मानव–वन्यजन्तुबीच द्वन्द्व बढ्दो

0
55

‘लौ बधाई छ हामी सबैलाई, बाघको संख्या बढेको छ, बर्दियामा पाटे बाघको संख्या बढेसँगै चुनौती पनि बढ्यो है, बाघ बढे भनेर मख्ख पनि नपरौँ’ बर्दिया राष्ट्रिय निकुञ्जका निवर्तमान प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापाले गएको वर्ष वार्डेन सेमिनारमा भन्नुभयो, ‘बाघको संख्या घट्न नदिउँ, बाघ पनि बचाउँ, बाघबाट मानिस पनि बचाउँ ।’  

बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्रमा हरेक वर्ष जंगली हात्तीले जनधनको क्षति गरेर धेरै दुःख दिइरहेको छ । कहिलेकाहीँ चितुवा र बँदेल लगायतका अन्य वन्यजन्तुहरुले पनि दुख दिइरहेका हुन्छन् । तर अब पाटे बाघको संख्या बढेसँगै बाघको आक्रमणबाट पनि मानवीय क्षति हुन थालेपछि बाघको आतंक पनि बढ्न थालेको छ । पछिल्लो समय बर्दियामा जंगली हात्ती र पाटे बाघबाट सबैभन्दा बढी खतरा हुने क्रम बढ्दो छ ।

पाटे बाघ, जंगली हात्ती र गैँडाबाट भएका घटना

बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट बाहिर निस्किएका जंगली हात्तीले मानवीय क्षति गर्ने, घरगोठ भत्काउने र अन्नबालीमा नोक्सानी पुर्‍याउने काम बर्सेनि गरिरहेका छन् । बर्दिया निकुञ्जका वन्यजन्तुमध्ये सबैभन्दा धेरै जंगली हात्तीको आक्रमणबाट मानवीय क्षति भएको निकुञ्जसँग तथ्याङ्क छ । 

जंगली हात्तीबाट २०५६ सालपछि झण्डै २० वर्षको अवधिमा ३७ जनाले ज्यान गुमाएका छन् । झण्डै एक सयको हाराहारीमा जंगली हात्ती रहेको बर्दिया निकुञ्जमा जंगली हात्तीकै कारण मानव र वन्यजन्तुबीचको द्वन्द्व बढेको छ । तर अब मानवीय क्षति गर्ने जंगली हात्ती मात्रै भएनन्, पाटे बाघले पनि मानवीय क्षति गर्न थालेका छन् । 

एकसिँगे गैँडाको आक्रमणबाट २०५६ देखि २०६८ सम्म १८ वर्षमा ५ जनाले ज्यान गुमाएका छन् । २०५८-०५९ सालमा पाटे बाघको आक्रमणबाटबाट ४ जनाको ज्यान गएको तथ्यांक छ । २०७१ सम्म चितुवा र बँदेलबाट ४ जनाले ज्यान गुमाएको बर्दिया निकुञ्जले जनाएको छ । झण्डै १७ वर्षपछि बर्दिया निकुञ्जका पाटे बाघको आक्रमणबाट मानवीय क्षति भयो । 

पछिल्लो ९ महिनाको अवधिमै पाटे बाघको आक्रमणबाट ६ जनाको ज्यान गयो । जंगली हात्तीजस्तै अब पाटे बाघबाट पनि गाउँमा त्रास फैलिन थाल्याे। २०७६ भाद्र पहिलोसाता बिहीबार बर्दिया निकुञ्ज भित्रबाट आएको पाटे बाघको आक्रमणबाट बर्दिया गेरुवा गाउँपालिका ४ दङ्गपुरकी ५६ वर्षीय रामकली शाहीको ज्यान गयो ।

त्यसको चार दिनपछि आइतबार बिहानै बर्दियाकाे ठाकुरबाबा नगरपालिका १ भुरिगाउँको खानेपानी ट्याङ्की नजिक ७० वर्षीय वृद्ध पहरिया थारुको पाटे बाघको आक्रमणबाट ज्यान गयो । एक महिनापछि असोज दोस्रो साता बर्दिया बाँसगढी नगरपालिका २ को भगवती सामुदायिक वनमा पाटे बाघको आक्रमणबाट बाँसगढी नगरपालिका-२, राँझाकी ४० वर्षीय गंगा सलामी मगरको ज्यान गयो । बाँसगढीकै एक महिलालाई पाटे बाघले गम्भीर घाइते बनायो । 

कार्तिक १९ गते बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पाटे बाघको आक्रमणबाट निकुञ्जभित्रै गैँडा मचान नजिक निकुञ्जका माहुते कर्मचारी ठाकुरबाबा नगरपालिका ७ मोहनपुर गाउँका ४५ वर्षीय मंग्रु थारुको ज्यान गयो ।

बर्दिया निकुञ्जमा पालेको हात्तीलाई चराउन निकुञ्जभित्र जंगल गएका बेला पाटे बाघले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको थियो । गएको वर्ष माघ मसान्तदेखि अहिलेसम्म ९ महिनाको अवधीमा बर्दियामा पाटे बाघको आक्रमणमा परि ६ जनाको ज्यान गएको छ । 

यसअघि गएको माघ २१ गते बढैयाताल गाउँपालिकाको मैनापोखर सामुदायिक वनमा नेपाल तथा भारतीय जंगलबाट निस्किएको पाटे बाघको आक्रमणबाट बढैयाताल २ का ७१ वर्षीय चन्द्र बहादुर शाहीको ज्यान गयो, राजापुर क्षेत्रमा भारतीय जंगलबाट आएको पाटे बाघको आक्रमणबाट राजापुर नगरपालिका ७ का धर्मेन्द्र यादवको जनाको ज्यान गएको थियो ।

बर्दिया निकुञ्ज भित्रबाट बाहिर आएर पाटे बाघले आक्रमण गरेर ज्यान लिन थालेपछि निकुञ्जको मध्यवर्ती क्षेत्र र सामुदायिक वन आसपासका स्थानिवासी त्रसित बनेका छन् ।

बर्दिया निकुञ्ज भित्रबाट भुरिगाउँमा आएर मान्छे मार्ने पाटे बाघलाई निकुञ्जको टोलीले नियन्त्रणमा लिएको थियो । अन्दाजी १५ वर्षको पोथी पाटे बाघलाई निकुञ्जको प्राविधिक टोलीले डार्टगन (लठ्याउने सुई) मार्फत बेहोस बनाउने औषधि प्रयोग गरेर नियन्त्रणमा लिएको हो ।

तर त्याे बाघ वृद्ध र अशक्त भएर निकुञ्ज बाहिर आएर मान्छेलाई आक्रमण गरेको निकुञ्जले जनायो । नियन्त्रणमा लिएको भोलिपल्टै उपचारकै क्रममा त्याे बाघको मृत्यु भयो । 

यस्तै गेरुवा गाउँपालिका ४ मा एक महिलालाई मार्ने पाटे बाघलाई पनि नियन्त्रणमा लिने प्रयास भइरहेको निकुञ्जले छ । ‘घटना भएदेखि निकुञ्जको प्राविधिक टोली गेरुवा तटीय क्षेत्रमै खटिएको छ । बाँसगढी क्षेत्रमा पनि मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिन निकुञ्जको टोली खटिएको छ’, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भन्नुभयो ।

बडा दशैँका दिन त्याे बाघ निकुञ्जले थापेको क्यामेरा ट्रयापिङमा पर्‍यो । तर अझैसम्म पनि नियन्त्रणमा लिन भने सकिएको छैन ।

‘बर्दियामा मानव–वन्यजन्तु द्धन्द्ध बढदो छ, न्यूनतम सञ्चालन खर्च (तेल, गाडी मर्मत आदि) को समेत अत्याधिक अभावका बावजुद बडा दशैँ बिर्सेर निकुञ्ज अहोरात्र खटिरहेका छ, तर भजाएर खाने खानेहरु बेपत्ता छन् र जनता तिनैको औचित्य माथि प्रश्न गर्दैछन् ’ भन्ने स्टाटस सामाजिक सञ्जाल फेसबुकमा बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले राख्नुभयो ।

प्रमुख संरक्षण अधिकृत बरालले सामाजिक सञ्जाल फेसबुक मार्फत निकुञ्जको टोली मानव र वन्यजन्तु घटाउन दिनरात खटिएको तर अतिरिक्त सुविधा नपाएको शन्देश दिने खालको क्यामरा ट्रयापिङमा परेको बाघको तस्विर राखेर फेरि लेख्नुभयाे, ‘बर्दिया निकुञ्जमा गएको हप्ता मानिसलाई आक्रमण गरेको बाघ क्यामरा ट्रयापमा । देश दशैँ जस्तै ठूला चाडपर्वमा रमाइरहँदा बर्दिया निकुञ्जको टोली फिल्डमा काममै व्यस्त छ । यसबाट सिँहदरबारमा बसेर १० देखि ४ बजेसम्म काम गर्नेलाई अतिरिक्त भत्ता दिने, तर चौबिसै घण्टा ज्यान जोखिममा राखेर फिल्डमा काम गर्नेलाई बेवास्ता गर्नेहरुको चेत खुलोस्, दशैँको सबैमा शुभकामना ।’

यी हरफले वास्तवमा निकुञ्जमा खटिने कर्मचारीहरु मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्न नदिन लागिपरेका तर अतिरिक्त सुविधाबाट वञ्चित छन् भन्ने झल्काउँछन् ।

‘मानिस र वन्यजन्तुबीचको द्वन्द्व कम गर्न हामीले निकै प्रयास गरिरहेका छौँ, तर कहिलेकाहीँ यस्ता घटना भइरहेका छन्’, बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले भन्नुभयो, ‘मानिस र वन्यजन्तुलाई आ-आफ्नै क्षेत्रमा मात्रै सीमित राख्न सकेमा यो समस्या कम हुन सक्छ । तर, निकुन्जभित्र मध्यवर्ती क्षेत्रमा मानव बस्ती धेरै छ, जंगल नजिकका गाउँमा पनि त्यस्तो खतरा रहन्छ ।’

उहाँका अनुसार जंगली जनावर आवतजावत गर्ने क्षेत्रमा यो द्वन्द्वको खतरा अझै बढ्न सक्छ । गएकाे भदाै दोस्रो साता बर्दिया निकुञ्जबाट बाटो बिराएर बाहिर निस्किएर गाउँ पसेको गैँडाको आक्रमणबाट बारबर्दिया नगरपालिकाको कुसुम्बाघाट झोलुङे पुल नजिक तीन जना घाइते भएका थिए ।

एक उत्तर छोड्न