‘भारतले पुनः केही गर्न सक्छ’

0
51

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत ‘युद्धको उन्माद’ बाट ग्रसित भएको आरोप लगाएका छन् । फाइन्यान्सल टाइम्स पत्रिकालाई दिएको अन्तर्वार्तामा खानले भारतमा निर्वाचन हुन लागेकाले उसले पुनः केही गर्न सक्ने आशंका व्यक्त गरेका छन् ।

गत महिना भारत र पाकिस्तानबीच तनाव चुलिँदा शान्तिका लागि वार्ताको आह्वान गरेका खानले संसद्मा बोल्दै ‘भारतीय निर्वाचनलाई दृष्टिगत गरी केही न केही होला भन्ने डर आफूलाई लागेको’ बताएका थिए । फेब्रुअरी १४ मा भारत प्रशासित कस्मिरको पुलवामामा भएको आत्मघाती विस्फोटनमा कम्तीमा ४० भारतीय सुरक्षाकर्मीको ज्यान गएपछि भारतले पाकिस्तानी भूमिमा हवाई आक्रमण गरेको थियो । पाकिस्तानले पनि आफू मौन नबस्ने भन्दै भारतीय कारबाहीको प्रतिकार गरेको थियो ।

खानले भारतमा निर्वाचन सम्पन्न नहुन्जेल आफू चिन्तित रहने बताएका छन् । भारतले गरेको हवाई आक्रमणलाई इंगित गर्दै उनले भने, ‘मलाई फेरि केही हुन्छ कि जस्तो लागेको छ ।’ सन् १९४७ मा ब्रिटिस शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्र बनेका थिए । तर, परमाणुशक्ति भएका यी दुई छिमेकी देशहरूबीच अझसम्म राम्रो सम्बन्ध बन्न सकेको छैन । उनीहरू दुवैले कस्मिर आफ्नो भएको दाबी गर्ने गरेका छन् । कस्मिरकै निहुँमा उनीहरूले युद्ध पनि गरेका छन् ।

फाइन्यान्सल टाइम्समा प्रकाशित अन्तर्वार्तामा खानले भनेका छन्, ‘पुलवामामा आत्मघाती आक्रमण हुँदा मलाई मोदी सरकारले युद्धोन्मादलाई प्रोत्साहन गर्ला भन्ने लागेको थियो । भारतीय नागरिकहरूले बुझ्नुपर्छ कि यो सबै निर्वाचन जित्नका लागि हो ।’ आतंकवादी संगठन जैस–ए–मोहम्मदसँग पाकिस्तानको कुनै सम्बन्ध नभएको भनाइ उनले दोहो¥याएका छन् । गत वर्ष प्रधानमन्त्री बनेका खानले पाकिस्तानमा विभिन्न आतंकारी संगठनविरुद्ध कारबाही गर्न थालेका थिए । उनले नयाँ पाकिस्तानमा आतंकवादीहरूलाई कुनै स्थान नभएको बताए ।

पाकिस्तानको अर्थव्यवस्थालाई फेरि सही बाटोमा ल्याउने र आफ्नो देशलाई चीनको ‘ग्राहक’ हुन नदिने पनि उनले बताएका छन् । पाकिस्तानमा लुकेर सञ्चालित भएको मानिने लडाकु समूह जैस–ए–मोहम्मदले पुलवामामा आफूले आक्रमण गराएको दाबी गरेको थियो । भारतीय पक्षले पाकिस्तानी भूमिमा जैस–ए–मोहम्मदलाई लक्षित गरेर हवाई कारबाही गरेको र सो समूहको शिविर ध्वस्त पारिदिएको दाबी गर्ने गरेको छ ।

जुन जैस–ए–मोहम्मदको चर्चा हुँदै छ त्यो भारतमा नै छ भन्दै खानले पुलवामामा आत्मघाती आक्रमण गर्ने व्यक्ति १९ वर्षीय भारतीय युवक भएको टिप्पणी गरे । आक्रमण गर्ने व्यक्ति तथा आक्रमणमा प्रयोग भएको कार भारतीय र विस्फोटक पदार्थ पनि भारतबाट आएको हुँदा किन पाकिस्तानलाई दोष दिइएको भनेर उनले प्रतिप्रश्न गरे ।

पहिले–पहिले भारतले आफ्नो भूमिमा आक्रमण हुँदा त्यस्तो अर्को घटना हुन नदिने खालको रणनीति मात्र अवलम्बन गर्ने गरेको थियो । तर, कस्मिरमा भएको आक्रमणपछि उसले सीमापारि धावा बोलेर रणनीति फेरिएको सन्देश दिन खोजेको छ । भारतले हवाई आक्रमण गरेको २४ घण्टाभित्र पाकिस्तानले पनि प्रत्युत्तर दियो ।

यसै क्रममा पाकिस्तानी भूमिमा भारतीय वायुसेनाको एउटा लडाकु विमान खसालियो र पाकिस्तानले त्यसका चालकलाई आफ्नो नियन्त्रणमा लियो । दुई देशबीच चुलिएको तनाव मत्थर पार्ने प्रयासस्वरूप खानले अभिनन्दन वर्धमान नाम गरेका ती विमानचालकलाई मुक्त गर्ने घोषणा गरे । फलतः उनलाई ३६ घण्टाभित्र भारतीय पक्षलाई हस्तान्तरण गरियो । वर्धमान केही हप्ताको बिरामी बिदापछि काममा फर्किन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिदामा उनी गृहनगर चेन्नई नगएर श्रीनगर फर्किसकेको बताइएको छ ।

भारत–पाकिस्तानलाई विगतमा सम्झिँदा
अक्टोबर १९४७ः भारत र पाकिस्तानबीच पहिलो युद्ध । स्वतन्त्र भएको केवल दुई महिनापश्चात् दुई छिमेकी कस्मिरलाई लिएर युद्धमा होमिए ।

अगस्ट १९६५ः कस्मिरलाई नै लिएर दुई छिमेकीबीच अर्को छोटो युद्ध ।

डिसेम्बर १९७१ः भारतद्वारा पूर्वी पाकिस्तान (वर्तमान बंगलादेश) मा अतिक्रमण । इस्लामाबादको शासनविरुद्ध स्वतन्त्रताको लडाइँमा भारतको समर्थन । भारतीय वायुसेनाद्वारा पाकिस्तानी भूभागमा बम आक्रमण । बंगलादेशको स्थापनासँगै युद्धको अन्त्य ।

सन् १९८९ः कस्मिर उपत्यकामा भारतीय शासनविरुद्ध सशस्त्र विद्रोहको थालनी ।

फेब्रुअरी १९९९ः भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयीद्वारा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफसँग भेट्न र शान्ति सम्झौता गर्न बस चढेर पाकिस्तानको लाहोर प्रस्थान ।

मे १९९९ः पाकिस्तानी सेना तथा विद्रोहीद्वारा कार्गिल पर्वतमा रहेका भारतीय सैनिक शिविर कब्जा । सीमित द्वन्द्व सुरु । भारतद्वारा हवाई तथा स्थल आक्रमण पश्चात् अतिक्रमणकारीहरू फिर्ता ।

मे २००१ः भारतको आगरामा भारतीय प्रधानमन्त्री बाजपेयी र पाकिस्तानी राष्ट्रपति परवेज मुसर्रफको भेटवार्ता । कुनै सम्झौता नभएको ।

अक्टोबर २००१ः श्रीनगरस्थित कश्मिरको विधानसभामा आक्रमण । ३८ जनाको मृत्यु ।

१३ डिसेम्बर २००१ः दिल्लीस्थित भारतीय संसद्मा भएको सशस्त्र आक्रमणमा १४ जनाको मृत्यु ।

फेब्रुअरी २००७ः भारत र पाकिस्तानबीच चल्ने सम्झौता एक्सप्रेस रेलमा बम विस्फोट । ६८ जनाको मृत्यु ।

२६ नोभेम्बर २००८ः विद्रोहीहरूद्वारा मुम्बईस्थित मुख्य रेलवे स्टेसन, विलासी होटलहरू तथा एक यहुदी सांस्कृतिक केन्द्रमा आक्रमण । ६० घण्टे घटनामा १ सय ६६ जनाको मृत्यु । भारतद्वारा पाकिस्तानमा रहेको लश्कर–ए–तइबा समूहमाथि दोष ।

जनवरी २०१६ः पठानकोटस्थित भारतीय वायुसेनाको अखाडामा भएको चार दिन लामो आक्रमणमा सात भारतीय सैनिक र ६ विद्रोहीको मृत्यु ।

१८ सेप्टेम्बर २०१६ः भारत प्रशासित कस्मिरस्थित उरीमा रहेको सैन्य अखडामा विद्रोहीद्वारा हमला । १९ सैनिकको मृत्यु ।

३० सेप्टेम्बर २०१६ः भारतद्वारा पाकिस्तान प्रशासित कश्मिरमा सैन्य कारबाही ‘सर्जिकल स्ट्राइक’ गरेको भनाइ । पाकिस्तानद्वारा त्यस्तो कारबाही भएको अस्वीकार ।

१४ फेब्रुअरी २०१९ः कस्मिरको पुलवामामा विद्रोहीद्वारा आत्मघाती विस्फोट । अर्धसैनिक बल सिआरपिएफका ४० भन्दा धेरैको मृत्यु । पाकिस्तानमा रहेको जैस–ए–मोहम्मद समूहद्वारा जिम्मेवारी स्वीकार ।

२६ फेब्रुअरी २०१९ः भारत–पाकिस्तान सीमा उल्लंघन गरेर भारतीय वायुसेनाद्वारा पाकिस्तानी भूभागमा आक्रमण । लडाकु समूह जैस–ए–मोहम्मदको शिविर नष्ट गरिएको भारतको भनाइ ।

१ मार्च २०१९ः पाकिस्तानद्वारा भारतीय वायुसेनाको लडाकु विमानका चालक अभिनन्दन वर्धमान मुक्त ।

एक उत्तर छोड्न