वसन्तपुरमै पार्किङ! संसारको कुन विश्व सम्पदा क्षेत्रमा होला यस्तो छुट?

0
57

के तपाईं साँझमा न्यूरोड जाँदै हुनुहुन्छ? वा, वसन्तपुर? वा, झोछेँ?

जाँदै हुनुहुन्छ भने विशालबजारछेउ पैसा तिरेर पार्किङ गर्ने भूल नगर्नुहोला।

बरू शानसँग मोटरसाइकल हाँकेर हनुमानढोका दरबार क्षेत्र छिर्नुस् र वसन्तपुर डबलीको छेउमै लगेर पार्किङ गर्नुस्। न कसैले रोक्छ, न पैसा तिर्नुपर्छ।

दरबार क्षेत्रमै बकाइदा निःशुल्क पार्किङ सेवा हुँदाहुदै विशालबजारमा घन्टाको २५ रुपैयाँ तिर्ने मूर्खता किन गर्नु?

तपाईंलाई सुनेर अचम्म लाग्यो होला, तर यो साँचो हो।

अचेल साँझपख जुद्ध शालिकदेखि वसन्तपुर डबलीको छेउसम्म मोटरसाइकल लश्कर लाग्छन्। तपाईं आनन्दले बाइक रोक्नुस्, मस्त घुमफिर गर्नुस्, अनि विश्व सम्पदा क्षेत्रमै पार्किङ गर्ने दुर्लभ अवसर पाएकोमा छाती फुलाउँदै घर जानुस्।

यस्तो छुट काठमाडौंबाहेक संसारको अर्को कुन विश्व सम्पदा क्षेत्रमा पाइएला र!

सम्पदा र संस्कृतिमा काठमाडौं जति धनी छ, त्यसको कदर गर्न र त्यसलाई माया गर्न हामीले कहिल्यै जानेनौं। सम्पदाप्रतिको यही कमजोर चेतले नै हो, हाम्रा प्राचीन मन्दिर, ढुंगेधारा, गल्ली र डबलीहरू एकपछि अर्को मासिए। अधिकांश प्राचीन डबलीहरू पार्किङ स्थलमा परिणत भएका छन्। कहीँ स्थानीयबाटै अनधिकृत संरचना बनाएर मिचिएका छन्।

हनुमानढोका दरबार क्षेत्रको पार्किङ त्यसैको पछिल्लो रूप हो। यसलाई तत्काल नरोक्ने हो भने सम्पदा विनाशको योभन्दा विभत्स रूप अर्को हुने छैन।

२०७२ को भुइँचालोपछि वसन्तपुर क्षेत्रमा सवारी आवागमन निषेध गरिएको थियो। हनुमानढोका दरबारको गद्दी बैठक पुनर्निर्माण सकिएपछि भने साँझको मौका छोपेर दुईपाङ्ग्रे सवारी फाट्टफुट्ट ओहोरदोहोर गर्न थाले। ट्राफिकले मन लागे रोक्थ्यो, मन नलागे जान दिन्थ्यो।

हुँदाहुँदा केही महिनादेखि यो पूर्ण रूपमा चालू भएको छ। साँझ परेपछि दुईपाङ्ग्रे मात्र होइन, चारपाङ्ग्रे पनि निर्वाध न्यूरोडबाट वसन्तपुर छिचोलेर काष्ठमण्डप निस्कन्छन्। एक महिनादेखि त वसन्तपुर डबलीकै आसपास पार्किङ सुरू भएको स्थानीय बताउँछन्।

‘पार्किङ खुला भएको दसैंदेखि नै हो,’ झोछेँका एक स्थानीयले भने, ‘त्यति बेला चाडपर्वको भिडभाड भएर पार्किङ गर्न दिएको होला भन्ठान्यौं, तर अहिलेसम्म जस्ताको तस्तै छ।’

यसबीच केही व्यक्तिले पार्किङ नगरौं भनी सम्झाउन खोज्दा झगडा हुने अवस्था आएपछि चुप लागेको उनले बताए। भने, ‘महानगर, प्रहरीजस्ता सम्बन्धित निकायले नै वास्ता नगरेपछि हामीले मात्र भनेर के हुन्छ, उल्टै झैझगडा होला भन्ने डर!’

वसन्तपुर डबलीमा सुरू भएको पार्किङसँग दुइटा रोचक संयोग जोडिएको छ।

पहिलो, पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षण गर्न स्थापित राष्ट्रसंघीय नियोग ‘युनेस्को’ को एक उच्चस्तरीय प्रतिनिधिमण्डल दुई साताअघि मात्र काठमाडौं आएको थियो। उनीहरूले काठमाडौं बसाइमा यहाँका छवटै विश्व सम्पदा स्थलहरू निरीक्षण गरे। हनुमानढोका दरबार क्षेत्र त्यसमध्ये एक हो।

युनेस्कोले भुइँचालोपछिको पुनर्निर्माणमा भएका त्रुटि र कमजोर व्यवस्थापनको कारण देखाउँदै २०७२ सालदेखि नै काठमाडौंका विश्व सम्पदा स्थलहरूलाई ‘खतरा’ सूचीमा राख्ने चेतावनी दिँदै आएको छ।

सन् २०१९ मा अजरबैजानको बाकुमा भएको युनेस्को बैठकले त झन्डै ‘खतरा’ सूचीमा राखिसकेको थियो। चीनलगायत केही मुलुकले नेपालको पक्षमा बोलेपछि बल्लतल्ल जोगियो।

त्यस बेला नेपालले सम्पदाको मौलिक स्वरुप जोगाउनुका साथै सम्पदा स्थल वरिपरिको क्षेत्र व्यवस्थापन गर्ने बाचा गरेको थियो।

यसपालि त्यसैको अनुगमनमा आएको युनेस्को टोलीले आफ्नो अन्तिम प्रतिवेदन दिन बाँकी छ। तर, ती प्रतिनिधिहरूले केही सम्पदा स्थलको पुनर्निर्माण र केही सम्पदा स्थल वरिपरिका क्षेत्रको अव्यवस्थापनमा चासो व्यक्त गरेका छन्।

खासगरी हनुमानढोका दरबार क्षेत्रको ट्राफिक आवागमन र यहाँका परम्परागत घरहरू मासिँदै जानुलाई युनेस्कोले गम्भीर रूपमा लिएको छ।

यस्तो बेला ट्राफिक आवागमन निषेध गर्नुको साटो उल्टो दरबार क्षेत्रभित्रै पार्किङ खुला गर्नुले सरोकारवाला निकायको लापरबाही झल्काउँछ। यसले हनुमानढोका दरबार क्षेत्र विश्व सम्पदाको ‘खतरा’ सूचीमा पर्ने वा सूचीबाटै बाहिरिने जोखिम अझ बढ्छ।

दोस्रो, यो पार्किङ त्यति बेला सुरू भएको छ, जब महानगरपालिकाले भित्री बजारमा सवारी आवागमन निषेध गरेर काठमाडौंको प्राचीन स्वरूप ब्युँताउने योजना अघि सारेको छ।

उक्त योजनाअनुसार न्यूरोड गेटबाटै सवारी भित्र पस्न दिइने छैन। न्यूरोडमा सडक र पेटी सराबरी हुने गरी परम्परागत इँटा वा ढुंगा बिछ्याएर पैदलमार्गमा परिणत गरिनेछ।

न्यूरोड क्षेत्रबाट सुरू गरेर यो योजनालाई वसन्तपुर, काष्ठमण्डप, इन्द्रचोक, असन, नरदेवी, किलागल हुँदै छत्रपाटी, ठमेल र थँहितिसम्म विस्तार गरिनेछ। यी सबै क्षेत्रलाई चरणबद्ध रूपले सवारीमुक्त गर्दै केही वर्षभित्र पूरै मध्य–काठमाडौंमा सवारी निषेध गर्ने योजना छ।

यति मात्र होइन, प्रत्येक ठाउँमा परम्परागत इँटा वा ढुंगा बिछ्याएर पैदलमार्ग बनाइनेछ। स्थानीयलाई कम्तिमा आ–आफ्नो घरको बाहिरी मोहडा परम्परागत शैलीमा पुनर्निर्माण गर्न प्रेरित गरिनेछ।

काठमाडौंको सम्पदा र संस्कृति संरक्षण गर्न महानगर यति बृहत् योजनाको तयारीमा लागेका बेला हनुमानढोका दरबार क्षेत्रमै मोटरसाइकल पार्किङ हुनु ‘पहिलो गाँसमा ढुंगा’ परेजस्तो हो।

विश्व सम्पदामा सूचीकृत वसन्तपुरको सानो क्षेत्रफलमा सवारी आवागमन हुँदा र पार्किङ चल्दा त महानगर टुलुटुलु हेरेर बस्छ भने, सिंगो सहरलाई सवारीमुक्त गर्ने परिकल्पना कसरी साकार होला!

एक उत्तर छोड्न