बैंकिङ सिस्टम ह्याक, एटीएम सेवा अनिश्चितकालका लागि बन्द

0
41

काठमाडौं । अधिकांश बैंकका एटीएम सेवा अनिश्चितकालका लागि बन्द भएका छन् । एटिएमबाट पैसा निकाल्न नपाउँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । नेपाल राष्ट्र बैंकले एनआईसी एसिया र प्रभु बैंकको एटीएम सर्भर डाउन भएको पुष्टि गरेको छ । प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने, ‘यसबाहेक अरु बैंकमा पनि समस्या आएको छ र समाधानको कोसिस भइरहेको छ ।’

एटीएमबाट अनधिकृत रुपमा पैसा निकाल्ने गिरोहले बैंकिङ प्रणाली नै ह्याक गरेकाले एटीएम नचलेको प्रारम्भिक अनुमान गरिएको छ । काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीका अनुसार बैंकिङ सिस्टमको भिसा कार्डसँग सम्बन्धित एक सिस्टम ह्याक भएको छ ।

स्रोतका अनुसार नेप्स भन्ने संस्थाले बनाएको बैंकिङ सिस्टम १२–१५ वटा बैंकहरुले प्रयोग गरेका छन् र ती सबै बैंकहरुको एटिएम चलेका छैनन् । गएराति प्रहरीले एटीएमबाट पैसा चोर्दाचोर्दै पाँच जना चिनियाँ नागरिकहरुलाई दरबारमार्ग क्षेत्रबाट पक्राउ गरेको थियो । यसलाई प्रहरीले ठूलो सफलता भनेको छ । काठमाडौं प्रहरी प्रमुख सुवेदीले भने, ‘गएरातिको हाम्रो अपरेसनले ठूलो रकम जोगिएको छ ।’

प्रारम्भिक अनुसन्धानमा ६ वटा बैंकबाट पैसा झिकिएको फेला परेको छ। यसमध्ये २ वटा बैंकको प्रणाली नै ह्याक गरिएको छ। यस बिषयमा बैंकर्स संघको प्राविधिक समूहले क्षतिको विवरण संकलन थालेको छ। संघले कुन कुन बैंकको प्रणाली ह्याक भएको हो ? के कति रकम लुटिएको हो ? भन्ने बारे सबै बैंकसँग जानकारी माग गरेको छ। साथै शंकास्पद कारोबारका बारेमा अध्ययन गर्न पनि भनेको छ।

एक उत्तर छोड्न