बुलबुल ट्रेलरमा स्वस्तिमाका अनेक रुप

0
242

चलचित्र ‘बुलबुल’ले माघे सङक्रान्तीको अवसर पारेर ट्रेलर सार्वजनिक गरेको छ । चलचित्र युनिटले केही दिनअघि अभिनेत्री स्वस्तिमा खड्कालाई दोहोरो भूमिकामा प्रस्तुत गरेको भिडियो सार्वजनिक गर्दै माघ १ मा ट्रेलर सार्वजनिक गर्ने घोषणा गरेको थियो । सार्वजनिक ट्रेलरले स्वस्तिमा खड्काको चरित्र मार्फत चलचित्रको कथा भन्ने प्रयास गरेको छ । सार्वजनिक ट्रेलरमा स्वस्तिमा खड्कासँगै नव अभिनेता मुकुन भुषाल र लक्ष्मी बर्देवाले पनि पर्याप्त स्थान पाएका छन् । 

निर्देशक विनोद पौडेलले बजार र आफ्नो रुचि दुवै कुरालाई मिलाएर ट्रेलरमा प्रस्तुत गर्ने जमर्को गरेको बताए । ट्रेलरमार्फत आफूले चलचित्रको बनौट, कलाकारको अभिनय र कलाको संयोजन प्रस्तुत गर्न खोजेको उनको दाबी छ । 

‘चलचित्रमा हामीले मास र आर्ट दुवैलाई समेट्ने प्रयास गरेका छौं । ट्रेलर पनि यही बीचको बिन्दुमा बसेर आएको छ’ पौडेलले भने ।

निर्माता अविरल थापाले अभिनेत्री स्वस्तिमा खडका अर्को चलचित्रको छायांकनका कारण नेपाल आउन नसकेपछि विना कार्यक्रम एकैचोटि युट्युवमार्फत ट्रेलर सार्वजनिक गर्नु परेको जानकारी गराए । ‘स्वस्तिमा आइसकेपछि संचारकर्मीहरुलाई डाकेर ट्रेलरलरको प्रतिक्रिया लिने र अन्र्तक्रिया गराउनेछौं’ उनले भने । 

यस अगावै सार्वजनिक दुई टिजर र स्वस्तिमा खड्काले आफ्नै पात्रसँग कुराकानी गरेको प्रचारात्मक दृश्य सामग्रीबाटै चलचित्र ‘बुलबुल’का दुई पात्र चोपेन्द्र र रनकला दर्शकमाझ परिचित भइसकेका छन् । उनीहरुको सिको गर्दै दर्शकले टिकटकमा हजारौं भिडियो बनाइसकेका छन् । 

चलचित्रमा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे,  एलिना कार्की आदि कलाकारको अभिनय रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको चलचित्रलाई विनोद पौडेलले लेखेका हुन् । चलचित्रमा पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडलले सयुक्त रुपमा लगानी गरेका छन् । रामराजा दाहाल चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्र भ्यालेन्टाइनको अवसर पारेर फागुन ३ गतेबाट देशभर प्रदर्शनको प्रचारमा रहेको छ ।

एक उत्तर छोड्न