भ्रष्टाचार महामारीजस्तै फैलियो : कोइराला

0
241

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गरेकी छिन् । बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा नेतृ कोइरालाले भनिन्, “मलाई त आश्चर्य लागेको छ, यत्रो दुई तिहाई बहुमतको सरकार छ, विकास होला भन्ने लागेको थियो । तर, सरकार यो ९ महिनामा पूर्ण रुपमा ‘फेलियर’ भयो । मुलुकमा स्थिरताको साटो अस्थिरता देखियो । विकास निर्माणका कामले गति लिन सकेन । कर बढाएर जनतालाई भार थप्ने काम भयो ।”
उनले वर्तमान सरकारले जनताको हितमा एउटा पनि काम गर्न नसकेको आरोप लगाइन् । उनले भनिन्, “म आफैं आश्चर्यमा परेकी छु । प्रजातन्त्रमा यत्रो दुईतिहाई बहुमत भनेको त एकदमै महत्वपूर्ण कुरा हो । दुईतिहाई बहुमतको सरकार पनि सफल भएन भने यो एकदम खतरनाक हुनसक्छ । ”फरक प्रसंगमा नेतृ कोइरालाले अब ढिला नगरीकन पार्टीको संगठनलाई बलियो बनाउने काममा आफूहरु लाग्ने पनि सुनाइन् । उनले भनिन्, “अब पार्टीको संगठन विस्तार गर्नुपर्छ । यो कामलाई गाउँ-गाउँमा लगेर तल्लो तहमा पु-याउनुपर्छ । हामी तीन जना कोइरालाहरु शशांक, शेखर दा र म एक छौं । अहिले पार्टीभित्र व्यापक गुटबन्दी छ, यसलाई अन्त्य गर्नुपर्छ भन्ने हाम्रो माग छ । हाम्रो चिन्ता अब पार्टीलाई एक बनाउने भन्ने नै हो ।”
आफूहरुको चिन्ता भनेको नै संगठनलाई बलियो बनाउने भएकोले को सभापति बन्छ या बन्दैन भन्ने पछिको कुरा भएको उनको स्पष्टोक्ति छ । उनले कांग्रेस अहिले कमजोर भयो भन्ने हल्ला भैरहेको सुनाउँदै तर अहिले पनि आफ्नो पार्टी बलियो नै रहेको जिकिर गरिन् ।

एक उत्तर छोड्न