मह उत्पादनबाट आर्थिक स्तर सुधार

0
265

मह उत्पादनबाट आर्थिक स्तर सुधार

जाजरकोट ।  मौरीपालन व्यवसाय विस्तारसँगै जाजरकोट नलगाडका किसानको आर्थिक स्थितिमा सुधार हुन थालेको छ । नलगाड नगरपालिकाको डाँडागाउँ, लह, खगेनकोटलगायत क्षेत्रमा व्यवसायिक रूपमा मह उत्पादन हुने गरेको हो ।

नगरपालिकाले मौरीपालक किसानलाई सहयोग उपलब्ध गराएकाले अघिल्लो वर्षको तुलनामा यो वर्ष १५ प्रतिशतले मह उत्पादन बढेको किसानले बताएका छन् । वन विनाश तथा अतिक्रमण, जलवायु परिवर्तन, चरण क्षेत्र अभाव र समयमा चिउरी नफुलेका कारण गत वर्ष मह उत्पादन घटेको थियो । यस वर्ष भने महको उत्पादन बढेको नलगाड कृषि शाखा प्रमुख महेशकुमार विष्टले बताए ।

गत वर्ष नलगाडमा मात्रै आठ हजार किलोग्राम मह उत्पादन भएको उनको भनाइ थियो । गत वर्ष जाजरकोटमा २० मेट्रिक टन मह उत्पादन भएको थियो । यहाँका २५० बढी मौरीपालक किसान मह उत्पादन बढेसँगै आम्दानी वृद्धि भएपछि खुसी भएको डाँडागाउँका लेखबहादुर खड्काले बताए ।

प्रांगारिक महका लागि सबैभन्दा उत्तम आहारा चिउरी हो । माग धेरै भएका कारण महको मूल्य पनि अकासिएको छ । विगतमा प्रतिकिलो ५०० पर्ने मह अहिले ७०० पुगेको किसानले बताए । डाँडागाउँका रणबहादुर खत्रीले भने, ‘महको माग बढी छ, मह उत्पादन घट्नुभन्दा पनि मौरी जोगाउनै समस्या छ ।’

मह उत्पादनका लागि पकेट क्षेत्र मानिएको नलगाड–२ कलपतका मौरीपालक किसानलाई नगरपालिकाले सहयोग गरेपछि उनीहरू उत्साहित भएका हुन् । प्रांगारिक महको माग बढेकाले अहिले व्यापारी किसानको घरमै मह खरिद गर्न पुग्ने गरेका छन् ।

नगरपालिकाभित्र मह उत्पादन हुने ठाउँमा यातायात सुविधा भएकाले किसानलाई व्यापार गर्न सहज भएको छ । सुरुमा परम्परागत घारबाट मह उत्पादन गरेका किसानले हाल आधुनिक घारको प्रयोग गरी मौरीपालन व्यावसाय गर्न थालेका छन् । नगरपालिकामा चार हजार मौरीघार छन् भने जिल्लाभर ६ हजार घार रहेको बताइएको छ ।

एक उत्तर छोड्न