यी हुन् काठमाडौँको मेयरका लागि चर्चामा रहेका नाम, यसरी छान्दैछन् दलहरुले उम्मेदवार

0
880

काठमाडौँ : वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा जनसंख्याको हिसाबले सबैभन्दा ठूलो र राजधानीसमेत रहेको काठमाडौँको मेयर पदका लागि राजनीतिक दलहरुभित्र आन्तरिक प्रतिष्पर्धा तीव्र भैसकेको छ।

नौ लाख ७५ हजार जनसंख्याको नेतृत्व गर्नु चानचुने विषय होइन। प्रमुख दलहरुले पनि काठमाडौँको मेयर पदको महत्व र गरिमा बुझेका छन्। त्यसैले प्रत्यक्ष निर्वाचित हुन सक्ने ‘लोकप्रिय’ र नेतृत्व गर्न सक्षम व्यक्तिको खोजी दलहरु भित्र छ।

राजनीतिको केन्द्रमा पुगेका नेताहरुसमेत राजधानीको मेयर बन्न आकांक्षी देखिएका छन्। स्वास्थ्य मन्त्री गगन थापा, उद्योग मन्त्री नविन्द्रराज जोशीदेखि एमालेका सचिव योगेश भट्टराईसम्मका हेभिवेट नेताहरुको नाम चर्चामा छ।

कुन दलमा को चर्चामा?

नेपाली कांग्रेसबाट स्वास्थ्य मन्त्री तथा काठमाडौँ क्षेत्र नं ४ का सांसद गगन थापाको नाम चर्चामा छ। थापाको  नाममा बहस चलिरहे पनि उनी आफू भने आकांक्षी नरहेको बताउँछन्। नयाँ पत्रिकासँगको कुराकानीमा थापाले आफू उम्मेद्वार नहुने बताएका छन्।

त्यस्तै कांग्रेसमा नविन्द्रराज जोशीको नाममा पनि बहस भइरहेको छ। उद्योग मन्त्री रहेका र काठमाडौँ क्षेत्र नं ६ बाट जोशी सांसद छन्। २०४९ सालको स्थानीय निर्वाचनमा पिएल सिंहका उपमेयर निर्वाचित जोशीले पहिलोपोस्टसँगको कुराकानीमा आफू उम्मेद्वार नबन्ने बताए। नेवार समुदायबीच राम्रो पकड भएकाले पनि कांग्रेसमा जोशीको नाम चर्चामा छ। जोशीका दाजु राजुराज जोशीको नाम पनि मेयर पदमा चर्चामा छ।

त्यस्तै कांग्रेसबाट राम डंगोल पनि मेयर पदका आकांक्षी छन्। २०४६ सालको परिवर्तन अगाडि भएको स्थानीय निर्वाचनमा काठमाडौँका उपमेयर भइसकेका उनी त्यतिबेला कांग्रेस राजनीतिमा होमिदाँ जेल परेका थिए। उनी काठमाडौँ कांग्रेसका पूर्व सभापति पनि हुन्।

काठमाडौँमा कांग्रेसमा उम्मेदवारी चयनमा पूर्व महामन्त्री प्रकाशमान सिंहको भूमिका धेरै देखिन्छ। कांग्रेसले टिकट दिन बनाएको मापदण्डमा पनि सांसदको भूमिका तोकिएकाले सिंह शक्तिशाली हुने निश्चित छ।

एमालेबाट पार्टी सचिव योगेश भट्टराईको नाम चर्चामा छ। भट्टराईले पनि आफ्नो नामको चर्चालाई स्वीकारेका छन्। तर उनले आफ्नो उम्मेद्वारीबारे सार्वजनिक टिप्पणी गरेका छैनन्। भट्टराईले पहिलोपोस्टसँग भने ‘साथीहरुले चर्चा गरेका छन्। तर यो केन्द्रले टुङ्ग्याउने विषय हो। म अहिले केही टिप्पणी गर्दिनँ।’ त्यसो त भट्टराईले यसअघि उपत्यका इन्चार्जको रुपमा एमालेमा सक्रियता देखाइसकेका छन्।

एमालेमा कृष्णगोपाल श्रेष्ठ र जीवनराम श्रेष्ठको नाम पनि मेयरका लागि चर्चामा छ। कृष्णगोपाल श्रेष्ठ एमालेका कार्यालय सचिव छन्। जीवनराम भने काठमाडौँबाटै पहिला वडा अध्यक्ष निर्वाचित व्यक्ति हुन्। उनी ओलिम्पिक कमिटीमार्फत् खेलकुद राजनीतिमा सक्रिय छन्।

एमाले उपत्यका इन्चार्ज सानु श्रेष्ठको नाम पनि चर्चामा छ। त्यस्तै एमालेमा पहिला महानगरपालिकामा राजनीतिक संयन्त्रमा कामका लागि खटिएका वसन्त मानन्धरको नाम पनि चर्चामा छ। उनी काठमाडौँ जिल्ला कमिटीका सह संयोजक हुन्। त्यस्तै विद्यासुन्दर शाक्यको नाम पनि एमालेमा मेयरका रुपमा लिइएको छ। शाक्यले आफ्नो मेयरमा दाबेदारी रहेको नेपालभाषाको न्युजसाइटलाई बताएका छन्। वडाध्यक्ष निर्वाचित भइसकेका उनी एमाले काठमाडौँ जिल्ला कमिटीका सचिवसमेत हुन्।

नेकपा माओवादी केन्द्रले पनि काठमाडौँको मेयर पदका लागि वडाहरुबाट नामावली संकलन गरिरहेको छ। हाल अर्थमन्त्रीको स्वकीय सचिव रहेका हिमाल शर्माको नाममा माओवादीमा चर्चा छ। त्यस्तै दोस्रो संविधानसभा निर्वाचनमा माओवादीबाट क्षेत्र नं १ मा टिकट पाएकी प्रधानमन्त्री प्रचण्डपुत्री रेणु दाहाल पनि मेयरको उम्मेद्वार बन्ने चर्चा माओवादी केन्द्रमा छ। माओवादीबाट अर्का भलाद्मी र समाजसेवी छवि बनाएका उमेश स्थापितको नाम पनि चर्चामा छ। बागबजारका श्रेष्ठलाई उम्मेदवार बनाउन फेसबुकहरुमा माओवादी कार्यकर्ताले माग गरेका छन्।

यस्ता छन् दलहरुको मापदण्ड

नेपाली कांग्रेसले काठमाडौँमा मेयर छान्न क्षेत्रीय सभापतिको सिफारिसमा जिल्ला कार्यसमितिलाई समन्वयको जिम्मा दिएको छ। क्षेत्रको सिफारिसमा पार्टीको केन्द्रीय सदस्य, जिल्ला सभापतिको पदको निर्वाचनमा निकटतम प्रतिस्पर्धी, सम्बन्धित क्षेत्रका क्षेत्रीय सभापतिहरु, सांसद, दोस्रो संविधानसभाका प्रत्यक्ष तर्फका उम्मेदवार समेतको उपस्थितिमा भएको जिल्ला कार्यसमितिको बैठकले निर्णय गर्ने उल्लेख छ।

सर्वसम्मत निर्णय हुन नसकेको खण्डमा जिल्ला कार्यसमितिका पदाधिकारीहरु, पार्टीका केन्द्रीय सदस्य, जिल्ला सभापतिको पदमा निर्वाचन भएको भए निकटतम प्रतिष्पर्धी, सम्बन्धित क्षेत्रका सांसद, सम्बन्धित क्षेत्रका दोस्रो संविधानसभाका प्रत्यक्ष तर्फका सांसद उम्मेदवार रहेको छनोट समितिले सहमति जुटाई उम्मेदवारको चयन गर्ने भनिएको छ।

नेकपा एमालेले भने महानगरपालिकाको उमेद्वारको टुङ्गो केन्द्रले लगाउने जनाएको छ। चार महानगरपालिका र १३ उपहामहानगरपालिकाको मेयरको टुङ्गो एमालेको शीर्ष नेतृत्व पंक्तिबाटै लगाइँदैछ।

गाउँपालिकाको भने जिल्ला कार्यसमिति र नगरपालिकाको सम्बन्धित प्रदेश कमिटीबाट टुङ्गो लगाउने एमालेले तयार गरेको मापदण्डमा उल्लेख छ। एमालेले मापदण्ड तयार गर्दा ‘लोकप्रिय हुनुपर्ने र जनतासँग घुलमिल’ हुने क्षमताको हुनुपर्ने जनाएको छ।

नेकपा माओवादी केन्द्रले पनि उम्मेद्वार लोकप्रिय हुनुपर्ने र स्थानीय तह अब सत्ताको रुपमा रहने भएकाले सत्ता हाँक्ने क्षमताको हुनुपर्ने मापदण्ड बनाएको छ।

माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणी पोखरेलले महानगरपालिकामा मेयरको उम्मेद्वार प्रदेशको सिफारिसमा केन्द्रले लगाउने बताए। गाउँपालिकाको टुङ्गो जिल्ला कार्यसमितिले र नगरपालिका तथा उपमहानगरपालिकाको टुङ्गो प्रदेशबाट हुने पोखरेलले पहिलोपोस्टलाई बताए।

संसदको चौथो ठूलो दल राप्रपा भने उम्मेद्वार चयनमा खुल्ला छ। ‘बाहिरबाट पनि कोही राम्रो मान्छे उठ्छु भन्छ भने हाम्रो समर्थन रहन्छ’, प्रवक्ता सुशीलकुमार श्रेष्ठले भने। उनले जिल्ला कमिटीहरुलाई सम्भावित उम्मेद्वारहरुको नामावली पठाउन भनिएको बताए।
उनले काठमाडौँको उम्मेद्वार बनाउने क्रममा बसोबास रहेको क्षेत्रको जातीय जनसंख्याको प्रतिनिधित्वको विषयलाई समेत हेरिने उल्लेख गरे।

प्रतिष्पर्धी र उपमेयर निर्णायक

दलहरुले उम्मेद्वारको विषयमा आन्तरिक तयारी गरेपनि प्रतिष्पर्धी दलले कसलाई अगाडि सार्छ भन्ने अन्यौलले अगाडि बढ्न रोकिएका छन्। मुख्यतया काठमाडौँ महानगरपालिकामा प्रमुख तीन दलबीच नै प्रतिष्पर्धा हुने देखिन्छ। उनीहरु एक अर्काको उम्मेद्वार कस्तो हुने भन्ने आधारमा मात्र निर्णय लिन तयार देखिन्छन्।

त्यस्तै मेयर वा उपमेयर एक महिला हुनुपर्ने प्रावधान स्थानीय तह निर्वाचन ऐनले गरेका कारण दलहरु उपमेयर खोज्नसमेत सक्रिय छन्। पुरुष मेयरको उमेम्द्वार बनाउँदा महिलालाई उपमेयर दिनुपर्ने र यस्तोमा राजधानीको नेवार जनसंख्यालाई उचित प्रतिनिधित्व दिनुपर्ने दबादमा दलहरु छन्। कांग्रेसमा उपमेयरमा प्राध्यापक अमुदा श्रेष्ठको नाम चर्चामा छ। उनी यसअघि शंकरदेव क्याम्पसमा प्रमुख समेत थिइन्।
एमालेमा रञ्जना मास्के र शान्ति अधिकारीको नाम उपमेयरमा चर्चामा छ।

एक उत्तर छोड्न