नेपाल सेमिफाइनललाई तयार

0
137

विराटनगर । पाँचौ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाली महिला टिमले बुधबार सेमिफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ । नेपाललाई उपाधिको दाबेदार टिमका रूपमा हेरिएको छ । नेपाल र श्रीलंकाबीचको खेल विराटनगरस्थित शहीद मैदानमा बिहान ११ बजे हुनेछ ।

समूह ‘ए’को विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको नेपालले श्रीलंकालाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्य बनाएको छ । समूह चरणमा नेपालले भुटान र बंगलादेशलाई समान ३–० ले पराजित गरेको थियो । नेपालसँग पराजित भएको बंगलादेशले भुटानलाई पराजित गरेको थियो ।

नेपाली खेलाडीले आइतबार सामान्य प्रशिक्षण गरे पनि सोमबार पूर्ण प्रशिक्षण गरेका छन् । घरेलु टोली भएको कारण नेपालले प्रतियोगिता हुने शहीद रंगशालामै नियमित प्रशिक्षण गर्न पाइरहेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले भने ‘प्रशिक्षण राम्रो भइरहेको छ । सबै खेलाडीले निकै मिहनेत गरेका छन् ।’ प्रशिक्षण दौरान प्रशिक्षक खड्काले खेलाडीहरू पनि सबै फिट रहेको बताए । ‘इन्जुरी समस्या देखिएको छैन । श्रीलंकाविरुद्ध राम्रो नतिजामा जित हुने विश्वास छ,’ उनले भने ।

श्रीलंकाका मुख्य प्रशिक्षक तिलक रोहण अल्पोन्सुले नेपालविरुद्धको सेमिफाइनलमा आक्रामक खेल पस्कने बताएका छन् । प्रशिक्षक अल्पोन्सुले नेपाललाई हराएर फाइनल पुग्ने लक्ष्य रहेको बताए ।

नेपाल तीन संस्करणको फाइनलमा भारतसँग निराश भएको नेपाल अघिल्लो संस्करणमा भने सेमिफाइनलमै भारत तगारो बनेको थियो ।

यसपटक एक महिनाअघि भएको हिरो गोल्डकपमा भारतलाई उसकै भूमिमा २–१ ले पराजित गरेपछि हौसिएको नेपालले सोही जुझारु प्रदर्शनलाई निरन्तरता दिने योजना बुनेको छ ।

बुधबार नै दोस्रो सेमिफाइनलमा चारपटकको च्याम्पियन भारतले बंगलादेशसँग खेल्दै छ । खेल ३ बजेपछि शहीद मैदानमा हुनेछ ।

जारी प्रतियोगितामा भारत र नेपाल अपराजित छन् । भारतले पहिलो खेलमा माल्दिभ्सलाई ६–० ले तथा दोस्रो खेलमा श्रीलंकालाई ५–० ले पराजित गर्दै समूह विजेता बनेर सेमिफाइनलमा स्थान बनाएको थियो । समूह ‘बी’बाट एक जित र एक हार निकालेको श्रीलंकाले उपविजेताका रूपमा सेमिफाइनलमा स्थान बनाउन सफल भएको थियो ।

साफमा हेड टु हेड

सन् २०१० बाट महिला साफ च्याम्पियनसिप सुरु भएयता नेपालले यो प्रतियोगितामा तीनपटक श्रीलंकासँग प्रतिस्पर्धा गरेको छ । सबै ती खेलमा नेपालले जित हात पारेको छ ।

सन् २०१२ मा श्रीलंकामै भएको प्रतियोगिताको सेमिफाइनलमा नेपालले घरेलु टोलीलाई ३–० ले पराजित गरेको थियो । ३–० को जितमा अनु लामा, दीपा अधिकारी र लक्ष्मी पौडेलले गोल गरेकी थिइन् । यी तीनै गोलकर्ता अहिले टिममा अटाएकी छैनन् ।

सन् २०१४ मा पाकिस्तानमा नेपाल र श्रीलंकाको समूह चरणमै भेट भएको थियो । उक्त खेलमा पनि नेपालले ३–० को सहज जित हात पारेको थियो । त्यतिबेला अनु लामाले २ तथा निरु थापाले १ गोल गरेकी थिइन् । निरुले जारी प्रतियोगितामा नेपालको कप्तानी सम्हालिरहँदा अनुले भने टिममा स्थान बनाउन सफल भइनन् । सन् २०१६ मा भारतमा भएको चौथो संस्करणमा पनि नेपाल र श्रीलंकाले समूह चरणमै प्रतिस्पर्धा गरेको थियो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको ३ मिनेट बाँकी रहँदा नेपालले आत्मघाती गोलबाट १–० को जित निकालेको थियो । श्रीलंकाकी गुनावर्दनेले ८७औं मिनेटमा आत्मघाती गोल गरेकी थिइन् ।

एक उत्तर छोड्न