पोखरामा प्याराग्लाइडिङ : अव्यवस्थित उडान र अवतरण

0
205

लेखनाथ — सुरुवात भएको दुई दशक बितिसक्दा पनि पोखरामा प्याराग्लाइडिङको टेक अफ (उडान) र ल्यान्डिङ (अवतरण) स्थल अझै व्यवस्थित हुन सकेको छैन । प्याराग्लाइडिङमा विश्वकै आकर्षक गन्तव्यमा दरिएको पोखराको सराङकोटमा व्यवस्थित टेक अफ र ल्यान्डिङ स्थल बनाउन कसैले चासो दिएका छैनन् ।
हाल पोखरा महानगरपालिका १८ को सराङकोट, तोरीपानी र मान्द्रेढुंगाबाट प्याराग्लाइडिङ उडान हुन्छन् । सराङकोटबाट उड्नेले खपौंदी, तोरीपानीबाट उड्नेले चंखपुर र मान्द्रेढुंगाबाट उड्नेले पामेमा अवतरण गर्नुपर्छ । प्याराग्लाइडिङ पोखराबाट रंगीचंगी चरा उडेजस्तै सुन्दर देखिए पनि उडान र अवतरण स्थल पुग्दा कुरूप देखिन्छ । उडान स्थलमा ढुंगैढुंगा निस्किएका छन् । धेरै भिरालो जमिनमा सुरक्षाको कुनै प्रबन्ध छैन । अवतरण स्थलमा आपतकालीन उद्धारको व्यवस्था छैन । उडान र अवतरण स्थलमा शौचालयसमेत छैनन् । दिसापिसाव गर्न पाइलट र यात्रु नजिकैको झाडीमा पस्नुपर्ने बाध्यता छ ।

प्यारापाइलट उमेश पहारी टेक अफ र ल्यान्डिङ व्यवस्थित नहुँदा दैनिकजसो दुर्घटना हुने बताउँछन् । ‘तोरीपानीमा बढी ढुंगा निस्किएकाले टेक अफको बेला दुर्घटना हुने सम्भावना हुन्छ,’ उनले भने, ‘कतिपय यात्रु र पाइलटको हात–खुट्टा भाँच्चिएका पनि छन् ।’ उनले उक्त स्थानमा कार्पेट बिछ्याउने प्रयास भए पनि असफल भएको बताए । शौचालय नहुँदा महिला यात्रुलाई बढी समस्या परेको उनले सुनाए ।
पोखरामा ५४ प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा छन् । एक कम्पनीले ६ पाइलट राख्न पाउँछन् । एक पाइलटले दिनमा २ फ्लाइट गर्न पाउने व्यवस्था छ । पर्यटकीय सिजनमा दिनमै ४ सयसम्म फ्लाइट हुन्छन् । उडानस्थलबाट क्षमताभन्दा धेरै प्याराग्लाइडिङ एकैपल्ट उड्दा दुर्घटना हुने गरेका छन् । सबैभन्दा बढी भीडभाड तोरीपानी टेक अफमा हुन्छ ।
उक्त स्थानबाट ३५ कम्पनीका प्याराग्लाइडर उड्छन् । एकैपल्ट धेरै प्याराग्लाइडरउड्दा दुर्घटनाको सम्भावना अत्यधिक हुने पाइलट पहारीले बताए । ‘दुई ग्लाइडर एक आपसमा ठोक्किने सम्भावना अत्यधिक हुन्छ,’ उनले भने, ‘यसलाई व्यवस्थित नगर्ने हो भने भविष्यमा ठूला दुर्घटना हुन सक्छन् ।’ उनले सोलो (एकल) र टेन्डम (यात्रु सहित) फ्लाइटलाई छुट्टाछुट्टै स्थान नतोकी एकै ठाउँबाट उडाउँदा समस्या निम्तिएको उल्लेख गरे ।
टेक अफ र ल्यान्डिङ स्थल प्रयोग गरेबापत कम्पनीले जग्गाधनीलाई भाडा बुझाउँछन् । सराङकोटमा चार कम्पनीले वार्षिक १२ लाख रुपैयाँ भाडा बुझाएर ३ रोपनी ७ आना जग्गा लिएका छन् । उक्त स्थानबाट ७ कम्पनीसम्मले उडान भर्ने गरेको सुरक्षा गार्ड रत्न थापाले बताए ।
नजिकै दुई कम्पनीले दुई रोपनी लिएर सञ्चालन गरेका छन् । सनराइज र अन्नपूर्ण प्याराग्लाइडिङ कम्पनीका आफ्नै टेक अफ छन् । थापाले सोलो उडान भर्नेले टेन्डमलाई समस्यामा पारेको जनाए । ‘यसै पनि टेक अफ त्यति व्यवस्थित छैन,’ उनले भने, ‘सोलो र टेन्डम एकैपल्ट हुँदा आकाशमै ग्लाइडर ठोक्किने हुन् कि भन्ने चिन्ता हुन्छ ।’
टेक अफ र ल्यान्डिङ स्थलको स्थायी व्यवस्थापन गर्न साबिकको सराङकोट गाविस र प्याराग्लाइडिङ कम्पनीबीच पटक–पटक सम्झौतासमेत भएको थियो । तत्कालीन गाविसले प्रवेश शुल्कको नाममा प्याराग्लाइडिङ यात्रुसँग पैसा उठाउँथ्यो । २०६८ जेठ ६ मा गाविस, प्याराग्लाइडिङ कम्पनी, समाजसेवी, राजनीतिक दलका प्रतिनिधिको भेलाले एक सहमति गर्‍यो ।
प्याराग्लाइडिङ कम्पनीले व्यवसाय करबापत वार्षिक १ लाख रुपैयाँ बुझाउनुपर्ने भयो । यसअघि एक लाख २५ हजार रुपैयाँ बुझाउनुपर्थ्यो । चण्डीको डिल सामुदायिक वन उपभोक्ता समितिले टेक अफ स्थल उपलब्ध गराउने सहमतिमा उल्लेख थियो । गाविस, प्याराग्लाइडिङ कम्पनी र वन उपभोक्ता समितिबीचको त्रिपक्षीय समझदारीमा भाडा निर्धारण गर्ने बताइएको थियो ।
नेपाल हवाई खेलकुद संस्था (ना) का सदस्य चीनबहादुर बानियाँ ती सम्झौता कार्यान्वयनमा नआउँदा स्थायी टेक अफ र ल्यान्डिङको व्यवस्थापन हुन नसकेको बताउँछन् । उनले सम्झौता बमोजिम काम नभएकाले हालको महानगरलाई तिर्नुपर्ने कर ०७२ पछि नतिरेको बताए ।
‘सरकारले हामीलाई स्थायी टेक अफ र ल्यान्डिङ व्यवस्थापन गरिदिने हो भने कर तिर्न तयार छौं,’ उनले भने, ‘ठाउँ नदिई कर मात्रै देऊ भन्न मिल्दैन ।’ उनले हाल महानगरलाई बुझाउनुपर्ने वार्षिक २५ हजार रुपैयाँ बुझाए पनि प्रदेशले तोकेको एक लाख रुपैयाँ नबुझाउने जनाए । ‘अहिले हामीले टेक अफ र ल्यान्डिङको वार्षिक २ लाख रुपैयाँ भाडा व्यक्तिलाई बुझाइरहेका छौं,’ उनले भने, ‘सरकारले स्थायी स्थान तोकिदिने हो भने एक लाख रुपैयाँ बुझाउन समस्या हुँदैन ।’
पोखरा महानगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल व्यवसायीले उक्त प्रस्ताव नगरेको बताउँछन् । ‘त्यस्तो प्रस्ताव लिएर आए हामी सकारात्मक नै छौं,’ उनले भने, ‘कर नतिरी व्यवसाय चलाउँछौं भन्न पाइँदैन ।’
आर्थिक वर्ष ०७२/०७३ देखि पोखराका प्याराग्लाइडिङ कम्पनीले महानगरमा दर्ता नवीकरण नगरेको भन्दै महानगरले बुधबारदेखि उड्न प्रतिबन्ध गर्ने बताएको थियो । मंगलबार व्यवसायीले एक हप्ताभित्र बक्यौताबापत ८६ हजार रुपैयाँ चुक्ता गर्ने सहमति गरे । एक हप्तासम्म दर्ता नवीकरण नगरे प्याराग्लाइडिङ बन्द गर्ने विकल्प नरहेको पौडेलले जनाए ।

एक उत्तर छोड्न