भुवन, शिव र राजेश चलचित्रविहीन

0
73

काठमाडौं । अभिनेता भुवन केसीले बाहिरी ब्यानरको फिल्म नखेलेको चार वर्ष नाघिसक्यो । उनी पछिल्लो समय चलचित्र निर्माणमा व्यस्त छन् । केसी आफैंले लगानी गरेको चलचित्रमा अतिथिजस्तो भूमिकामा प्रस्तुत गर्दै आएका छन् ।

छोरा अनमोल केसी नेपाली चलचित्रमा स्टार कलाकारका रूपमा उदाएपछि केसी छोराको अभिनय व्यवस्थापनमा र चलचित्र निर्माणमा बढी केन्द्रित हुन थालेका छन् ।

केसी व्यावसायिक अभिनयबाट अहिले फुर्सदमा छन् । आधा दशकअघि आफैंले निर्माण गरेको फिल्म ‘साथी म तिम्रो’ र ब्लाक डायरीपछि उनले अन्य फिल्ममा मुख्य नायकको भूमिकामा कामगरेका छैनन् ।गत फागुनमा निर्मित ‘क्याप्टेन’ मा पनि उनी एउटा गीतमा अतिथि कलाकारका रूपमा प्रस्तुत भए ।

केसी अहिले नयाँ फिल्मका लागि स्क्रिप्ट खोजीमा छन् । अभिनयभन्दा पनि निर्माणमा बढी केन्द्रित हुन परेकाले अभिनयमा आफू केन्द्रित हुन नसेको भुवन केसीको भनाइ छ । सोही कारण पनि उनी व्यावसायिक अभिनयबाट अहिले फुर्सदमा छन् ।

केसीका समकालीन अभिनेताहरू पनि अहिले फुर्सदमा छन् । उनीहरूसँग फिल्म छैन । जसका कारण उनीहरूले अन्य पेसा रोज्नुपरेको छ ।

अभिनेता शिव श्रेष्ठसँग पनि नयाँ चलचित्र छैन । श्रेष्ठले बाहिरी ब्यानरको फिल्म नखेलेको तीन वर्ष बित्न लाग्यो । उनले अघिल्लो वर्ष छोरा शक्ति श्रेष्ठलाई डेब्यु गराउन नयाँ चलचित्र ‘यस्तो एउटा प्रेम कहानी’ निर्माण थालेका थिए । सो चलचित्रमा उनको पनि भूमिका थियो ।

चलचित्र यस्तो एउटा प्रेम कहानीमार्फत शक्ति श्रेष्ठसँगै अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले पनि डेब्यु गर्दैै थिइन् । तर, त्यो चलचित्रको निर्माण बीचमै रोकियो । जसका कारण न त शिव श्रेष्ठ नै सो फिल्मबाट फेरि दर्शकमाझ आउन सके । न उनका छोरा शक्ति र करिश्माकी छोरी कविताको दर्शकमाझ डेब्यु भयो । सो चलचित्रको निर्माण सम्पन्न हुने वा नहुने भन्न अझै अनिश्चित छ ।

श्रेष्ठ रेस्टुरेन्ट व्यवसायमा व्यस्त छन् । ललितपुरको भैंसेपाटीमा उनले ‘लाउन्ज’ क्याफे सञ्चालन गर्दै आएका छन् । क्याफेबाट राम्रो आम्दानी भएकाले  श्रेष्ठले सो व्यवसायमै समय दिइरहेका छन् । उनीसँग अहिले बाहिरी ब्यानरको चलचित्र छैन ।त्यस्तै, राजेश हमाल पनि केही समययता चलचित्र अभिनयमा

संलग्न छैनन् । दुई वर्षयता हमाल चलचित्रविहीन छन् । त्यसैले उनले चलचित्रका लागि एक्सन कटमा काम गर्न पाएका छैनन् ।दुई वर्षअघि हमालको चलचित्र ‘सकुन्तला’ र ‘बाग्मती’ रिलिज भएको थियो । व्यावसायिक रूपमा यी दुवै फिल्म असफल भए ।

त्यसपछि उनले कुनै पनि फिल्ममा मुख्य भूमिकामा हस्ताक्षर गरेका छैनन् । दुई वर्षयताबाट स्टेज कार्यक्रममा विभिन्न उत्पादनको विज्ञापनमा  हमाल व्यस्त रहे । हमाल पछिल्लो समय टेलिभिजनतर्फ व्यस्त छन् । टेलिभिजनबाट प्रसारण हुँदै आएको नेपाली कार्यक्रम ‘को बन्छ करोडपति’को सञ्चालकका रूपमा हमाल व्यस्त रहँदै आएका छन् । यस्ता थुप्रै कारणले गर्दा हमाल चलचित्रविहीन छन् ।

एक उत्तर छोड्न