यसरी पत्ता लाग्याे नेपालमा बर्डफ्लु

0
54

बर्डफ्लु अर्थात् इन्फ्लुन्जा ‘ए’अन्तर्गत एच–५ एन–१ को संक्रमणबाट २१ वर्षीय एक व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बिहीबार सरोकारवाला निकायको उपस्थितिमा घटनाबारे सार्वजनिक गर्दै मन्त्रालयले गत चैत ११ गते अस्पताल पुगेका युवकको उपचारका क्रममा चार दिनपछि १५ गते मृत्यु भएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनको घाँटीको -याल परीक्षण गर्ने क्रममा बर्डफ्लु प्रमाणित भएको थियो। बर्डफ्लु परीक्षण गर्नुअघि नै एच–५ ए–१ को लक्षण पाइएपछि औषधि चलाइएको थियो।

परीक्षणबाट बर्डफ्लु प्रमाणित भएपछि विशेष परीक्षणका लागि जापानको विश्व स्वास्थ्य संगठन इन्फ्लुएन्जा समन्वय प्रयोगशालामा पठाइएको थियो। जापानबाट मंगलबार युवकमा इन्फ्लुएन्जा एच–५ ए–१ समूहको रहेको प्रमाणित भएको रिपोर्ट प्राप्त भएको थियो। बुधबार सार्वजनिक बिदा भए पनि सरोकारवालाबीच मन्त्रालयमा विशेष बैठक बसेको मन्त्रालयले जनाएको छ। युवकको नाम, थर र घर विश्व स्वास्थ्य संगठनको नियमअनुसार गोप्य राखिएको मन्त्रालयले जनाएको छ। केही सरोकारवालाले भने राजधानीनजिकै जिल्लाको रहेको आशंका गरेका छन्। मन्त्रालयका अनुसार मृतक कुखुरा व्यवसायी होइनन्। ढिला गरी उपचारमा पुगेका कारण उपचार गर्दागर्दै उनको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण विभागको दाबी छ। ‘युवक सिकिस्त भएपछि मात्र अस्पताल आइपुगेका कारण उपचारबाट निको हुन नसकेको रहेछ,’ स्वास्थ्य तथा जनसंख्या सचिव पुष्पा चौधरीले भनिन्। निमोनियाको उपचारका लागि भनेर उनलाई अस्पताल पु-याइएको थियो।

मन्त्रालयका अनुसार नेपालमा गत माघदेखि देशका विभिन्न भागमा बर्डफ्लु फैलिएको थियो। पन्छीहरूमा बर्डफ्लु फैलिएको तीन महिनाभित्र मानिसमा संक्रमण भएको भने पहिलो पटक प्रमाणित भएको हो। पन्छीबाट मानिसमा बर्डफ्लु संक्रमण हुनु भने गम्भीर विषय मानिन्छ। ‘यो पशुपन्छीबाट मानिसमा सरेपछि प्रकोपको खतरा हुन्छ,’ महाशाखाका प्रमुख डा. विवेककुमार लालले भने। नेपालमा चरा तथा कुखुरामा बर्डफ्लु संक्रमण भेटिएलगत्तै रोगको स्थिति खोज तथा निगरानी कार्यक्रमलाई सरोकारवाला निकायहरुले गम्भीरताका साथ काम अघि बढाएको दाबी गएिको छ। ‘यो अवधिमा हामीले एक लाखभन्दा बढी कुखुरा नष्ट गरिसकेका छौं,’ कृषि तथा पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्माले भने।

पन्छीबाट मानिसमा संक्रमण भएको घटनालगत्तै रोगको उत्पत्तिबारे विशेष खोजी सुरु गरिएको मन्त्रालयले जनाएको छ। घटनालगत्तै शंकापस्द बिरामीको ¥याल परीक्षण गर्ने र कुखुरामा बर्डफ्लु संक्रमण भएको क्षेत्रमा विशेष खोजी थालेको दाबी गरिएको छ। ‘यो अवधिमा दुई हजार दुई सय ५० जनाको नमुना परीक्षण गरिसकेका छौं,’ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवले भने। घटनालगत्तै मृतकका आफन्त तथा आसपासका क्षेत्रको इतिहास तथा स्थिति अध्ययन गरिसकेको मन्त्रालयले दाबी गरेको छ। त्यसैगरी सीमावर्ती क्षेत्रबाट भित्रिन सक्ने बर्डफ्लु संक्रमण भएका कुखुरा नियन्त्रण गर्न सीमाक्षेत्रमा कडा निगरानी भइरहेको मन्त्रालयले जनाएको छ।

त्यसैगरी एक सातायता परीक्षण गरिएका कुखुरामा बर्डफ्लु नपाइएको महानिर्देशक शर्माले स्पष्ट पारे। विश्व स्वास्थ्य संगठनका डा. जोस भेलेयन्डरले नेपालमा पहिलोपटक मानिसमा संक्रमण भएको संक्रमण अति दुर्लभ भएकाले सबैका लागि चासोको विषय बनेको उल्लेख गरे। ‘नेपालमा यो पहिलोपटक बर्डफ्लुबाट व्यत्ति मृत्ुको घटना भएको छ,’ उनले भने। डा. भेलेयन्डरले नेपालमा भएको बर्डफ्लु संक्रमणको अवस्थाको थप स्थिति खोज्न या नियन्त्रण गर्न सहयोगी भूमिका खेल्ने बताए। राम्रोसित पकाएर खानाले बर्डफ्लु संक्रमण नहुने उनको भनाइ थियो।

नेपालमा पन्छीबाट मानिसमा बर्डफ्लु संक्रमण प्रमाणित भएको पहिलो घटना भएकाले यसलाई सम्बन्धित निकाय, पशुपन्छी व्यवसायी तथा ओसारपसारकर्तालगायत सबै सचेत हुन मन्त्रालयले आग्रह गरेको छ। कुखुराको मासु प्रयोगकर्ता तथा पकाउने मानिसहरूले विशेष गरी सफाइमा ध्यान दिए बच्न सकिने मन्त्रालयले सुझाएको छ। मन्त्रालयका अनुसार कुखुरा फार्ममा काम गर्नेहरू, यसको ओसारपसार गर्ने र काँचो मासु काट्नेहरूले मुखमा मास्क र हातमा पन्जा लगाउने, काम सकिएपछि राम्ररी हात धुने गरे यो भाइरसको संक्रमण हुँदैन। त्यसैगरी कुखुराको अन्डा र मासु ७० डिग्रीको तापक्रममा पकाएर खाने गरे यो रोग सर्दैन।

त्यसैगरी कुखुरा व्यवसायीले कुखुरामा कुनै रोगको लक्षण देखिए पशु चिकित्सक या पशुसेवा विभागमा परीक्षणका लागि लगे थप संक्रमणबाट बच्न सकिने सुझाएका छन्। नेपालमा पशुपन्छीबाट मानिसमा पहिलोपटक सरेको पहिलो घटना भए पनि भविष्यमा के हुने भन्ने विषयमा थाहा नभएकाले पहिल्यै सचेत हुन आवश्यक भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुरको सुझाव छ। ‘बर्डफ्लु समय–समयमा देखिइरहने भएकाले कुखुरापालक, मासु व्यवसायीलाई यो रोगबाट बच्ने तालिम दिनु आवश्यक छ,’ उनले भने।

तथ्यांकअनुसार नेपालमा सन् २००९ देखि पशुपन्छीमा बर्डफ्लु संक्रमण देखिन थालेको हो। गत वर्ष बर्डफ्लु संक्रमण भए पनि मानिसमा त्यसको परेको थिएन। विश्वका विभिन्न देशमा गरी हालसम्म आठ सय ६० जनामा यो रोगको संक्रमण भएको थियो। नेपालमा २०६४ देखि बर्डफ्लु देखिन सुरु भएको हो। मानिसमा यो भाइरसको संक्रमण हुँदा हालसम्म विश्वभर चार सय ५४ जनाको ज्यान गइसकेको तथ्यांक छ। यो वर्ष काठमाडौंको तार्केश्वरमा बर्डफ्लु सुरु भएर हेटौंडा पुगेको थियो। कतिपय पूर्वी जिल्लाहरूमा पनि छिटपुट रूपमा बर्डफ्लु देखिएको थियो। छिमेकी देश बंगलादेश, पाकिस्तान र भियतनाममा यसअघि नै बर्डफ्लुका कारण व्यक्तिको मृत्यु भइसकेको छ।

बर्डफ्लु कसरी सर्छ ?
एच–५ एन–१ एक प्रकारको इन्फ्लुएन्जा भाइरस हो। यसले चराचुरुंगीमा संक्रमण भए श्वास–प्रश्वासमा समस्या गराउँछ। यो भाइरस मानिसमा भने कहिलेकाहीं मात्र संक्रमण गर्छ। तर यो मानिसबाट मानिसमा संक्रमण भए ६० प्रतिशतको मृत्यु हुने सम्भावना हुन्छ। संक्रमित वा मृतक पन्छीबाट एच–५ एन–१ भाइरसको सम्पर्कमा पुगे मुख या नाक हुँदै श्वासप्रश्वास नलीमा पुगेर यसले संक्रमण गर्छ। यो मानिसमा सरे शारीरिक अंगहरू निष्क्रिय भई मृत्युको मुखसम्म पु¥याउने गर्छ।

उपचार
यो रोगको असर गम्भीर देखिने हुनाले सुविधायुक्त अस्पतालमा आकस्मिक तथा सघन उपचार गरिन्छ। यसका लागि एन्टिभाइरल औषधि र लक्षणअनुसारको उपचार आवश्यक छ।

लक्षणहरू
– उच्च ज्वरो आउनु
– खोकी लाग्नु
– घाँटी दुख्नु
– मांसपेशी दुख्नु
– सुरुमा पेट, छाती दुख्नु वा पखाला लाग्नु

बढी जोखिममा को–को ?
– कुखुरापालक
– कुखुरा ओसारपोसार गर्ने
– बजारमा कुखुरा बिक्री गर्ने
– कुखुरा बजारमा घरीघरी पुग्ने मानिस
– कुखुरा काट्ने मानिस

कसरी बच्ने ?
– नियमित रूपमा साबुनपानीले हात धुने
– वरपरको वातावरण सफा राख्ने
– मरेका कुखुराबाट टाढा रहने
– बर्डफ्लुको लक्षण देखिए तुरुन्त उपचारमा जाने
– कुखुराको काँचो मासु काट्ने या पकाउने मानिसले नांगो हातले नाकमुख नछुने
– काँचो मासु तथा कुखुरा चलाउँदा हातमा पन्जा, मुखमा मास्क र शरीरमा एप्रोन लगाउने
– कुखुराको मासु राम्ररी पकाएर खाने
– घरनजिक जंगली या घरेलु पन्छी मरेको देखे पशुस्वास्थ्य कार्यालयलाई जानकारी गराउने
– मृतक पन्छीको सुली सुरक्षित रूपमा गाड्ने या टाढा रहने
– कुखुराको मासु काटिसकेपछि राम्रोसित साबुनपानीले हात धुने

एक उत्तर छोड्न