयको मिहिनेतको फल पाएको महसुस गरेको बताइन् । ‘९ वर्ष यता भलिबलमा छु ।

निकै लामो समय मिहिनेत गरेको थिएँ । सेन्ट्रल जोनको टोलीमा नपर्दा निकै दुःख लागेको थियो । अझै मिहिनेत गरे टोलीमा पर्छु भन्ने थियो र परें पनि । देशको लागि खेल्न पाउँदा गर्व महसुस भइरहेको छ,’ हीराले भनिन् । सागका लागि घोषित प्रारम्भिक टोलीमा नै अधिकांश नयाँ अनुहार टोलीमा रहेका थिए । सेन्ट्रल जोन प्रतियोगितामा ६ खेलाडीले डेब्यु गरेपछि अहिले हीरा र उषा पनि टोलीका नयाँ खेलाडीमा थपिएका थिए ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटन हुन अब तीन दिन मात्रै बाँकी छ । त्रिपुेश्वस्थित दशरथ रंगशालामा १५ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको औपचारिक उद्घाटन गर्नेछन् । काठमाडौं, पोखरा र जनकपुरमा आयोजना हुने सागमा विभिन्न २६ खेलमा साग राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । आयोजक नेपालले सबै २६ खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

भलिबलमा पुरुषतर्फ ६ र महिलातर्फ ५ राष्ट्रको सहभागिता रहेको छ । महिलामा पाकिस्तानले अन्तिम समयमा आएर सहभागिता जनाएन । पुरुष र महिला दुवैतर्फका खेलहरू लिग कम नकआउटका आधारमा हुनेछ ।

पुरुष भलिबलमा नेपालको हार

साग अन्तरगतको महिलातर्फ सफलता पाएपनि पुरुष भलिबलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । घरेलु कोर्टमा नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित भएको हो । हारसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना झिनो बनेको छ ।

नेपालले पहिलो सेटमा २५–२१ को जित निकालेको थियो । प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा नेपाल २३–२५ ले पछि परेको थियो । तेस्रो सेटमा पनि नेपालले २५–१९ को जित निकाल्दै खेलमा २–१ को अग्रता बनाएको थियो । निकै नै प्रतिस्पर्धात्मक चौथो सेट नेपालले २४–२६ ले गुमाएको थियो । निर्णायक सेटमा एक समय ८–३ को कमजोर अवस्थामा रहेपनि नेपालले उत्कृष्ट पूनराथमन गरेपनि १२–१५ ले बंगलादेशलाई नतिजा सुम्पियो । जितसँगै बंगलादेशले २ तथा पराजत नेपालले १ अंक जोडेको छ ।

एक उत्तर छोड्न