बहुबालीमा किसान

0
28

परासी — पश्चिम नवलपरासीका किसान घुुसुवा (बहुबाली) र वनबाली खेतीतर्फ आकर्षित भएका छन् । खेतीयोग्य जग्गा घट्दै गएको र बजारमा खाद्यवस्तुको माग बढ्दै गएपछि उत्पादन बढाउन किसानले यस्तो विधि अपनाएका हुन् । 
पाल्हीनन्दन–२ का किशोरी चौधरीको १० कट्ठा खेतमा गहुँ खेती छ । गहुँसँगै उनले तोरा पनि त्यहीं लगाएकी छन् । गहुँभन्दा तोरा अग्लो हुने हुनाले गहुँ र तोरा सँगै हुर्किएका छन् । ‘पहिले एकै स्थानमा दुई जातको खेती गर्न हुँदैन भनिथ्यो । तर, अहिले धमाधम एकै स्थानमा एउटै मौसममा दुईथरी खेतीबाट आम्दानी लिन पाउँदा खुसी लागेको छ,’ उनले भनिन्, ‘थोरै जग्गा हुनेले पनि जीविका चलाउनका लागि बहुबाली लगाएर आत्मनिर्भर बन्न सकिने रहेछ ।’

पाल्हीनन्दन गाउँपालिकामा मात्र होइन, जिल्लाका ७ वटै स्थानीय तहमा अहिले बहुबालीतर्फ किसान आकर्षित भएका छन् । रामग्राम नगरपालिकामा केरा खेतीभित्र आलु खेती गर्ने किसान बढी छन् । केराबाट आम्दानी लिन झन्डै एक वर्ष कुर्नुपर्छ । तर, सोही खेतीभित्र चिसो सहन सक्ने आलु लगाएपछि किसानले दोहोरो फाइदा पाएका छन् । रामग्राम नगरपालिका कृषि शाखा प्रमुख तथा बागवानी अधिकृत बालगोविन्द त्रिपाठीका अनुसार थोरै क्षेत्रफलमा पनि बढी आम्दानी लिनका लागि यो विधि लाभदायक छ ।
‘कृषि शाखामा परामर्श लिएर एकले अर्कालाई हानि नगर्ने बाली एकै स्थानमा लगाउन सकियो भने एकैपटक दुई फरक उत्पादन गर्न सकिन्छ,’ उनले भने, ‘पछिल्लो पटक किसान यसतर्फ आकर्षित भएका छन् । हामीले पनि खेती गर्न चाहने किसानलाई आवश्यक प्राविधिक सहयोग गर्दै आएका छौं ।’
बहुबालीसँगै जिल्लामा वनबाली लगाउने किसान पनि बढ्दो छन् । खाली रहेको जग्गामा बोटबिरुवा रोपेर एकमुष्ट आम्दानी लिन पाइने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । धान, गहुँ, मकैजस्ता खेतीमा व्यवसायीले आफूखुसी मूल्य तोक्ने र किसानको मिहिनेतसमेत नउठ्ने भएपछि खेतबारीमा बोटबिरुवा लगाउन थालेका छन् । वैज्ञानिक तवरले बोटबिरुवा लगाउने हो भने त्यही जग्गामा तरकारी तथा अन्य बालीसमेत लगाउन सकिने भएकाले बहुउपयोगी बालीका रूपमा वनबालीको विकास भइरहेको छ ।राम्रो प्रजातिको बिरुवा भएमा १० देखि १५ वर्षमा एकमुष्ट आम्दानी लिन सकिन्छ । कतिपय किसानले त बोट बढेपछि त्यही जग्गामा तरकारीजन्य बाली लगाएर मौसम अनुसारको आम्दानी लिने र एकमुष्ट काठ बेचेर थप आम्दानीसमेत लिइरहेका छन् । फर्निचर उद्योग धमाधम खुल्न थालेपछि बजारमा काठको माग उच्च रहेको छ ।
निजी घर तथा व्यवसायीद्वारा होटलमा समेत काठका सजावटयुक्तझ्याल–ढोकाको माग उच्च भएपछि फर्निचर उद्योगले किसानको मूल्यमा काठ खरिद गरिरहेका छन् । अहिले जिल्लामा आपूर्ति र निकासी हुँदै आएको काठमध्ये झन्डै ५० प्रतिशत निजी आवादीकै हुने गरेको छ ।

एक उत्तर छोड्न