बोयर बाख्रापालनमा आकर्षण

0
377

दिपायल : डाेटी जोरायल गाउँपालिका २ छतिवनकी किसान गंगादेवी ओलीले बोयर जातका बोका पालेको दुई वर्ष भयो। नौ वटा प्रजनन उमेर समूहका बोयर बोका पाठी बिक्री गरी उनले दुई लाख १८ हजार आम्दानी गरेकी छन्।

बाख्रापालक किसानको उत्पादकत्व बढाई आय आर्जनमा वृद्धि गर्दै मासुजन्य पदार्थको पहुँच र उपलब्धतामा सुधार ल्याउने उद्देश्यले जोरायल गाउँपालिकाले विभिन्न वडामा ‘मासुजन्य प्रजनन समूह’ गठन गरेको छ। अस्ट्रेलियाबाट आयातित बोयर जातका बोका वितरण गरिएको जोरायल गाउँपालिकाका पशु सेवा शाखा प्रमुख मानबहादुर रानाले जानकारी दिए।

हालसम्म जिल्लाबाट दुई सय ५० भन्दा बढी बोयर जातका क्रस गरिएका बोका कैलाली, कञ्चनपुर, अछाम, दार्चुला र बैतडी जिल्लामा वितरण भइसकेको रानाले बताए। उनले भने, ‘डोटीका एक सय किसानबाट यसै वर्ष ७५ लाख मूल्य बराबरका क्रस बोयर बोका खरिद भएका छन्।’

स्थानीय जातका खसीबोकाको तुलनामा यो छिटो बढ्ने भएकाले पनि पहाडी जिल्लामा बोयर जातको बोकाको माग अत्यधिक बढेको राना बताउँछन्। ‘छ महिनामा झण्डै २८ किलो तौल पुग्ने गर्छ’, रानाले भने। ‘किसानबाट जिल्ला पशुसेवा शाखाले नै प्रजनन बोका जिउँदो आठ सय प्रतिकिलोका दरले खरिद गरी जिल्लाभित्रका अन्य किसान तथा जिल्ला बाहिर पठाउने व्यवस्थासमेत गरेको छ।

एक उत्तर छोड्न