नेपालमा प्रतिवर्ष ८ हजारलाई आँखाको नानी आवश्यक

0
51

काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मरणोपरान्त अर्थात निधनपछि आँखाको नानी दान गर्ने अठोट गरे । उनीहरुले आँखाको नानी मात्रै दान गरेनन्, आँखा दानको महत्त्व बुझाउँदै नेपालमा हुने हरेक कार्यक्रममा सहभागी हुने गर्छन् । यी दुई वरिष्ठ कलाकार कार्यक्रममा आँखा दानको महत्त्व बारेमा जानकारी गराउने अग्रस्थानमै पर्छन् ।  

वरिष्ठ कलाकार हरिवंश आचार्यकी पत्नी स्व. मिरा आचार्यले पनि मृत्युपछि आँखा दान गर्ने इच्छा व्यक्त गरेकी थिइन् । निधनपछि स्व. मिराको आँखाको नानी अहिले अरू दुई व्यक्तिको आँखामा छ । स्व. मिराले आँखाको नानी दान गर्दा अहिले दुई जनाले संसार देख्ने ठूलो मौका पाएका छन् । त्यसैले त वरिष्ठ कलाकार हरिवंश आचार्यले अहिले पनि मेरो पत्नी स्व. मिरा आचार्यले मृत्युपरान्त दान गरेका आँखा कोही दुई जनाबाट हेरिरहेकाले हालसम्म पनि मेरी श्रीमती जीवित छिन् भन्ने गर्छन् । नेपालमा गरिएका आँखाको नानी दानको यी केही उदाहरण मात्रै हुन् । तर आँखा दान नै जीवन दान हो भनेर लाग्ने कलाकारमा महजोडी नै पहिलो नम्बरमा पर्छन् ।

आँखाको नानीका कारण नेपालमा कति दृष्टिविहीन छन् भन्ने यकिन तथ्याङ्क सरकारसँग छैन । तर वर्षमा ८ हजार आँखाका नानी आवश्यक पर्ने अनुमानित तथ्याङ्क छ । अहिलेसम्मको तथ्याङ्क हेर्ने हो भने नेपालमा प्रतिवर्षमा एक हजारका दरले आँखाको नानी प्रत्यारोपण भइरहेको देखिन्छ । यो दर आवश्यकताभन्दा निकै कम सङ्ख्या हो ।

आँखाको नानी दान, प्रत्यारोपणको काम तिलगङ्गा आँखा प्रतिष्ठानमा रहेको नेपाल आँखा बैङ्कले गर्दै आइरहेको छ । धेरैको बुझाइ आँखा नै झिक्ने भन्ने रहेको हुँदा दान गर्न नचाहाने नेपाली धेरै छन् । तर आँखा दान गर्दा दृष्टिका लागि आवश्यक पर्ने भाग अर्थात नानी मात्रै झिकिन्छ । आँखा बैङ्क सञ्चालन भएको २४ वर्ष भयो । अहिलेसम्म १६ हजार आँखा प्रत्यारोपण भइकेको छ भने ७५ हजारले मरणोपरान्त आँखाको नानी दान गर्ने इच्छा व्यक्त गरेका छन् ।  

के हो आँखा दान ?

आँखा दानको कार्यक्रम सुरु भएको करिब साढे दुई दशक भयो । नेपालमा गरिएको एक अन्धोपन सर्वेक्षणले सय जना व्यक्तिमा करिब एक जना (०.८ प्रति १००)   दृष्टिहीन हुने भनिएको छ । यसको पहिलो कारण आँखाको लेन्सको पारदर्शकत्वमा ह्रास वा कमी आएर हुने मोतिविन्दु हो भने आँखाको नानीमा आउँने खराबीको कारण दृष्टिहीन हुने दोस्रो कारण मानिँदै आइरहेको छ । आँखाको नानीमा फुलो पर्दा कुनै किसिमको उचित उपचार अहिलेसम्म हुन सकेको छैन । जसको एक मात्र विकल्प भनेको आँखा नानी फेर्नु नै हो । एक व्यक्तिको आँखाको नानी अर्काे व्यक्तिको आँखामा राख्नुलाई नै आँखाको नानी दान भन्ने गरिन्छ । तर आँखाको नानी दानमा आँखाको सबै भागभन्दा पनि आँखाको नानी मात्रै दान गरिन्छ र आवश्यक परेको व्यक्तिलाई प्रत्यारोपण गर्दा पनि आँखाको नानी मात्रै प्रत्यारोपण गरिन्छ ।

आँखाको नानी प्रत्यारोण भन्नाले हाम्रो आँखाभित्रको नानी प्रत्यारोपण गर्ने हो । आँखा स्वास्थ्य भएको कुनै पनि व्यक्तिको निधन भएको ८ घण्टासम्ममा आँखाको नानी दान अर्थात झिक्न सकिन्छ । अस्पतालमा निधन भएको व्यक्तिहरुको भने आँखामा पट्टी लगाए र आँखा बन्द गरेर राख्ने हो भने निधन भएको १४ घण्टासम्ममा पनि आँखाको नानी निकाल्न मिल्छ । तर त्यो समयमा आँखालाई बन्द गरेर या आँखामा पट्टी राखेको हुनुपर्छ । 

यसरी गरिन्छ आँखा प्रत्यारोपण

आँखा दान गरेको व्यक्तिमा एचआईभी, हेपटाइटिस ए, बी र सी, यौन र रेबिज  रोग हुनु हुँदैन । यस्ता कुनै पनि रोग भएको व्यक्तिले आँखा दान गर्न मिल्दैन । आँखाको नानी निकालेपछि यो सबै किसिमको रोगको परीक्षण गरिन्छ । जसका लागि ३ देखि ४ घण्टा लाग्छ । आँखाको नानीसँगै आँखा दान गर्ने व्यक्तिको रगत पनि ल्याइन्छ र सो रगतमार्फत माथि उल्लेख गरिएको रोग भए नभएको बारेमा जाँच गरिन्छ । सबै रिपोर्ट नेगेटिभ भएको खण्डमा त्यो आँखाको नानी अर्काे व्यक्तिको आँखामा प्रत्यारोपण गर्न उपयुक्त हुन्छ । 

आँखाको नानीलाई औषधिको सहायतामा बोतलमा राखिन्छ । त्यसमा राखेपछिको १४ दिनसम्ममा सो आँखाको नानी अर्काे व्यक्तिको आँखामा प्रत्यारोपण गरिसक्नुपर्ने हुन्छ । आँखाको नानी प्रत्यारोण कर्निया सर्जनले मात्रै गर्न सकिन्छ ।

क्रम म्याचिङको जरुरी छैन

अङ्ग प्रत्यारोपणमध्ये आँखाको नानी प्रत्यारोपण निकै सहज र सुलभ मानिन्छ ।   आँखाको नानी प्रत्यारोण पनि निःशुल्क हुँदै आइरहेको छ । आँखाको नानी प्रत्यारोणको लागि प्रत्यारोपण गर्ने व्यक्तिमा कुनै पनि क्रस म्याचिङ गर्नु पर्दैन । आँखाको नानीमा ब्लड सर्कुलेसन नभएको हँुदा क्रस म्याचिङको आवश्यक हुँदैन सर्जरी कस्तो प्रकारको हो भन्ने कुरा जानकारी भएपछि आँखा प्रत्यारोणमा भने क्रस म्याचिङ आवश्यक नहुने एक प्राविधिकले बताए । ७.५ देखि ८ एमएमसम्म आँखाको नानीको साइज हुनुपर्छ । दानपछि ल्याइएको आँखाको सुरुमा साइज नै नापिन्छ । आँखाको नानी निकालिसकेपछि प्लास्टिकको आँखाको नानी राखिन्छ ।

आँखाको नानी प्रत्यारोपण विशेषज्ञ डाक्टर लिना बज्राचार्यका अनुसार आँखाको गोलो कालो भागको माथिल्लो पट्टी पारदर्शी लिएर हुन्छ सोही लिएर अर्काे व्यक्तिको आँखामा प्रत्यारोपण गर्नुलाई नै आँखाको नानी प्रत्यारोपण भनिन्छ । आँखाको नानी प्रत्यारोपण आँखाको नानीकै कारण भएको अन्धोपनमा गरिन्छ । 

आँखा प्रत्यारोपणले आँखामा आएको सबै प्रकारको समस्या समाधान गर्ने हाम्रो बुझाइ छ, यो गलत हो । आँखाको नानीकै कारणले दृष्टिविहीन भएको खण्डमा मात्रै आँखाको नानी प्रत्यारोपण गर्न सकिन्छ ।

जस्तै फुलो परेको, आँखाको कालो भागमा माथिल्लो पट्टी हुने ट्रासप्वाइन्ट लिएर घडीको सिसा जस्तै हुन्छ । त्यसमा कुनै किसिमको दाग बसेमा, इन्फेक्सनले नानी पाकेर नदेखिने भएमा आँखाको नानी प्रत्यारोपण गर्न सकिन्छ । विभिन्न किसिमको भाइरस, ब्याक्टेरिया, फङ्गस, किटाणुको सङ्क्रमणले आँखाको नानी फुट्यो पाक्यो भने आँखाको नानी प्रत्यारोपण गर्न सकिन्छ । डाक्टर बज्राचार्यका अनुसार नेपालमा गरिने आँखाको नानी प्रत्यारोपणमा पनि यस्तै कारणले अन्धोपन भएका व्यक्तिलाई आँखाको नानी प्रत्यारोपण गरिँदै आइरहेको छ ।

कुनै चोटपटकबाट आँखाको नानी फुटेमा, आँखाको नानीमा दाग बसेमा पनि प्रत्यारोपण गर्न सकिन्छ । झाडापखाला, दादुरा, टाइफाइड जस्ता विभिन्न कारणले बालबालिकाको शरीर कमजोर हुन्छ  भिटामिन ‘ए’ को कमीले गर्दा पनि दुवै आँखाको नानीमा असर पर्न सक्छ यस्तो अवस्थामा पनि आँखाको नानी प्रत्यारोपण गर्न सकिन्छ ।

प्रत्यारोपणपछि ध्यान दिनुपर्ने कुरा

आँखाको नानी प्रत्यारोपण गरेपछि धेरै ख्याल गर्नुपर्ने हुन्छ । एक व्यक्तिको आँखाको नानी अर्काे व्यक्तिको आँखामा राख्दा अर्थात प्रत्यारोपण गर्दा सम्बन्धित व्यक्तिले जीवनभर ख्याल गर्नुपर्छ ।

अप्रेसन गरेको ३ महिनासम्म प्रत्यारोपण गरेको आँखाको धेरै ख्याल गर्नुपर्ने हुन्छ । प्रत्यारोपण गरेको आँखाको नानीमा कुनै पनि बेला रियाक्सन (सङ्क्रमण) हुन सक्छ । आफ्नो आँखाको नानी र प्रत्यारोण गरेको आँखाको नानी गरी दुई किसिमको आँखाको नानी हुँदा रियाक्सन हुने सम्भावना हुन्छ । जसले गर्दा आफ्नो आँखा र प्रत्यारोपण गरेको आँखाबीच रिजेक्सन हुन सक्छ ।

आँखाको नानी प्रत्यारोपण गरेको व्यक्तिले रियाक्सनको लक्षण थाहा पाउनुपर्ने हुन्छ । प्रत्यारोपणपछि आँखा धमिलो भयो, रातो भएको महसुस भयो, उज्यालो अर्थात चम्किलो प्रकाश हेर्न गाह्रो भयो भने सकेसम्म चाँडोे चिकित्सकलाई देखाउनुपर्छ । प्रत्यारोपण गरेको आँखामा यस्तो लक्षण देखिनु भनेको रियाक्सनको लक्षण हुन सक्छन् । यी कुराहरुमा आँखाको नानी प्रत्यारोपण गरेको व्यक्तिले सतर्कता अपनाउनुपर्छ ।

यस्ता लक्षणहरु आँखाको नानी प्रत्यारोपण गरेको १०,  २० वर्षपछि पनि देखिन सक्छ । यस्तो किसिमको रियाक्सन धेरैजसो बालबालिकामा हुने गर्छ ।

आँखाको नानी प्रत्यारोपणपछि रियाक्सन नहोस् भनेर रिजेक्सन प्रिभेन्ट गर्ने औषधि पनि दिइन्छ । त्यो औषधि कम्तीमा पनि दुई वर्ष नियमित लगाउनुपर्छ । तर कुनै व्यक्तिको हकमा अथाव अवस्था अनुसार लामो समयसम्म पनि राख्नुपर्ने हुन्छ । पटक पटक रिजेक्सन भएमा लामो समय यस्तो औषधि लगाउनुपर्ने हुन्छ । चिकित्सकले प्रत्यारोपणपछि आँखाका लागि दिइएको औषधि समयमा नियमित लगाइएन भने पनि आँखामा रियाक्सन हुन सक्छ । मोतिविन्दु, जलविन्दु ५० वर्ष उमेर काटेपछि देखिने समस्या हुन् । तर आँखाको नानीको कारण हुने इन्फेक्सन युवा उमेरमा धेरै देखिएको छ । प्रत्यारोपण गरेको आँखाका लागि भने धेरैले चस्मा लगाउनुपर्ने हुन्छ । चस्माले आँखाको दृष्टिमा अझ मद्दत गर्छ ।

सानोभन्दा सानो चोटले पनि प्रत्यारोपण गरेको आँखालाई असर पु¥याउन सक्छ । त्यसैले आँखाको नानी प्रत्यारोपण गर्ने व्यक्तिले आँखालाई सधैँ चोटपटक लाग्नबाट बचाउनु पर्छ । चिकित्सकको सल्लाहअनुसार समयमा औषधि राख्नुपर्छ । प्रत्यारोपण गरेको सुरु सुरुमा केही समयको फरकमा आँखाको अवस्थाबारे जानकारी लिइराक्नुपर्छ । कुनै समस्या नभए पनि ६, ६ महिनामा परीक्षण गर्नुपर्छ । समस्या देखिएको खण्डमा तुरुन्तै चिकित्सकलाई देखाउनुपर्छ ।

आँखा प्रत्यारोपणको २४ वर्ष

नेपालमा आँखाको नानी प्रत्यारोपण सुरु भएको २४ वर्ष भयो । वि.सं. २०५१ भाद्र ३१ गते पहिलो पटक आँखाको नानी प्रत्यारोपण गरिएको हो । तिलगङ्गा आँखा प्रतिष्ठानमा रहेको नेपाल आँखा बैङ्कका म्यानेजर शङ्कर त्वाय्नाका अनुसार आँखा बैङ्क सञ्चालन गरेको वर्षमा एक जनाले  दुईवटा आँखाको नानी दान गरेका थिए । आँखा बैङ्क स्थापनाको वर्ष र अहिलेको तुलना गर्ने हो भने आँखा दान गर्नेको सङ्ख्या अहिले धेरै देखिएको छ । गतवर्ष १ हजार १ सय ८८ वटा आँखाको नानी दान गरिएको थियो । स्थापना काल र अहिलको समयलाई हेर्ने हो भने आँखा दानमा नेपालमा धेरै परिवर्तन भएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान अन्तगर्तको नेपाल आँखा बैङ्कले आँखा प्रत्यारोपणमा ‘अन्तर्राष्ट्रिय स्तरका क्वालिटी’ प्रमाणपत्र पनि प्राप्त गरिसकेको छ ।

 आँखा दान अन्य अङ्गभन्दा फरक

आँखा दान अन्य अङ्गभन्दा नितान्त फरक रहेको छ । आँखाको नानी मान्छेको निधन भइसकेपछि मात्र झिक्ने गरिन्छ । सबैका आँखा झिक्ने र प्रत्यारोपण गर्ने भन्ने सोचाइ गतल भएको म्यानेजर त्वाय्ना बताउँछन् । आँखामा रक्तसञ्चार हुँदैन । जोसुकैका आँखाको नानी जोसुकैलाई प्रत्यारोपण गर्न सकिन्छ ।

‘स्थापनाको सुरुवातमा कसैको निधन भएपछि आँखा बैङ्कलाई आँखादानका लागि बोलाउँछन् कि भन्ने लाग्थ्यो । तर अहिले देशभर नै आँखा बैङ्क स्थापना भएकाले मरणोपरान्त आँखा दान गर्न चाहने व्यक्तिले आफूलाई नजिक पर्ने ठाउँमा गएर आँखाको नानी दानको फारम  भर्ने गर्छन् ।’ म्यानेजर त्वाय्ना भन्छन्, हाल  उपत्यकामा वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल टिचिङ, गङ्गालाल अस्पतालमा आँखा बैङ्कका शाखा सुरु गरिएको छ ।

यस्तै उपत्यका बाहिर मेची आँखा अस्पताल, विराटनगर आँखा अस्पताल, लहान आँखा अस्पताल, हेटौँडा, भरतपुर र पोखरालगायत देशको विभिन्न ठाउँमा नेपाल आँखा बैङ्कको सुरुवात भइसकेको छ । यी आँखा बैङ्कमा आँखा दान गरेका व्यक्तिको निधन भएको खण्डमा जानकारी गराएपछि बैङ्कका कर्मचारी आँखाको नानी झिक्न सम्बन्धित स्थानमा पुग्ने गर्छन् ।

१६ हजार प्रत्यारोपण

तिलगङ्गा आँखा प्रतिष्ठानले नेपाल आँखा बैङ्क स्थापना गरेदेखि अहिलेसम्म १६ हजार आँखा प्रत्यारोपण गरिसकेको छ । आँखाको नानी दान गर्ने इच्छुक व्यक्ति झण्डै ७५ हजार छन् । तर ती व्यक्तिहरूको निधन भएको छ छैन भन्ने बारेमा बैङ्कले सोध्न नैतिकताले नमिल्ने हुँदा सम्बन्धित व्यक्तिले खबर नरेकाले अहिलेसम्म कतिले आँखा दान गरे भन्ने रेकर्ड छैन ।

आँखा दान गर्न इच्छुक व्यक्तिको निधन हुँदा परिवारले जानकारी गराउने हो भने मात्र आँखा दान गर्नेको सङ्ख्या अझै बढ्दै जाने देखिन्छ ।

 म्यानेजर त्वाय्ना भन्छन्, ‘मानिसको निधन नहोस् भन्ने हामी सबैको चाहाना हुन्छ तर निधन भएको खण्डमा काम लाग्ने अङ्गलाई दान गरेर अर्काे व्यक्तिको जीवनलाई दृष्टि दिन सकिन्छ भने हामी किन त्यो काम नगर्ने ? ’

वैज्ञानिकहरुले कृत्रिम नानी  बनाउने प्रयास नगरेको भने होइन तर अहिलेसम्म सफलता प्राप्त नभएको हुँदा  विकल्पका रुपमा आँखाको नानी नै दान गर्नुपर्ने भएको छ ।

१० देखि २० प्रतिशत बढ्दै

यकिन तथ्याङ्क नभए पनि नेपालमा प्रतिवर्षमा ८ हजार आँखाको नानी आवश्यक रहेको बुझिन्छ । तर हरेक वर्ष १ हजार मात्रै प्रत्यारोपण हुँदै आएको छ । क्वालिटी र क्वान्टिटीमा हेर्ने हो भने नेपालमा आँखाको नानी प्रत्यारोपण राम्रो स्थानमा नै रहेको भनिन्छ । 

आँखा बैङ्क सुरु भएको केही वर्षसम्म आँखाको नानी विदेशबाट नै मगाइन्थ्यो । ४ सय ६३ वटा आँखाको नानी विभिन्न देशबाट नेपालमा ल्याइएको थियो । सन् १९९८, २००७ र २००८ मा गरी ६३ वटा आँखाको नानी ल्याइएको थियो ।  

समग्र आँखा दानको सङ्ख्यालाई हेर्ने हो भने गत वर्षमा मात्रै ३५ प्रतिशत बढेको देखिन्छ । यस्तै सन् २०१७ मा ८ सय ६१ र सन् २०१८ मा १ हजार १ सय ८८ नानी दान गरिएको छ । यो सङ्ख्या भनेको प्रतिशतको आधारमा ३५ प्रतिशतले बढ्दो हो । वर्षमा १० देखि २० प्रतिशत आँखा दानको सङ्ख्या बढाउने नेपाल आँखा बैङ्कको लक्ष्य छ । प्रत्येक  प्रदेशमा एक आँखा बैङ्कको शाखा सञ्चालनमा ल्याउने हो भने आँखा दान र प्रत्यारोपणको काम अझ प्रभावकारी हुने र आवश्यकता अनुसार आँखाको नानी प्राप्त गर्न सकिने देखिन्छ ।    

आँखा दानका चुनौती

आँखा दानको प्रमुख चुनौतीको रूपमा जनचेतना जगाउनमा नै देखिएको छ । नागरिकलाई आँखा दानका बारेमा राम्रोसँग जानकारी गराउन अझै सकिएको छैन । यसले गर्दा आवश्यकताअनुसार आँखाको नानी अझै पूर्ति हुन सकेको छैन । विभिन्न धार्मिक रीतिरिवाजका कारणले पनि आँखा दानलाई नागरिकले महत्त्वका साथ हेरेको पाइँदैन । यदि आँखा दानलाई संस्कारका रुपमा विसित गर्न सक्ने हो भने आँखाको नानीका कारणले दृष्टिविहीन  व्यक्तिमा कमी आउने देखिन्छ ।

अमेरिका, युरोपीयन लगायतका देशमा आँखाको नानी दान र प्रत्यारोपणको अवस्था राम्रो छ । भारत पनि आँखा दान र पत्यारोपणको अवस्थालाई राम्रो मानिन्छ । भारतका धेरै प्रदेशमा आँखाको नानी दान र प्रत्यारोणको अवस्था राम्रो छ ।

एक उत्तर छोड्न