बैंकले ऋण नदिँदा मोबाइल आयात ६२ प्रतिशतले घट्यो

0
75

सञ्चारको सहज माध्यम मोबाइलको आयात घट्दै गएको छ।

चालू आर्थिक वर्ष २०७५,०७६ को नौ महिनामा ३२ लाख १२ हजार ४ सय २७ वटा मोवाइल सेट भित्रिएका छन्। सो परिमाणको मोबाइल सेट आयातको लागि देशबाट झण्डै १५ अर्ब बाहिरिएको छ।

आव २०७४,०७५ को सोही अवधिमा करिब २० अर्ब रूपैयाँ बराबरको ५२ लाख २ हजार ४ सय १२ ओटा मोबाइल सेट भित्रिएको भन्सार विभागको तथ्याङ्क छ।

सो तथ्याङ्कलाई हेर्दा गत आव साउन देखि चैतसम्म मोबाइल भित्रिएको तुलनामा चालू आवको सो अवधिमा ६१ दशमलब ९ प्रतिशतले मोबाइलको आयात घटेको हो।

सो मूल्य बराबरको मोबाइल आयात गरेबापत २ अर्ब ५१ करोड ५३ लाख ६२ हजार राजश्व उठेको छ। 
नेपाली बजारमा विश्वका विभिन्न देशबाट मोबाइल भित्रिने गरेको छ। ती मध्ये चीन, भियतनाम, भारत लगायतका देशबाट बढी फोन आउने गरेको भन्सार विभागको तथ्याङ्क छ।

बैङ्कले ऋण नदिएका कारण मोबाइल आयात घटेको मोबाइल व्यवसायी सङ्घका अध्यक्ष पुरुषोत्तम बस्नेत बताउँछन्।

‘अहिले बैङ्कको व्याज पनि बढेको छ। नयाँ लोन पनि दिएको छैन, त्यसैले नयाँ ब्राण्ड भित्रिन सकेका छैनन्। यसले गर्दा पनि मोबाइल आइरहेको छैन’, उनले भने।

आयात घटेपनि बजारमा मोबाइलले भने राम्रो बजार पाइरहेको छ। पछिल्लो समय मोबाइल प्रयोगकर्ता भने बढ्दै गएका छन्। ग्रामीण क्षेत्रसम्म दूरसञ्चार पूर्वाधार तथा सेवा पुग्न थाले पछि विकट क्षेत्रमा पनि मोबाइल सेवाको प्रयोग तीव्ररूपमा भइरहेको छ।

तराईको खुल्ला बोर्डरबाट पनि मोबाइल आउने गर्दछ भने बैदेशिक रोजगारमा जानेले पनि ब्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने गरेका छन्।

‘झिटी, गुण्टा आदेश २०७५’ ले पनि मोबाइलको बजारलाई व्यवस्थित गरेको छ। सो व्यवस्था अनुसार वैदेशिक यात्रामा गएकाले १ सेट मात्र मोबाइल ल्याउन पाइने छ।

दुई आर्थिक वर्षको नौ महिनामा भएको मोबाइल आयातको अवस्था:

आर्थिक वर्षमोबाइल सेट(संख्यामा)मूल्य (हजारमा)
२०७४\०७५५२,०२,४१२१९,३४४,७१२
२०७५\०७६३२,१२,४२७१४,४५७,५१३

एक उत्तर छोड्न